Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

सद्भावको चाडमा बढ्यो विकृति


परापूर्वकालदेखि नै मनाइँदै आएको दीपावली अर्थात् तिहारको आफ्नै विशेषता रहेको छ । फूलहरूको पर्व, दीपावली वा सप्तरङ्गी टीकाको पर्व आदि अनेक उपमा जोडिए पनि तिहारमा भाइटीकाको महत्त्व अत्यन्त रहेको छ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका र माला लगाइदिनेमात्र हैन– सकेजति उपहार दिने चलन पनि छ । त्यस्तै, माइतीले दिदीबहिनीलाई उपहार र दक्षिणा दिने गर्छन् । तर, पछिल्लो समयमा अन्य चाडपर्वमा जस्तै तिहारमा पनि विभिन्न विकृति भित्रिएका छन् । तिहारमा दिदीबहिनी र माइतीबीच आदानप्रदान हुने उपहार पनि मूल्यमा दाँजिन थालेका छन् । सद्भाव, प्रेम र भ्रातृत्वको पर्व भए पनि पछिल्लो समयमा अर्काको देखासिकीमा नै किन नहोस्– महँगा उपहार दिने चलन बढ्दै गएको छ । यसले गर्दा तिहारको मौलिकता र विशेषतालाई बिर्सिएर यो सर्वसाधारणका लागि बोझिलो चाड बन्दै गएको महशुस हुन थालेको छ ।

आँगनको डिलमा फक्रेका सयपत्री, मखमली र गोदावरी फूलजस्तै जनमानसमा खुसी र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारमा हिजोआज मौलिकताको सुगन्ध हराउन थालेको छ । भड्किलो बन्दै गएका चाडपर्वको आवरणसँगै सांंस्कृतिक र मौलिकताको बेजोड नमुनाका रूपमा रहेको तिहार पर्वको पनि सास्कृतिक पक्ष खुम्चिन थालेको छ । तिहारमा खेलिने देउसी र भैलोले यो चाडलाई अझ उल्लासपूर्ण बनाउने गर्छ । विगतमा सारङ्गी, मादल, डम्फु, झ्याली, मुर्चुङ्गा र बाँसुरीको धुनमा तालसुर मिलाएर इतिहास अनि पुराणका कथा सुनाउँदै मौलिक भाकामा देउसी भन्ने चलन रहिआएको थियो । त्यसो त, अहिले पनि पौराणिक कथाका केही प्रसङ्ग जोडेर भैलो, देउसी भट्याउने गरिन्छ । तर, यो गाउँघरमै सीमित छ । त्यस्तै, नाङ्लामा एक पाथी धान, एक माना चामल, चामलमाथि बालिएको दियो, फलफूल, सेलरोटी र गच्छेअनुसार दक्षिणा राखेर भैलेनी अनि देउसेको स्वागत तथा बिदाइ गर्ने चलन आफैंमा मौलिक छ । अन्त्यमा देउसेले घरमूलीसहित सबैलाई आशीष दिने चलन छ । महिलाहरूले मिठो भाकामा भैलेनी गाउँदै घरआँगन चहार्ने परम्परा पनि बिस्तारै लोप हुन थालेको छ ।

समयक्रमसँगै समूहमा देउसी, भैलो खेल्नेमात्र हैन– यस अवसरमा विभिन्न समूह, संस्थाले समेत सांस्कृतिक टोली लिएर घर÷घर पुग्ने गर्छन् । तर, हिजोआज देउसी, भैलोको आडमा विभिन्न सांस्कृतिक विचलन फस्टाउन थालेका छन् । देउसी, भैलोको नाममा गाइने गीत, सांस्कृतिक कार्यक्रमले हाम्रो मौलिकता र परम्परालाई जगेर्ना गर्न सकेको देखिन्न । देउसीको नाममा पश्चिमा र हिन्दी गीत बजाउने अनि छोटो लुगा लगाएर नाच्ने प्रचलन बढ्न थालेको छ । त्यस्तै, तिहारको देउसी कार्यक्रमलाई चन्दा, सहयोग सङ्कलन गर्ने माध्यमका रूपमा अपनाउन थालिएको छ । अझ सहरी क्षेत्रमा देउसी, भैलोको नाममा घर÷घर पुग्ने र रकम सङ्कलन गर्ने माध्यम बनाउने गरेको पनि देखिन्छ, यसले गर्दा तिहार आउनेबित्तिकै डराएर भाग्नुपर्ने परिस्थिति बन्न थालेको छ ।

यसबाहेक, दसैं, तिहारलगायतका चाडपर्वका बेला खेलिने जूवातासलाई मनोरञ्जनकै एक साधनका रूपमा लिने गरिन्छ । तर, यसमा कतिपयले केही नगद जित्ने गर्छन् भने कतिपयले सबै सम्पत्ति स्वाहा पनि बनाउने गर्छन् । त्यसैले जूवातासप्रति प्रशासनले कडाइ गर्ने गर्दछ । तर, चाडपर्वका बेला बिदा हुने र फुर्सदको समय साथै मनोरञ्जनका लागि पनि जूवातास खेल्ने गरिन्छ । तर, धनसम्पत्ति नाश हुने गरी खेल्नु पनि एकप्रकारको विकृति नै हो । यसैगरी, झिलिमिली पार्ने, विभिन्न प्रकारका पटका पड्काउने, आतिसबाजी गर्ने आदिका लागि पनि होडबाजी नै हुने गर्दछ । यसले गर्दा तिहारको मौलिकता हराएको प्रतीत हुन थालेको छ ।

तिहार यसै पनि खुसी, उमङ्ग र भ्रातृत्व बढाउने पर्व हो । तिहार भन्नेबित्तिकै दीपावली, देउसी, भैलो र भाइटीकामात्र नभएर पिङका लागि पनि उत्तिकै प्रख्यात छ । ग्रामीण परिवेशमा परापूर्वकालदेखि नै दसैं, तिहारमा पिङ खेल्ने चलन थियो । तर, केही वर्षयता पिङ खेल्ने मौलिक संस्कृति हराउँदै गएको छ । हाल युवापुस्ता पिङमा भन्दा पनि सामाजिक सञ्जालमा रमाउने र पिङ हाल्ने युवा जनशक्तिको अभावले पिङ नै लोप हुन लागेको अवस्था छ । बढ्दो आधुनिकीकरण, युवा पुस्ताहरू सहर, बजार र बिदेसिएकाले गर्दा पनि पिङ संस्कृति हराउँदै गएको बुढापाकाहरूको बुझाइ छ । केही वर्षअघिसम्म दसैंको सुरूआतदेखि राखेको रोटे पिङ, लिङ्गे पिङ तिहारसम्मै रहन्थ्यो । यी पर्वका बेला पिङमा मच्चिएर खेल्ने पुरानो परम्परा अहिले बिरलैमात्र देख्न सकिन्छ । प्रविधिको विकास भएसँगै युवा पुस्ता आधुनिक कला संस्कृतितर्फ आकर्षित छन् । चाडपर्वका बेला युट्युबमा भिडियो, टिकटक बनाउने, घुम्न जाने, चलचित्र हेर्नेजस्ता कार्य हुन थालेका छन् । अहिले मनोरञ्जनका अन्य साधन प्रशस्तै आएकाले पनि पिङतर्फ आकर्षण घटेको कतिपयको बुझाइ छ । अर्कातिर, आधुनिकताको विकास क्रमसँगै विभिन्न महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रति चासो तथा चाहना मानिसमा हराउन थालेको छ ।

वास्तवमा तिहार अनेक सांस्कृतिक विविधता, मूल्यमान्यता बोकेको उल्लास र उत्साहको पर्व हो । तिहारका गतिविधिले हाम्रा संस्कार र सभ्यताको साङ्गोपाङ्ग झल्को दिन्छन् । यो पर्वले सत्य र असल कार्यका लागि बत्तीजस्तै प्रज्ज्वलित हुन प्रेरित गर्दछ । यसले आपसी मेलमिलाप, सद्भाव, स्नेह, प्रेम र प्रकृति पूजा सिकाउँछ । तिहारजस्ता राष्ट्रिय पर्व हुनेखानेका लागि भड्किलो चाडमात्र होइन– हुँदा खानेका लागि पनि उत्तिकै खुसी, उमङ्ग र उल्लास बोकेर आउनुपर्छ ।

यसलाई दिदीबहिनी र दाजुभाइबीचको आपसी सद्भाव, प्रेम र भातृत्वको पर्वका रूपमा मनाइनुपर्छ । यसो हुन सकेमात्र तिहारको मौलिकतासँगै यसको महत्व कायमै रहनेछ । हामीमाझ आइपुगेको यस वर्षको तिहारले सबैमा उत्तिकै आपसी सद्भाव, प्रेम, भ्रातृत्व, खुसी, उमङ्ग र उत्साह छर्न सकोस्, तिहारको सबैलाई हाम्रो यही शुभकामना ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट