उपत्यकाबाट १५ हजार प्रहरी बाहिरिँदै, झापा उच्च सुरक्षा निगरानीमा
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकायहरूले देशव्यापी रूपमा जनशक्ति परिचालन तीव्र पारेका छन्।
सशस्त्र प्रहरी बल ले हल्चोकस्थित प्रधान कार्यालयबाट १ हजार ६ सय सुरक्षाकर्मी बाहिरी जिल्लातर्फ पठाइसकेको छ। आवश्यकताअनुसार थप जनशक्ति खटाउने तयारी पनि अन्तिम चरणमा पुगेको जनाएको छ।
यता नेपाल प्रहरी ले काठमाडौं उपत्यकाबाट मात्रै करिब १५ हजार प्रहरी बाहिरी जिल्लामा परिचालन गर्ने योजना बनाएको छ। चुनौतीपूर्ण मानिएका जिल्लाहरूमा १४० जना वरिष्ठ अधिकृतहरू यसअघि नै पठाइसकिएको छ। विशेषगरी तराईका जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ, जहाँ निर्वाचनका क्रममा तनावको सम्भावना औँल्याइएको छ।
प्रदेशगत तालिका अनुसार ९ फागुनमा कर्णाली र सुदूरपश्चिम, १० फागुनमा कोशी, ११ फागुनमा लुम्बिनी तथा १२ फागुनमा गण्डकी र बागमती प्रदेशमा थप टोली पठाइने तयारी छ।
निर्वाचन सुरक्षा रणनीति कार्यान्वयनबारे समन्वय गर्न गृह मन्त्रालय मा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी थिए।
यसैबीच झापालाई सबैभन्दा संवेदनशील जिल्लाका रूपमा हेरिएको छ। मनोनयन दर्ताकै क्रममा सामान्य झडपसमेत भएको र प्रमुख दलहरूबीच प्रतिस्पर्धा तीव्र बनेकाले यहाँ विशेष सुरक्षा व्यवस्था गरिएको छ। झापा–५ मा केपी शर्मा ओली र बालेन्द्र शाह आमनेसामने हुने भएपछि सुरक्षा चुनौती बढेको आकलन गरिएको छ।
यही पृष्ठभूमिमा विशेष तालिम प्राप्त र अत्याधुनिक हतियारसहितको कार्यदल टोली झापामा खटाउने तयारी गरिएको छ।
उता नेपाल प्रहरीले निर्वाचन सुरक्षाका लागि नेपाली सेना सँग २ हजार ८ सय थान साना हतियार माग गरेको थियो। माग गरिएकामध्ये आधा हतियार प्राप्त भइसकेको र बाँकी १० फागुनभित्र उपलब्ध गराइने जनाइएको छ। निर्वाचनका बेला सेनासँग हतियार सापटी लिने अभ्यास यसअघि पनि रहँदै आएको छ।
क्याटेगोरी : राजनीति


















प्रतिक्रिया