क्यालिफोर्नियामा शक्तिशाली हिमपहिरो, १० जना बेपत्ता
काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको उत्तरी पहाडी क्षेत्रमा शक्तिशाली हिमपहिरो जाँदा १० जना स्कीयर अझै बेपत्ता भएका छन्। मंगलबार भएको उक्त घटनापछि उद्धार टोलीले प्रतिकूल मौसमका बीच खोज तथा उद्धार कार्य जारी राखेको छ।
नेभाडा काउन्टी शेरिफ कार्यालयका अनुसार लेक टाहोको उत्तरपश्चिमस्थित क्यासल पिक क्षेत्रको फ्रग लेक आसपास हिमपहिरो गएको खबर स्थानीय समय अनुसार बिहान करिब ११ः३० बजे ९११ मा फोन आएको थियो । त्यसपछि स्की, स्नोक्याट र स्नोमोबाइलसहितको उद्धार टोली तुरुन्तै परिचालन गरिएको थियो । तर तीव्र हिउँआँधी र पुनः हिमपहिरो जान सक्ने उच्च जोखिमका कारण उद्धार कार्य निकै कठिन बन्यो ।
उद्धार अधिकारीहरूले ६ जना स्कीयरसँग आपत्कालीन बेकनमार्फत सम्पर्क कायम गरेको बताएका छन् । उनीहरू अस्थायी आश्रय बनाउँदै उद्धारको प्रतीक्षामा रहेका छन् ।
यो टोली तीन दिनको ब्याककन्ट्री स्की यात्राको अन्तिम दिनमा थियो । सिएरा एभालेन्च सेन्टरका पूर्वानुमानकर्ताका अनुसार उक्त क्षेत्रमा पुग्न कठिन पहाडी भूभाग पार गर्नुपर्छ र सहभागीहरूले आवश्यक खाद्य सामग्री तथा उपकरण आफैँ बोकेका थिए । टूर सञ्चालन गर्ने कम्पनी ब्ल्याकबर्ड माउन्टेन गाइड्सले १२ ग्राहक र ४ गाइड सहभागी रहेको जनाएको छ ।
थप हिमपहिरोको जोखिमलाई ध्यानमा राख्दै उद्धार टोली सावधानीपूर्वक अघि बढिरहेको बताइएको छ । यसैबिच, क्यालिफोर्नियामा यस साता शक्तिशाली हिउँदे आँधीका कारण भारी हिमपात, तीव्र हावा र खराब मौसमले जनजीवन प्रभावित भएको छ । अधिकारीहरूले पर्वतीय क्षेत्रमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय


















प्रतिक्रिया