Techie IT
Samayabaddha
शनिबार, २० वैशाख, २०८२

विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी


विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गाजामा विनाशकारी अवस्थाको चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानम गेयब्रेयससले गाजाको अवस्था विनाशकारी रहेको र २० लाख मानिसले भोकमरीको सामना गरिरहेका बताएका कतार न्युज एजेन्सीले जनाएको छ ।

स्विट्जरल्यान्डको जेनेभेमा आज पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक गेयब्रेयससले डब्ल्यूएचओले अभूतपूर्व कोष चुनौतीहरूको सामना गरिरहेको उल्लेख गरे । उनका अनुसार दाता देशहरूले उनीहरूको योगदान घटाउँदै गर्दा डब्ल्यूएचओको वित्तपोषणको इतिहासमा सबैभन्दा गम्भीर अवरोध भएको छ ।

यस्तै डब्ल्यूएचओको स्वास्थ्य आपत्कालीन कार्यक्रमका कार्यकारी निर्देशक माइकल रायनले गाजाका बालबालिकाहरूको दिमाग र शारीरिक अवस्था बिथोलिएको चेतावनी दिएको खबरमा उल्लेख छ । उनले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न आग्रह गर्दै अवस्था असहनीय रहेको बताए । रायनले गाजाका महिला र बालबालिकाहरूमा निमोनिया र मेनिन्जाइटिसका मामिलामा वृद्धि भएको पनि औँल्याए ।

यसैबीच गाजामा भान्सा सञ्चालन गर्दै आएका कम्पनीहरूले दुई महिनाको इजरायली नाकाबन्दीपछि केही दिनमै खाना सकिन सक्ने चेतावनी दिएका छन् । अनेरा टोलीको नेतृत्व गर्ने सामी मटरले बाँकी रहेका केही भान्साहरू केही दिनमै बन्द हुने तयारीमा रहेका बताएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट