Techie IT
Samayabaddha
आईतबार, २८ मंसीर, २०८२

क्रान्तिकारी चेत बोकेको कृति पोखरलेको ‘भोगाइ’उपन्यास : महेश्वर दाहाल


वातलावको ३६ औं श्रृङ्खलामा बग्गीखानास्थित पद्मोदय माविमा वरिष्ठ साहित्यकार तथा लेखक हरुको उपस्थितिमा साहित्यकार नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद्का सदस्य धर्मेश पोखरेलद्वारा लिखित उपन्यास ‘‘भोगाइ’’ माथि अन्तरक्रियात्मक तथा समीक्षात्मक कार्यक्रम शनिबार सम्पन्न भएको छ । 

अखिल नेपाल लेखक संघ (क्रान्तिकारी केन्द्र)को आयोजनामा भएको ३६ औं वातलाव कार्यक्रममा  नेकपाका नेता प्रेस सेन्टरका संस्थापक अध्यक्ष तथा संस्कृति, कला, साहित्य विभाग प्रमुख महेश्वर दाहालले पोखरेलद्वारा लिखित उपन्यास ‘भोगाइ’ समीक्षात्मक टिप्पणी गरेका थिए । पोखरेलको उक्त कृति, समग्रमा नेपाली समाजको एउटा कालखण्डलाई समेटेर लेखिएकोले कृति सामाजिक र क्रान्तिकारी चेत बोकेको बताए । निकै ओजपूर्ण गहिराईमा पुगेर लेखिएको उपन्यास ‘भोगाइ’ प्रगतिशील लेखन क्षेत्रमा एउटा इट्टा थप्ने काम गरेको बताए ।  

उक्त टिप्पणी कार्यक्रममा लेखकको काम समाजलाई अगाडि बढाउने हो । चेतना दिने हो । आउने पिँढीलाई झक्‌झक्याउने हो । कृतिमा विम्व र पात्रहरुको ख्याल गरी साहित्यलाई पस्किन सके पठनीय भई समाज परिवर्तनमा समेत सहयोग पुग्ने बताए ।  

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा।धनप्रसाद सुवदीले प्रगतिशील लेख तथा साहित्यकारहरुले प्रतिध्रुवीय लेखकहरुले लेखेको कृतिहरु पनि अध्ययन गर्नु पर्ने बताए । हाम्रोमा प्रतिध्रुवीय विषयमा छलफल नै हुँदैन सुवेदीले भने । 

प्रगतिशील लेखक संघका पूर्व उपाध्यक्ष तथा भाषा आयोगका सदस्य डा।पुस्कर भट्टले कृतिले बोकेको विचार कस्तो विचारसँग सम्बन्धित छ भनेर पनि हेरिन्छ । पात्र, परिवेश, मिल्नु पर्ने, लेखन विधालाई पाठकहरुले रुचाउने विचार दिनु सक्नुपर्ने बताउँदै ऊर्जावान विचारहरुले मात्र साहित्यलाई गुणस्तरीय  बनाउने बताए । साहित्यको माध्यमबाट कसरी विषय वस्तु पस्कने भन्ने पनि हुन्छ ।

 लेखनको समय फेरिएको छ । प्रविधिको पनि प्रयोग गर्नु पर्छ । रुप पक्ष कमजोर देखिए पनि गुण पक्षमा ‘भोगाइ’ उपन्यास स्तरीय कृतिको रुपमा आएको बताए । 

अखिल नेपाल जनसांस्कृतिक महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष भीम कुमाखीले पोखरेलद्वारा लिखित जीवनको ‘भोगाइ’ उपन्यास माओवादी जनयुद्ध र जनआन्दोलनको सेरोफेरोको विषयवस्तु समेटेर लेखेको बताए । नेपाली क्रान्तिसँग जोडिएको कृतिको रुपमा लिएको छु । राज्य व्यवस्थाले पीडा दिए पनि, राजनीतिक परिवर्तनसँग सन्तुष्त रहेर, खुशीको रुपमा प्रस्तुत गरेको कृतिको रुपमा लिएको छु कुमाखीले भने । 

प्रगतिशील लेखक संघको पूर्व अध्यक्ष तथा भाषा आयोगका सदस्य मातृका पोखेरलले उपन्यासमा पस्केको विषयवस्तु दृष्टिकोणको हिसावले महत्वपूर्ण रहेको बताए । २०४० सालको आन्दोलनदेखिकै विषयवस्तुका आधारहरुलाई टेकेर लेखेको पाएँ । मिहिन ढंगले लेखकले विषयवस्तु समेट्न खोजेको छ । प्रगतिशील लेखनको क्षेत्रमा अघि बढ्ने विश्वास गरेको छु ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समेत रहेको ‘भोगाइ’ उपन्यास कृतिका लेखक धर्मेश पोखरेलले उपन्यास पहिल्यै लेखिएको बताउँदै प्राविधिक पक्षमा कमीकमजोरी भएको र भविष्यमा सच्याउँदै लेखनलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए । 

कार्यक्रम सञ्चालन वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका मातृ भाषा विभाग प्रमुख अजिव वनेपालीले गरेका थिए ।


क्याटेगोरी : साहित्य

प्रतिक्रिया


ताजा अपडेट