Techie IT
Samayabaddha
सोमबार, २३ असार, २०८२

अमेरिकाको लस एन्जलसमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या १० जना पुग्यो


अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या १० जना पुगेको छ । आगलागीमा परी मृत्यु हुनेहरुको पहिचान गर्ने काम भइरहेको र मृतकको पहिचान गर्न कैयौं हप्ता लाग्न सक्ने लस एन्जलसका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अहिले लस एन्जलस क्षेत्रमा पाँच ठाउँमा आगलागी भइरहेको छ । पेलिसेड्स, एटन, केनेथ, हस्र्ट र लिडिया क्षेत्रमा आगलागी भइरहेको छ । लस एन्जलस प्रहरीले शहरको वुडल्यान्ड हिल्स क्षेत्रमा आगो लगाउने प्रयास गरेको आशङ्कामा एक जनालाई पक्राउ गरेको छ । तर स्थानीय अग्निनियन्त्रकले जङ्गलमा आगो जानाजानी शुरू भएको प्रमाण नभेटेको बताएका छन् ।

आगलागीका कारण झन्डै १० हजार संरचना ध्वस्त भएको छ । अहिलेसम्म एक लाख ८० हजार जनालाई स्थानान्तरण गरिएको र दुई लाख जनाभन्दा धेरै मानिस जोखिममा रहेका बीबीसीको खबरमा उल्लेख छ ।

आगलागीबाट ३४ हजार एकड क्षेत्रफल ध्वस्त भएको छ । लस एन्जलसको इतिहासमा यो सबैभन्दा विनाशकारी जङ्गलको आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

सुक्खा मरुभूमिको हावाले आगोलाई थप बल पुर्‍याइरहेको छ । निकै तीव्र गतिको हावाले आगोलाई अझ फैलाउन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।

यसैबीच राष्ट्रपति जो बाइडेनले दक्षिणी क्यालिफोर्नियामा आउँदा ६ महिनासम्म ‘जीवन र सम्पत्तिको सुरक्षा’ खर्च सङ्घीय सरकारले बेहोर्ने घोषणा गएका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट