Techie IT
Samayabaddha
शनिबार, २० वैशाख, २०८२

जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो


जापानको जङ्गलमा लागेको तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि झन्डै एक हजार सात सय जना अग्निनियन्त्रक परिचालन भएका छन् ।

ओफुनाटो शहर नजिकै गएको बिहीवारदेखि लागेको डढेलो झन्डै दुई हजार एक सय हेक्टर क्षेत्रफलमा फैलिएको अग्नि तथा विपद् व्यवस्थापन निकायलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

गएको हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परी एक जनाको ज्यान गएको थियो । यो क्षेत्रमा गएको वर्ष अहिलेसम्मकै अत्यधिक कम वर्षा र उच्च तापक्रम वृद्धि भएको रेकर्ड गरिएको थियो ।

जापानका १४ वटा क्षेत्रका अग्निनियन्त्रक र सेनासहित १६ वटा हेलिकप्टरले डढेलो निभाउने प्रयास गरिरहेका खबरमा उल्लेख छ । अधिकारीहरूका अनुसार झन्डै तीन हजार दुई सय जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । राष्ट्रिय प्रसारक एनएचकेको ओफुनातोको बिहानको फुटेजमा भवनहरू नजिकै सुन्तला रङ्गको ज्वाला र धूवाँ उडिरहेको देखिएको छ ।

सन् १९७० को दशकयता जापानमा डढेलोको सङ्ख्यामा कमी आएको छ । तर सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा देशभर झन्डै एक हजार तीन सय हेक्टर क्षेत्रफल जङ्गलमा डढेलो फैलिएको थियो ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट