Techie IT
Samayabaddha
शनिबार, २० वैशाख, २०८२

विदेशी शिक्षण संस्थालाई अनुमति दिने समितिमा शिक्षामन्त्री रहन नहुने सुझाव


विदेशी शिक्षण संस्थालाई नेपालमा अनुमति दिने सिफारिस समितिको अध्यक्ष शिक्षामन्त्री रहने व्यवस्था खारेज गर्न सुझाव दिइएको छ ।

नेपालमा सञ्चालित विदेशी शिक्षण संस्था अध्ययन गर्न गठित समितिले विश्वविद्यालयको प्राध्यापकको संयोजकत्वमा सम्बन्धित विषय विज्ञसमेत रहने छुट्टै सिफारिस समिति गठन गर्न सुझाव दिएको हो ।

पूर्वसचिव शंकर कोइरालाको संयोजकत्वमा गठित समितिले मन्त्रीको अध्यक्षतामा सिफारिस तथा अनुगमन समिति रहने र सोही समितिले सिफारिस गरेकोलाई मन्त्रालयले निर्णय गर्ने व्यवस्था तटस्थ र निष्पक्ष नभएको बताएको छ ।

समितिले भनेको छ ‘वर्तमान निर्देशिकामा व्यवस्था गरिएको मन्त्रीको अध्यक्षतामा गठन गरिएको सिफारिस समितिलाई खारेज गर्ने र सोको सट्टा विश्वविद्यालयको प्राध्यापकको संयोजकत्वमा सम्बन्धित विषय विज्ञसमेत रहने गरी छुट्टै सिफारिस समिति गठन गर्ने र सो समितिको सिफारिसको आधारमा शिक्षा मन्त्रालयले अनुमति दिने व्यवस्था गर्ने ।’

समितिले विश्वविद्यालयको प्राध्यापक संयोजक, विषय विज्ञ सदस्य र मन्त्रालयको उच्च शिक्षा महाशाखाको सहसचिव सदस्य सचिव रहने गरी सिफारिस समिति गठन गर्न सुझाव दिएको छ ।

संयोजकको पदावधि दुई वर्षको र विषय विज्ञको आवश्यकताअनुसार सिफारिस अवधिभर हुनुपर्ने सुझाव दिएको छ । साथै संयोजकको योग्यता विद्यावारिधि उपाधि हासिल गरी विश्वविद्यालयको प्राध्यापक भई कम्तीमा ३ वर्ष अध्यापनको अनुभव भएको हुनुपर्ने छ ।

विषय विज्ञको योग्यता सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी १० वर्ष अध्यापन गरेको अनुभव भएको हुनुपर्ने सुझाव दिइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट