नेपाली कम्युनिष्ट आन्दोलनका ७५ वर्ष
लेखनाथ न्यौपाने
नेपालको कम्युनिष्ट पार्टी एसियाको सबैभन्दा कान्छो पार्टी मध्ये एक हो । नेपाल कम्युनिष्ट पार्टीपछि भुटानमा कम्युनिष्ट पार्टी बनेको देखिन्छ । त्यसैले हाम्रो पार्टीलाई मौलिक भाषामा ठूलो कान्छो भन्न पनि मिल्ने रहेछ । कम्युनिष्ट लिगको हिसाब गर्ने हो भने १०० वर्षपछि र प्लेखानोभले रुसमा बनाएको मजदुर दलसँग हिसाब गर्ने हो भने करिब ७० वर्षपछि नै हाम्रो पार्टी गठन भएको छ । रुसको त्यही मजदुर दलको विकसित रुप नै रूसी सामाजिक जनवादी मजदुर पार्टी थियो । जसको नेता लेनिन हुनुहुन्थ्यो । हाम्रो छिमेकी भारत र चीनका कम्युनिष्ट पार्टीहरु हाम्रो देशमाभन्दा ३० वर्ष अगाडि स्थापना भएको देखिन्छ । भारतमा सन् १९२० र चीनमा सन् १९२१ मा कम्युनिष्ट पार्टीहरुको स्थापना भएको हो । यसरी हेर्दा रुसी क्रान्ति सम्पन्न भएको ३० वर्षपछि र चिनियाँ क्रान्ति सम्पन्न हुनै लाग्दाको समयमा हाम्रो देशको कम्युनिष्ट पार्टी गठन भएको हो । ती क्रान्तिहरुबाट प्रेरणा र तेस्रो विश्वका अन्य देशहरुमा भइरहेको क्रान्तिको उभारको प्रेरणाबाट हाम्रो पार्टी बनेको हामी देख्छौं ।
समाज रुपान्तरणको आन्दोलनमा नेपाली कम्युनिस्टहरूले अधिकतम रगत, पसिना र आँशु बगाएका छन् । आन्दोलनमा भुँइतहको कम्युनिष्ट कार्यकर्ता, समर्थक, जनतादेखि माथिल्लो तहको नेतृत्व समेतले पर्याप्त मात्रामा रगत, पसिना र आँशु बगाएका छन् । तर त्यो रगत, पसिना र आँशुको मूल्य हाम्रा इतिहासका टुटफुट, एकआपसका आरोपप्रत्यारोप र गालीमा मजा मान्ने आजको संस्कृतिले खण्डित गरिरहेको छ । त्यसैले यस विषयमा सुसंगत र तर्कपूर्ण बहस जरुरी छ । आलोचना जरुरी छ । तर हाम्रो अधिकतम समय भने बेतुकका कार्यहरुमा केन्द्रित भइरहेको छ । जसले हाम्रो इतिहासका योगदानहरुलाई खण्डित गर्ने काम गर्छ र त्यसको शिकार आज हामी भइरहेका छौं ।
आज पनि जनस्तरमा कम्युनिष्टहरुप्रति विश्वास छ । हिजो जस्तो अत्यन्तै गाढा त नहोला तर अन्य शक्तिहरुभन्दा धेरै विश्वास कम्युनिष्टहरुप्रति नै छ । तर हामीले जनस्तरको विश्वासलाई पार्टी र पार्टीका नेताहरूमार्फत काममा अगाडि बढाउन सकेको छैनौं । जनविश्वासलाई कायम राखि आफ्ना योजनाहरु कार्यान्वयन गर्न सक्ने नेतृत्व विकास भने देखिँदैन । हाम्रो नेतृत्वको सोंच्ने तरिकादेखि जीवन शैली हेर्दा कम्युनिष्ट त परै जाओस्, वामपन्थीसम्म पनि देखिन छाडेको छ । विचार र नेतृत्वको बीचमा संकट पैदा भइराखेको छ । त्यही संकटको फाइदा उठाउँदै जनताको विश्वास आफूतिर पार्न प्रतिक्रियावादी शक्तिहरु निरन्तर क्रियाशील छन् । तर, हाम्रो नेतृत्व तहले यस विषयलाई खासै गम्भीरतापूर्वक लिएको छैन । त्यही कारणले पछिल्लो पुस्तामा कम्युनिष्टहरुप्रतिको वितृष्णा तीव्र हुँदै गएको देखिन्छ । अब त पछिल्लो पुस्ता वैचारिक रुपले कम्युनिष्ट होला कि नहोला भनेर शंका मान्नुपर्ने अवस्था सिर्जना हुँदै गइरहेको छ ।
हामीले इतिहासमा गरेका अनेकौं जनताको दैनिक जीवन बदल्ने आन्दोलनलाई अन्तिम टुंगोमा पुर्याउन सकेनौं । आन्दोलनहरुको लामो शृंखलाबाट केही उपलब्धिहरु हासिल भएका छन्, तर ती उपलब्धीहरु केही सुधारहरू सीमित छन् । अघिल्ला आन्दोलनहरुभन्दा केही मात्रात्मक रुपले पछिल्लो आन्दोलनले बढी परिवर्तन गरेको छ । तर मजदुर–किसान वर्गको जीवन परिवर्तन गर्ने आन्दोलनको सिङ्गो नेतृत्व कम्युनिष्टहरुले मात्रै गर्न आज पनि सकेको छैनन् । हामीले इतिहासमा गरेका हरेक आन्दोलनमा अन्ततः बुर्जुवा वर्गले भूमिका खेलेकै छ । त्यसैले यस विषयमाथि आज अनेक कोणबाट छलफल गर्नैपर्ने अनुभूति हुन्छ । हामीले गरेका आन्दोलनहरूले सबै बाधा–अड्चनहरु छिचोलेर पूर्णतामा पुगेको देखिँदैन । इतिहासका खासखास कडीहरूलाई आधार मानेर हेर्ने हो भने सम्झौतामा आन्दोलनहरु टुङ्गिएका छन् ।
सम्झौतामा टुङ्गिएका आन्दोलनहरूले पुरानो सत्ताका संरचनागत पक्ष जस्ताको तस्तै राखेर, नयाँ संरचनाहरु बनाउन सकिरहेको छैनन् । त्यसैले पुरानो सत्ताका संरचनाहरु र परिवर्तित राजनीतिक आन्दोलन मुद्धाहरुबीचमा निरन्तर अन्तरविरोध भइरहेको देखिन्छ । फलस्वरुपः नयाँ राजनीतिक आन्दोलनका ऐजेण्डाहरु निरन्तर किनारामा परिरहेका छन् । त्यसकारण राजनीतिक आन्दोलन पछाडि हामीले संरचनागत परिवर्तनहरू गरेनौं भने सत्ताबाट मिल्काइएका शक्तिहरु पुनः सत्तासीन हुने प्रक्रिया निरन्तर चलिरहन्छ भन्ने कुरा हाम्रो इतिहासले दोहोर्याइरहेको छ ।
पुरानो सत्ताको संरचनागत पक्षलाई जस्ताको तस्तै राखेर नयाँ राजनीतिक मुद्धाहरुलाई कार्यान्वयन गर्न सकिँदैन । वि.सं. २००७ साल, २०१७ साल, २०४६ साल, २०५९ साल, पहिलो संविधानसभापछि दोस्रो संविधानसभा हुँदै आजसम्मको निरन्तर क्रान्तिपछिको प्रतिक्रान्तिको श्रृङ्खलालाई हेर्याैं भने स्पष्ट भइन्छ । नेपाली जनताले अनेकौं पटक संघर्ष गरे पनि आजसम्म हामीले यथेष्ठ मात्रामा पुरानो सत्ताको संरचनालाई परिवर्तन गर्न सकिरहेका छैनौं । आज पनि संस्थागत संरचनाका संस्थाहरु, काम गर्ने संस्कृति, फौजी सत्ता, कानुनी सत्ता, कर्मचारी सत्ता, जस्ताको त्यस्तै छन् । बीसको उन्नाइस भइसकेका छैनन् । त्यसैले अहिले हाम्रो जनयुद्धको जगमा भएको जनआन्दोलनले मिल्काइएको सत्ता पुनः सत्तासीन हुने कोसिस गरिरहेको छ र केही जनमत बढेको जस्तो पनि देखिन्छ । त्यसैले हामीले अहिले घोत्लिनुपर्ने विषय पटकपटकको आन्दोलन र संघर्षबाट पनि पुरानो सत्ताका संरचनालाई भत्काई नयाँ सत्ताका संरचनात्मक संस्थाहरु निर्माण गर्न किन सकेनौं भन्ने पनि हो ।
मेरो आशय कम्युनिस्टहरूले कहिले पनि कार्यनीतिमा थोरै पनि सम्झौता गर्नुहुँदैन भन्ने होइन, तर सम्झौतापछि नयाँ संरचनाहरु निर्माण जति हामी मेहनत गर्नुपथ्र्याे त्यो गरेका छैनौं । हाम्रा आन्दोलनहरू एकातिर, हाम्रै एकल नेतृत्वमा सम्पन्न नहुने, घरिघरि पुँजीवादी शक्तिको सहयोग प्राप्त गर्नुपर्ने र अर्काेतिर, नयाँ परिवर्तित राजनीतिक अवस्थालाई संरचनात्मक संस्थाहरुको निर्माणद्वारा संस्थागत गर्न नसक्नाले हाम्रो बलिदानको गाथा र योगदानको मूल्यमा खिया लाग्दै गएको छ । त्यसैले यस विषयलाई नेपाली कम्युनिस्ट आन्दोलनले समीक्षाको विषय बनाउनु पर्छ ।
हामीले जुन वर्गका निम्ति पार्टी बनाएका छौं । त्यही वर्गलाई पार्टीको नेतृत्वमा ल्याउन सकिरहेका छैनौं । उनीहरु बीचमा मजबुत र शसक्त नेतृत्वको विकासमा हाम्रा पार्टीहरुले योगदान गर्न सकिरहेका छैनन् । बरु त समयक्रमसँगै पार्टी र आधारभूत वर्गबीचको सम्बन्ध फराकिलो हुँदै जाने र पार्टी वर्गबाट बेखबर हुने स्थिति सिर्जना भइराखेको देखिन्छ । साथै, हामीले मजदुरहरूबीचबाटै पनि कम्युनिष्ट नेतृत्वको विकास गर्न सकिराखेका छैनौँ । पढेलेखेका, खान पुग्ने, बुर्जुवा कलेबरमा देखिने कस्मेटिक मान्छेहरु मात्रै कम्युनिष्ट आन्दोलनमा आउने र उनीहरूले नै आन्दोलनलाई दिशा दिने स्थानमा पुग्ने प्रक्रियाले हाम्रो आन्दोलन आधारभूत वर्गबाट टाढा हुँदै गइरहेको छ । यस प्रक्रियाले जुन वर्गको मुक्तिका निम्ति पार्टी बनाएको हो, त्यो वर्गको मुक्तिको कुरा धेरै टाढा हुने र त्यो वर्गबाट कम्युनिष्ट पार्टी बेखबर हुने आजको हाम्रो सबैभन्दा ठूलो चुनौतीको विषय हो ।
पछिल्लो समय कम्युनिष्ट नेताहरुले नै मजदुरहरूको पसिना गनाउँछ भन्न थालेको सुनिन्छ । यो अति नै खतरनाक कुरा हो । जब कम्युनिष्ट नेताहरु मजदुरको पसिना गनाउँछ भन्ने ठाउँमा पुग्छन्, अर्थात् वर्ग उत्थानमा पुग्छन्, ती नेताहरु र पार्टीहरुबाट वर्गीय मुक्तिको लडाइँ सम्भव हुँदैन । त्यस्तो पार्टी र नेताहरुले वर्ग मुक्तिको नारा जतिसुकै लागए पनि, मजदुरको पसिनाको मूल्य अनुसारको नेतृत्व निर्माण सम्भव छैन र त्यसले अन्ततः आधारभूत वर्गलाई किनारा लगाएरै छाड्छ ।
नेपाली कम्युनिष्ट आन्दोलनमा अविच्छिन्न कान्तिकारी प्रक्रिया कमजोर देखिन्छ । खास समयमा क्रान्तिकारी भुल्का निस्कन्छ, त्यो भुल्का सिद्धिएपछि फेरि सुधारवादी बाटो हुँदै यथास्थितिमा गएर रोकिन्छ । हामी कञ्चनपुर जाने भनेर काठमाण्डौंबाट चितवन, नारायणी पुगञ्जेल क्रान्तिकारी रहन्छौं, तर नारायणीमा हाम्रो रातो रंग पखालीन सुरु हुन्छ र कञ्चनपुर नपुगिकनै बुटवल पुगञ्जेल सादा भइहाल्छौं । अर्थात् खास भुल्काको उठानसम्म हामी क्रान्तिकारी हुने तर त्यो भुल्का सिद्धिने बित्तिकै हामी कम्युनिष्ट नरहने खतरा व्यापक छ । हामी जहाँसम्म पुग्ने हो, त्यहीसम्म क्रान्तिकारी हुने चरित्र छैन । हामी त संघर्ष र आन्दोलनका स्वरुपहरु फरक हुँदा पनि क्रान्तिकारी भइराख्नुपर्ने हो नि ? तर, नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा यसको ठ्याक्कै विपरीत चरित्र देखिन्छ ।
वि.सं. २००६ सालमा नेकपाको स्थापना भएपछि २००८ देखि क्रान्तिकारी किसान आन्दोलन चलेको थियो तर त्यो वि.सं. २०१३ साल वैशाख २ गते राजाको वैधानिक अधिनायकत्व स्वीकार गर्ने भन्दा सेलायो । अर्काे, २०२८ झापाबाट एउटा भुल्का उदाएको थियो । तर, २०४२ सालमा पञ्चायती निर्वाचन उपयोग गर्ने नाउँमा त्यो भुल्का त्यतै सेलायो । २०५२ देखि २०६२ सम्म चलेको जनयुद्धले तुलनात्मक हिसाबले बढी सफलता तथा पनि परिवर्तनको सुनिश्चिता गर्याे तर यो पनि फेरि परम्परागत संसदीय राजनीति भित्रै फर्किएर सेलाइरहेको छ ।
पछिल्लो समय माओवादीले पनि केही पनि गरेन भन्दै नेत्र विक्रम चन्दको नेतृत्वमा बनेको पार्टी पनि एक दशक नपुग्दै संसदीय निर्वाचनमा आउन खोजेको देखिन्छ । त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनमा एक समय क्रान्तिकारी भुल्का उदाउने र नयाँ चरणमा प्रवेश गर्ने बित्तिकै सुधारवादी वा परम्परागत लाइनमा फर्कने निरन्तरको समस्या छ ।
कम्युनिस्ट पार्टीभित्र मुख्यत नेतृत्वको तहमा सामन्तवादी रुझान डरलाग्दो छ । जसको परिणाम समकक्षीहरु एक ठाउँमा कहिले पनि बस्न सक्दैनन् । पुष्पलालका समकक्षीहरु पुष्पलालसँग कोही पनि रहेनन् । यसलाई हामीले समूहमा सहकार्य गर्न नसकेको अर्थमा बुझ्नुपर्दछ । पुष्पलालको जीवनको अन्तिम समयका दिल्लीमा उपचार हुँदा न कोही समकक्षी थिए, न त कतैबाट सहयोग नै भइराखेको थियो । उनीसँग दिल्लीमा उपचार गर्दा पैसा पनि थिएन र कोही मान्छे पनि थिएनन । ु
चौथो महाधिवेशनमा निर्मल लामा र मोहन विक्रम, मोहन विक्रम सिंह, भक्तबहादुर श्रेष्ठ र मोहन वैद्य छोटो अवधि रहे पनि लामो सहकार्य गर्न सकेनन् । मालेतिर सीपी मैनाली, माधव नेपाल, झलनाथ खनाल र केपी ओलीबीचमा सहकार्य हुन सकेन । माओवादी जनयुद्ध पछि प्रचण्डसँग प्रचण्डका समकक्षी कोही पनि रहेनन् । पछिल्लो समय समाजवादी मोर्चामा म छैन भनेर झलनाथ खनाल कुर्लिरहेका छन् । माधव नेपाल र झलनाथ पनि अलि लामो समय सँगै बस्न नसक्ने संकेत देखिन्छ । समकक्षीहरुसँग सहकार्य गर्न नसक्ने सामन्ती संस्कृति हो । समकक्षीहरुसँग सहकार्य गर्न नसक्नाले सबै कम्युनिष्ट पार्टीलाई नै कमजोर बनाएको छ । नेतैपिच्छे पार्टी चाहिने एउटा गम्भीर समस्या हो ।
योगदानको नाममा जीवनभरी पदमा आसिन भइराख्ने नेपाली कम्युनिष्ट नेताहरुको अर्काे समस्या छ । उनीहरुलाई पार्टीमा प्रवेश गर्ने मात्रै द्धार हुन्छ, बाहिर जाने द्धार नै हुन्न भन्ने लाग्दछ । यसले हाम्रो आन्दोलनलाई कमजोर बनाइराखेको छ र नयाँ नेतृत्व निर्माण ठूलो बन्ध्याकरण गरिराखेको छ । यसले योगदानको मुल्यलाई पनि कमजोर बनाइराखेको देखिन्छ । मोहन विक्रम सिंह २०३१ सालदेखि आजसम्म पनि महामन्त्री छन् । नयाँ नेतृत्वले आफूलाई विकास गर्न कहिले पाउने । कहिल्यै पद छोड्न नपर्ने हो ? अरुले पार्टी चलाउने अवसर एउटा नेतृत्वको मृत्यु भइसकेपछि मात्रै आउने हो ? नेपाली कम्युनिष्ट आन्दोलनमा यो एउटा ठूलो समस्या छ ।
अनुभवका आधारमा स्थापित नेतृत्वलाई सैद्धान्तिक–वैचारिक हिसाबले उछिनेर नेतृत्व गर्ने अवसर पार्टीहरुभित्र छैन । त्यसैले यस समस्यासँग जुध्न धेरै नै गाह्रो छ । २०३१ सालमा अध्यक्ष भएका रोहित अहिले पनि नेमकिपाको अध्यक्ष छन् । २०४६ सालमा महामन्त्री भएका प्रचण्ड अहिले पनि अध्यक्ष छन् । सीपी मैनालीको कुरो त्यस्तै छ । मोहन वैद्यको त्यस्तै छ । ओली र विप्लवको पनि १०–११ वर्ष पूरा भइसक्यो । पार्टी सत्तामा योगदानको नाममा आजीवन बस्ने कुराले आन्दोलनलाई फाइदा गरेको छैन । बरु अहिलेको प्रतिस्पर्धी राजनीतिक कोर्समा हामीलाई पनि जनताको बीचमा अलोकप्रिय बनाएको छ । बेफाइदा नै गरेको छ । यस विषयमा हामीले गम्भीरतापूर्वक छलफल गर्नुपर्छ । हुँदाहुँदा त राष्ट्रपति, उपराष्ट्रपति भएर राज्यको सर्वाेच्च पदमा पुगेका मान्छेहरु पनि फर्केर पार्टीको नेतृत्वमा आइरहेका छन् । आन्दोलनमा एउटा मानक बनाएर मूल्यको योगदान गर्नुपर्ने मान्छेहरु पनि पार्टी जीवनमा फर्किनुले पार्टीमा नेतृत्व विकास अवरुद्ध भइरहेको छ भने जनताहरुको बीचमा पनि व्यापक अलोकप्रियता बढ्दै गएको छ । अहिलेको जनताको मनोभावनालाई नेतृत्व गर्ने र प्रतिस्पर्धी शक्तिसँग प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने कुरामा यस्तो पदलोलुपताले नेपाली कम्युनिष्ट आन्दोलन कमजोर बनाइराखेको छ ।
क्याटेगोरी : बिचार



















प्रतिक्रिया