Techie IT
Samayabaddha
बिहीबार, २० कात्तिक, २०८२

युरोपेली सङ्घलाई पनि कर बढाउने अमेरिकी राष्ट्रपति ट्रम्पको सङ्केत


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (ईयू) का देशहरूबाट आयात हुने सामानमा कर बढाउने सङ्केत गरेका छन् । ट्रम्पले अमेरिकामा आयात हुने ईयूका सामानहरूमा छिट्टै भन्सार शुल्क बढ्न सक्ने बताएका बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिले बेलायती प्रधानमन्त्री सर केयर स्टाररसँग राम्रो सम्बन्ध रहेको र बेलायतसँगको व्यापारिक समस्या भने समाधान गर्न सकिने उल्लेख गरे । क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ भन्सार दर घोषणापछि ट्रम्पले ईयूमा पनि कर लगाउने बताएका हुन् ।

अमेरिकामा क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा १० प्रतिशत आयात कर शुरू भएको छ । क्यानडाले पनि अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको छ । तर अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडाले अमेरिकाले लगाएको करको बदला लिएमा क्यानडामाथि थप कर लगाउने चेतावनी दिएका छन् ।

यस्तै अमेरिकाले लगाएको करलाई लिएर क्यानडाका केही पसलहरूले अमेरिकी उत्पादनहरू हटाउन शुरू गरिसकेका छन् । यसअघि आइस हक्की र बास्केटबल खेलहरूमा क्यानडेलीहरूले अमेरिकी करको विरुद्धमा नारा लगाएका थिए ।

क्यानडाको नोभा स्कोटियाकी ६७ वर्षीया क्यारोल चान्डलरले सम्भव भएसम्म सबै अमेरिकी उत्पादनहरू बहिष्कार गर्ने र फ्लोरिडा भ्रमणको योजना पनि रद्द गर्न लागेको बताएका छन् ।

अमेरिकी निर्णयपछि मेक्सिकोले पनि अमेरिकी उत्पादनहरूमा आयात कर लगाउने घोषणा गरेको छ ।

चीनले अमेरिकी कदम विश्व व्यापार सङ्गठनको नियमको प्रतिकूल भएको भन्दै निकै असन्तुष्ट रहेको बताएको छ । चीनले अमेरिकालाई आफ्नो त्रुटिपूर्ण अवधारण सच्याउन र संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट