७ महिनामा ११ खर्ब २३ अर्ब आयात हुँदा १ खर्ब ६८ अर्ब मात्रै निर्यात
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा कुल ११ खर्ब २३ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा १३.६५ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको माघसम्म वस्तु आयात ९ खर्ब ८८ अर्ब ५९ करोड रुपैयाँ पुगेको हो । आयातसँगै निर्यातमा पनि उल्लेख्य वृद्धि देखिएको छ ।
चालु आर्थिक वर्षको ७ महिनामै निर्यात डेढ खर्ब रुपैयाँ नाघेको छ । माघसम्म वस्तु निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ पुगेको हो । जुन अघिल्लो आव सोही अवधिको तुलनामा ३२.१९ प्रतिशत सुधार हो । गत आबको माघसम्म १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ थियो ।
कुल वैदेशिक व्यापार आकार १५.७६ प्रतिशतले बढे पनि व्यापार घाटा वृद्धिमा भने केही संकुचन आएको छ । यसो हुनुमा निर्यात वृद्धिदर राम्रो हुनु हो । सात महिनामा व्यापार घाटा ९ खर्ब ५५ अर्ब बराबर रहेको छ । जुन अघिल्लो आव सोही अवधिको तुलनामा १०.९१ प्रतिशत धेरै हो ।
गत आव माघसम्म ८ खर्ब ६१ अर्बको व्यापार घाटा थियो । अहिले कुल व्यापारमा आयात हिस्सा ८६.९८ प्रतिशत र निर्यात हिस्सा १३.०२ प्रतिशत छ । गत आवको तुलनामा निर्यात हिस्सा १४.१९ प्रतिशत सुधार भएको हो ।
कुल निर्यातभन्दा माथि पुग्यो पेट्रोलियम पदार्थ आयात
सात महिनामा नेपालले गरेको कुल वस्तु निर्यातभन्दा यसै अवधिमा आयात गरेको पेट्रोलियम पदार्थ हिस्सा ठूलो हुन पुगेको तथ्यांकले देखाएको छ ।
सात महिनामा नेपालले १ खर्ब ८० अर्ब ७४ करोड रुपैयाँ बराबर पेट्रोलियम पदार्थ आयात गरेको छ । यो अवधिमा कुल वस्तु निर्यात १ खर्ब ६८ अर्बमात्र छ ।
बढी आयात हुने वस्तुको एकमुष्ट सूचीमा दोस्रो स्थानमा तेलघिउ छ । यस्तो वस्तु आयात सात महिनामा ९३ अर्ब ७५ करोड बराबर छ । आइरन र स्टिल आयात ७७ अर्ब ८५ करोड बराबर छ । यस्ता वस्तु आयात हुँदा नेपालमा विकास निर्माण कामले गति लिएको संकेत गर्छ ।
त्यसैगरी विद्युतीय उपकरण र त्यसका पार्टपुर्जा आयात ७७ अर्ब ६९ करोड बराबर भएको छ । मेसिनरी र मेकानिकल उकपरण आयात ७७ अर्ब ५३ करोड २५ लाख बराबर भएको भन्सार विभागले जनाएको छ ।
सवारीसाधन आयातमा ६४ अर्ब ८४ करोड विदेशिएको छ । गरगहना र बहुमूल्य धातु आयातमा ४७ अर्ब ७९ करोड विदेशिएको देखिन्छ । मल आयातमा ४२ अर्ब ६३ करोड खर्च भएको छ । तरकारी आयातमा मात्र २२ अर्ब २५ करोड विदेशिएको तथ्यांक छ ।
निर्यातमा समेत वनस्पति तेल वा जनावरको बोसोसहित वस्तुको हिस्सा सबैभन्दा धेरै छ । यस्ता वस्तु निर्यात ७८ अर्ब १९ करोड बराबर छ । कफी, चिया तथा मरमसला निर्यात १२ अर्ब २६ करोड बराबर छ ।
यस्तै रेशा/धागो निर्यात ७ अर्ब ६४ करोड बराबर भएको छ । कार्पेट र भुइँमा बिच्छ्याउने अन्य सामान निर्यात ६ अर्ब ६४ करोड बराबर भएको विभागको तथ्यांक छ । तयारी पोसाक निर्यात ५ अर्ब १५ करोड बराबर भएको छ ।
क्याटेगोरी :
अर्थ


















प्रतिक्रिया