Techie IT
Samayabaddha
शनिबार, २६ पुस, २०८२

अमेरिकी ट्रेजरी डिपार्टमेन्टको प्रणाली ह्याक, चीनका सरकारी ह्याकरले ह्याक गरेको आरोप


अमेरिकाले आफ्नो ट्रेजरी डिपार्टमेन्टको प्रणाली चीन सरकारद्वारा सञ्चालित ह्याकरले ह्याक गरेको आरोप लगाएको छ । ह्याकरले महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

डिसेम्बरको शुरूमा यो घटना भएको थियो । ह्याकिङको बारेमा ट्रेजरी डिपार्टमेन्टले सांसदहरूलाई जानकारी दिँदै पत्र लेखेको पनि खुलेको छ । शङ्कास्पद गतिविधि पहिलो पटक डिसेम्बर २ मा देखिएको थियो तर कम्पनीलाई यो ह्याक हो कि होइन भनेर पत्ता लगाउन तीन दिन लागेको थियो ।

ह्याकरहरूले तीन दिनमा केही खाताहरू अदलीबदली गर्न र पासवर्डहरू परिवर्तन गर्न सक्षम भएका थिए । ह्याकरहरूले रकम चोरी गर्ने प्रयास गर्नुको सट्टा प्रणालीमा भएका जानकारी खोजिरहेका पाइएको छ ।

अमेरिकी एजेन्सीले ह्याकिङको यो घटनालाई गम्भीर रूपमा लिएको र सङ्घीय जाँच ब्युरो (एफबीआई) सहित अरू एजेन्सीसँगको सहकार्यमा अनुसन्धानको काम भइरहेको जनाएको छ ।

वाशिङ्टन डीसीमा रहेको चिनियाँ दूतावासका प्रवक्ताले भने आरोप अस्वीकार गर्दै चीनलाई बदनाम गराउने षड्यन्त्रका रूपमा यो हल्ला फैलाएको आरोप लगाएका छन् । कुनै तथ्यगत आधारविना चीन सरकारमाथि आरोप लगाउनु गलत भएको चिनियाँ दूतावासले जनाएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट