१२ वर्षको उमेरमा खाली खुट्टा मुग्लान पसेका काशीराम जब हेलिकप्टरमा घर फर्किए
गुल्मीको बढीघाट खोला नजिकै हरियालीले ढाकिएको, प्राकृतिक हिसाबले सुन्दर गाउँ हँसरा, अहिलेको सत्यवती गाउँपालिका–५ । त्यहीँ जन्मिएका थिए काशीराम भण्डारी, जसको जीवनको कथा एउटा चलचित्र जस्तै लाग्छ । जीवनमा अनेक प्रकारका दुःख, आँसु, संघर्ष, सपना र अन्ततः सफलताको शिखरमा पुगेका छन् ।
काशीरामको जीवनमा अभाव र संकट पर्याय बनेर आए । जब उनी जम्मा आठ वर्षका थिए, बाबुको असामयिक निधन उनको बालापनको उज्यालो एकाएक अध्यारोमा हरायो । तर त्यो मात्र दुःखको अन्त्य थिएन । बाबुको मृत्युको जम्मा छैठौं दिनमै साहू ऋणको ब्याज स्वरुप धान लिन आइपुगे । किरिया बसेको बेलामा व्याज स्वरुप धान लैजाने थालेपछि उनले आमालाई प्रश्न सोधे, आमा हामीले के खाने ? साहूले ब्याजबापत घरमा रहेको धान उठाएर लगे । धान लैजादै गर्दा साहुले भने, मर्नेका घरमा मरिरहन्छन् मैले धान नलैजाने ? त्यो बालकको आँखाभित्र टलपलाएको सपना पढ्ने, केही बन्ने । त्यसै दिन मनको कुनामा अल्झियो पढाइभन्दा पहिले त ऋण तिर्नु पर्ने बाध्यता । उनको ध्यान पढाइमा केन्द्रित हुन सकेन ।
काशीरामले १२ वर्षको उमेरमा सन् १९८७ मा भारत (लाहुर)को बाटो समाते । त्यतिबेला उनी भिनाजुसँगै घरबाट निस्किए, खाली खुट्टा देखेपछि भिनाजुले दिएको चप्पल लगाएर उनी गन्तव्य तर्फ लम्किए । उनका खुट्टाले पहिलो पटक सर्पोट पायो ।
भारतको मध्यप्रदेश राज्यको रायपुरमा पुगेर उनले एउटा सानो चिया पसलमा काम पाएका थिए । मासिक तलब थियो जम्मा खाना खाएर ३० भारतीय रुपैयाँ । यति थोरै पारिश्रमिकमा पनि उनी चुपचाप काम गर्थे । बनेको चिया विभिन्न अफिसमा पुर्याउने, फर्किदा चियाका गिलास र पैसा पसलमा ल्याउने । पसलमा आएपछि ती गिलास सफा गर्ने । दिनभरको थकाइ, तातो चिया, पसिनाको गन्ध र सहरको अपरिचित भीड, यहीँबीच उनले ऋण तिर्ने लक्ष्य बोकेर काम निरन्तर गरिरहे ।
चिया बेच्ने पुरानो काम छाडेर १०० भारतीय रुपैयाँ मासिक तलबमा एक कोठीमा काम पाए । यो कामले उनलाई चिया बेच्नभन्दा बढी सिकायो । शिष्टाचार, धैर्यता, खाना पकाउने सीप, अनि श्रमको मूल्य । उनी घर सफा गर्थे, भाँडा माझ्थे, लुगा धोइदिन्थे, अनि खानासमेत पकाउँथे । तर यस्तो परिश्रमको साटो उनले पेटभरी खान पनि पाउँदैनथे । घरको सिडीको माथिल्लो भागमा पनि सुत्न नदिएपछि उनी निक्कै समस्यामा परेका थिए । भण्डारीले त्यो बेलाको समस्या सम्झिदै भन्छन्, ‘रातीचाहिँ घरबाट एउटा च्यादर लिएर बाहिर सडकमा सुत्न जान्थेँ ।’
एक वर्षमा फर्किए घर
एक वर्ष परिश्रमपछि जब घरको ७०० भारु घर पठाएर घर फर्कने निधो गरे । तर त्यो फर्काइ पनि उनको जीवनमा सधैँ ताजा छ । बटौली (बुटवल) बजारमा पुगेर उनले पहिलोपटक गोल्डस्टार जुत्ता किने । त्यो जुत्ता उनका लागि केवल जुत्ता थिएन, त्यो थियो आत्मसम्मानको पहिलो झिल्को । जुत्ता किनेपछि उनको सारा पैसा सकियो । २० रुपैयाँ मात्र बचेको थियो ।
भारतबाट घर फर्किँदा काशीरामले सोचेका थिए — अब सबै ठीक हुनेछ । तर घरको यथार्थ अझ कठोर थियो । आर्थिक अभावले फेरि पनि उनलाई नछोड्ने गरी पछ्याइरह्यो । न लाहुरे जस्तै शान, न त फुर्सदको सास । उनी भन्छन्, ‘पहिले पहिले लाहुरे आएपछि उनीहरूलाई जुल्पी कोरेको, गोजीमा काइयो हालेको, अत्तर छर्केको देख्थेँ । मलाई लाग्थ्यो, लाहुर जानेबित्तिकै मान्छे यस्तो बन्दो रहेछ । तर जब आफैँ त्यहाँ पुगेँ, अनि बुझें—लाहुरे हुनुको अर्थ के हो ।’
अर्को भिनाजुसँग हिँडे फेरि बम्बई
आफ्नो गाउँमा फर्किएर बस्न कस्लाई पो मन हुँदैन र ? दोस्रो पटक उनी फेरि अर्को भिनाजुसँग भारत हिँडे । यसपटक उनी बम्बई गए । आर्थिक अभाव र परिस्थितिले उनलाई आफ्नै गाउँ, आफ्नै घरमा पनि आफूलाई अजनबीजस्तै लाग्थ्यो । घरको चपेटाले अवस्थाले थिचेपछि कयौँ रातहरू उनले आँसुमा भिजाएका छन् ।
सन् १९८८ मा उनले बम्बईमा पहिलो पटक २१ तलामाथि काम पाए । उनी खुट्टा कमाउँदै २१ औँ तलामा पुगेर कोठीको काम गरे । जुनसुकै समयमा उनलाई भवन भत्किन्छ कि भनेर डर मात्रै लागि रहन्थ्यो । बाहिर पनि हेर्न नसक्ने भएपछि उनी उक्त घरमा पुगेको सातौँ दिनमा एकै पटक नै डरले बाहिरिए । त्यसपछि उनले बम्बईको अर्को एक रेष्टुरेन्टमा भाडा माझ्ने काम गरे । तलब थियो ३०० रुपैयाँ । ६ महिना काम गरेपछि उनलाई रेष्टुरेन्टले सुत्न दिएन । सिढीको माथिल्लो भागमा पनि सुत्न नदिएपछि उनी समस्या परे । उनका दुखका दिन फेरि थपिए । उनी भन्छन्, ‘कयौँँ रात खुला आकाशमुनि सुतेँ । कहिले त पुलमुनि पनि सुतेको छु ।’ काशीरामलाई ती रातहरुमा न आकाशले ओढ्ने दिन्थ्यो, न सडकले बिछ्याउने ।
बेरोजगार भएपछि गाउँका साथीहरुले पनि भेट्न नआए हुन्थ्यो भन्ने व्यवहार देखाउँदा उनको मन अमिलो हुन्थ्यो । त्यो व्यवहारले उनलाई साथीको वा आफन्तको कोठा भन्दा पुलमुनी, सडक नै सुत्नका लागि आनन्ददायी लाग्थ्यो । कयौँ रात उनले भोकभोकै सुतेका छन् । अहिले पनि ती कुरा मानसपटलमा आएपछि गहभरी उनले आँशु निकाल्छन् ।
यति धेरै दुःखका पलहरूमाझ पनि काशीरामका आँखा सधैं सपना खोजिरहन्थे । उनले सिप सिक्दै गए, भाषा, व्यवहार र जीवनशैली बुझ्दै गए । त्यो समयले उनलाई जीवनको कठोर पाठ पढायो । आत्मनिर्भर बन्ने, सफलताका लागि लड्ने । यो संघर्षपूर्ण यात्रा उनका लागि आत्मविश्वासको प्रयोगशाला बन्यो । दुःखले उनलाई थिच्ने कोसिस गरिरह्यो, तर उनी झन् बलिया हुँदै गएका थिए ।
अभाव, संघर्ष र सफलता कयौँ नेपालीले भोगेझैं लाग्छ, तर काशीराम भण्डारीको कथा त्यसभन्दा गहिरो, अझै मार्मिक र प्रेरणादायी छ । भारतको एकान्त कुनाबाट सुरु भएको उनको यात्राले जति उकालो चढ्यो, उति नै उनलाई आरोहअवरोधले बलियो बनायो ।
जीवनको घुम्ती नै बन्यो होटलतर्फको यात्रा
अर्का एकजना साथीसँग अब कामको खोजीमा काशीराम महाबलेश्वर जाने निर्णय गर्छन् । बस चढ्ने ठाउँ नदेखेका कारणले पहिलो दिन उनी र साथी बम्बईमै छाडिए । कहाँ जाने भन्ने पनि उनमा आइडिया थिएन् । त्यसैले नजिकैको पार्कमा सुत्ने निधो गरे । आफ्नो झोला लिएर जुत्ताको सिरानी राखेर पार्कमा निदाए । बिहान उठ्दा उनका सिरानी हालेका जुत्ता नै छैनन् । जुत्ता चोरी भएपछि उनी खाली खुट्टा हिँड्दै थिए । खाली खुट्टा झोला बोकेर हिँडेको देखेर पुलिसले पक्रियो । आफ्नो सबै बेलीबिस्तार लगाएर काशीरामले पुलिसलाई २० रुपैयाँ घुस दिए । पुलिसले छाडिदियो । उनीहरु दुवै जनाले सबैभन्दा पहिले जुत्ता नै किने ।
हतार हतार गर्दै बस स्टप गएपछि थाहा भयो बस भोलिपल्ट बिहान ५ बजे मात्र जाने रहेछ । बस स्टोपमै बसेका उनलाई सर्ट र पाइन्ट किन्न मन लाग्छ । उनले ४० रुपैयाँमा सर्ट र पाइन्ट किने । भोलिपल्टको टिकट लिँदा थाहा भयो, भाडा नपुग्ने रहेछ । त्यसपछि उनले सर्ट र पाइन्ट फिर्ता गरे । पैसा भने जम्मा २० रुपैयाँ फिर्ता आयो । त्यती हुँदा पनि महाबलेश्वर जाने पैसा पुगेन । गाडी वालालाई उनले जहाँसम्म पैसाले पुग्छ त्यहाँसम्म लगिदिन आग्रह गरे । गाडीले १९ किलोमिटर टाढै झारिदियो । अर्को एक ट्याक्सी ड्राइभरलाई आफ्नो कुरा सुनाएपछि उसले महाबलेश्वर पुर्याइदियो ।
होटलमा पुगेपछि उनले भाडा माझ्ने काम सुरु गरे । सुरुवातमा भाँडा माझ्ने काम । त्यो काम जसलाई अरूले हेप्ने गर्थे, अपमानका नजरले हेर्थे । तर काशीरामका लागि त्यो पनि एउटा सम्भावना थियो, सिक्ने मौका थियो, घरको आवश्यकता पूरा गर्ने । तर त्यो सम्भावनाले अप्रत्याशित रूपमा एकदिन उनलाई गम्भीर दुर्घटनामा पुर्यायो ।
‘अहिले जस्तो तातो पानी आउने सिस्टम थिएन,’ उनी सम्झिन्छन्, ‘जाडोमा आफैँले पानी तताएर भाँडा माझ्नु पथ्र्यो । एकदिन चिप्लिएँ, अनि सिधै २० लिटर तातो पानीमा परेँ ।’ पानीले जलेपछि उनलाई तुरुन्तै नजिकैको अस्पताल लगियो । महिनौंसम्म अस्पतालको ओछ्यानमा उनी आफ्नो जीवनका रंगहरू हराउँदै गएको महसुस गर्थे । न निरन्तर स्याहार्ने कोही छ, न त रोगको पीडामा रोएको सुन्ने कोही । त्यही पीडाबाट उनले नयाँ जीवनको यात्रा सुरु गरे । ‘भाँडा माझ्न अब म सक्दिन, अनि चाहँदिन पनि,’ उनले निर्णय गरे अब मैले हाउसकिपिङको काम गर्छु । होटलका साहूले पनि उनको इमान्दारीता, निष्ठा र लगनशीलताले हाउसकिपिङमा जागिर सिफ्ट गरिदिए ।
भण्डारीले हाउसकिपिङ हुँदै होटल व्यवस्थापनको पाटोसम्म सम्हाल्न थाले । उनी जिम्मेवार हुँदै गए, अब अनुभवी कर्मचारी थिए । होटलमै बसेर उनले बलिउडका दर्जनौँ नाम चलेका कलाकारलाई खाना खुवाए । मनिषा कोइराला, धर्मेन्द्र, गोविन्दा, सुनिल सेठ्ठी, हेमा मालिनीलगायत ९० को दशकमा चर्चामा रहेका अधिकाँश बलिउड स्टारलाई उनी आफैँले खाना खुवाएका छन् ।
काशीरामले सन् १९८९ देखि २००० सम्मको १२ वर्ष महाबलेश्वरको होटल ब्राइटल्याण्ड होलिडे भिलेजमा काम गरे । त्यो समयमा उनले आफ्नो हैसियत पनि बनाएका थिए, आत्मबल पनि । भाँडा माझ्ने हात अब कामसँगै निर्देशन दिनेमा परिणत भएका थिए । भरोसायोग्य कामको भरमा उनले होटलको म्यानेजरको जिम्मेवारी पाएका थिए । एक नेपाली युवा, जसले तातो पानीको पीडालाई ऊर्जा बनाएर जीवनको नयाँ मोड बनाएका थिए ।
विवाहको तीन दिनपछि मात्र श्रीमतिलाई देखे
विवाहको रोचक प्रसंग पनि उनको जीवनमा भुल्नै नहुने स्मरण छ । सन् १९९१ मा उनी विवाहका लागि घर फर्किए । होटलबाट छुट्टी लिएर विवाहका लागि आएका उनलाई गाउँकै दाईले मैले केटी हेरको छु भने । उनले हेर्ने इच्छा व्यक्त गर्दा दाजु रिसाउने भएपछि विवाहका लागि उनी राजी भए । विवाह धुमधामले भयो । विवाहको ३ दिनपछि मात्र उनले श्रीमतिको अनुहार देखे । आफूले नदेखे पनि श्रीमतिले आफ्नो जीवनका संघर्षमा सधै साथ दिएकाले आफू सफल भएको भण्डारी बताउँछन् । श्रीमति मिरादेवी, छोरा विक्रम, छोरीहरु गंगा र कृष्णासँग अहिले उनी स्कटल्याण्डमा छन् ।
विवाह पछि पनि उनी निरन्तर केही वर्ष त्यहीँ होटलमा काम गरे । होटलमा बस्न आएका पाहुनाले उनलाई एकदिन होटल खोल्न थालेको छु, तिमी जान्छौँ भने म लैजान्छु भनें । केहीबेर सोचेर उनले निर्णय लिन्छन्, हुन्छ म जान्छु । उनीसँग राहदानी थिएन । उनी राहदानी बनाउन नेपाल फर्किन्छन् । नेपालबाट महाबलेश्वर पुगेको केहीदिनमा नै भिसा आँउछ । उनले होटल साहूलाई विदाइ माग्छन् । विदाइका क्रममा साहुले भावुक हुँदै भन्छन्, काशीराम सबैले छाड्छन् तर, तिमीले छाड्दैनौँ भनेको तिमी नै हिड्यौँ ।
१२ वर्षको मुम्बई बसाइपछि, उनले कहिल्यै नसोचेको अर्को गन्तव्य खुल्यो दुबई । सन् २००० मा उनी दुबई पुगे । सुरुमा तलब थोरै थियो प्रतिमहिना ५ सय दिराम । तर उनले फेरि पनि गुनासो गरेनन् । एउटै उद्देश्य थियो, बिस्तारै अघि बढ्ने, आफ्नै भविष्य बनाउने । दुबईको रंगीन दुनिया र मरुभूमिको घामसँग जुध्दै उनले काम गरे ।
तर यहीँ उनको जीवनमा नयाँ निर्णय आयो, बेलायत जाने । ‘मैले एजेण्टलाई २५ हजार दिराम तिरे,’ उनी भन्छन्, ‘त्यसपछि मेरो निद्रै हरायो । ओठमुख सुकेर पानी खाएको खायैँ हुन्थे । धेरै रात म सुत्नै सकिन । लगाएको पैसा ठगिन्छ कि भन्ने डरले मन थर्थथर गथ्र्याे ।’ २५ हजार दिराम, त्यो उनका लागि केवल पैसा होइन, पुरै जीवनको भरोसा थियो । तर जब उनलाई सोध्न मन लाग्थ्यो, एजेण्टले तर्साउँथ्यो, धम्क्याउँथ्यो । अनिश्चितता, धोका र त्रासबीच रातहरू बित्थे ।
भिसाका लागि पनि उनले हैरानी बेहोरेका छन् । भिसाका बारेमा सोध्न फोन गर्दा अफिसको म्यानेजरले कति फोन गर्छौँ, भिसा आएपछि म खबर गरिहाल्छु भन्थ्यो । उनको ओठमुख सुक्थ्यो । तर लगत्तै भिसा लगाउने समय आयो । आफूसँग राहदानी छैन । होटलको साहुसँग भएको राहदानी कसरी प्राप्त गर्ने भन्ने चिन्ता लाग्यो । उनले जुक्ति निकाले, बैंकको अकाउन्ट खोल्नका लागि भनेर राहदानी माग्ने । राहदानी लगेर १२ बजे दूतावास पुगे । दिउँसो २ बजे उनको भिसा लाग्यो । त्यहीँ दिन काशीराम नेपाल फर्किए । उनले नेपालमा श्रम बनाएर सन् २००४ को अक्टोबर २४ मा बेलायत तर्फ लागे । तर अन्ततः उनको जीवनमा चमत्कार भयो । क्रमशः….
क्याटेगोरी : मनोरञ्जन, रोचक


















प्रतिक्रिया