न्याय केवल प्रहरीको लठ्ठी र अदालतको फैसला कुरेर बस्दैन
प्यारी छोरी,
धर्तीका सारा शुभाशिष र मुटुभरिको माया !
आज तिमीलाई यो पत्र लेख्दै गर्दा मेरो कलम मात्र होइन, मन पनि नराम्ररी काँपिरहेको छ । तिमी त्यहाँ हिमालपारिको नीलो आकाशमुनि आफ्नो सुनौलो भविष्यको क्यानभास रंगाउन अहोरात्र मिहिनेत गरिरहेकी छौ । तर छोरी, तिमीलाई यो लेखिरहँदा मेरो मुटुमा एउटा गाँठो परेको छ– तिम्रो जन्मभूमिको यो माटो आज आफ्नै निर्दाेष छोरीहरूको रगतले निथ्रुक्क भिजेको छ ।
तिमी अक्सर सोध्ने गछ्र्यौ – ‘बाबा, हाम्रो देशको राजनीति कहिले सफा होला ? प्रविधिको यो युगमा पनि हाम्रो समाज किन अझै ढुङ्गे युगको चेतनामा निसास्सिएको छ ?’ आज तिम्रा ती प्रश्नहरूले मेरो अगाडि प्रश्न वाचक चिन्ह बनेर होइन, तिखो शूल बनेर बिझाइरहेका छन् ।
भर्खरै एउटा निर्वाचन सकियो । सत्ताको मझेरीमा नयाँ गणितका गोटीहरू चाल्न सुरु भइसकेको छ । तर विडम्बना ! यो राजनीतिका ठूला–ठूला सूत्रहरूमा कतै पनि ‘इनिसा’ जस्ता छोरीहरूको सुरक्षाको समीकरण अटाएको देखिँदैन । सुर्खेतकी ती १६ वर्षीया इनिसा, जसले भर्खरै जीवनको मिर्मिरे देख्दै थिइन्, उनको सपनालाई अपराधीहरूले बीच बाटोमै निमोठे । शक्तिको उन्मादमा लट्ठिएकाहरूलाई ती निर्दाेष बालिकाहरूको अन्तिम चित्कार सुन्ने फुर्सद कहाँ छ र ?
यहाँ न्याय भन्दा बढी ‘नम्बर’ को राजनीति हुन्छ । तिमीले सूचना प्रविधिको दुरुपयोगका बारेमा व्यक्त गर्ने चिन्ता कति जायज छ भन्ने कुरा आज हाम्रो समाजको ऐनाले छर्लङ्ग पारिरहेको छ । जुन प्रविधिले मान्छेको मन जोड्नुपर्ने थियो, आज त्यही सञ्जालमा मानिसहरू ‘भ्युज’ र ‘भाइरल’ हुने होडमा कसैको मृत्युलाई पनि विज्ञापनको वस्तु बनाइरहेका छन् । प्रविधि त आयो छोरी, तर त्यो चलाउने ‘विवेक’ र ‘नैतिकता’ भित्रिन अझै कति युग कुर्नुपर्ने हो, म भन्न सक्दिनँ ।
आधुनिकताको कडा लेपन लगाएको हाम्रो समाज आज एउटा विचित्र र भयानक दोसाँधमा उभिएको छ । एकातिर हामी मंगल ग्रहमा बस्ती बसाल्ने कुरा गर्छाैं, अर्काेतिर आफ्नै घरआँगनमा एउटी अबोध किशोरीको अस्मिता र जीवन रक्षा गर्न सक्दैनौँ ।
इनिसा वि.क. को हत्या केवल एउटा शरीरको अन्त्य होइन, यो त हाम्रो ‘सभ्य’ भनिने समाजको नैतिक मृत्यु हो । जहाँ यौन शिक्षालाई ‘लाज’ मानिन्छ तर पर्दाभित्र हुने जघन्य अपराधलाई ‘इज्जत’ को नाममा छोपिन्छ, सम्झनु त्यो समाज भित्रभित्रै कुहिएर खिइँदैछ ।
‘बलात्कार केवल शरीरको हुँदैन, यो त सिंगो मानवताको चीरहरण हो,
हत्या केवल प्राणको हुँदैन, यो त एउटा सभ्यताको अवसान हो ।’
छोरी, मलाई तिम्रो त्यो सचेत र विद्रोही चेतनामाथि गर्व लाग्छ । तिमीले भनेझैँ अब न्यायका लागि केवल प्रहरीको लठ्ठी र अदालतको फैसला कुरेर पुग्दैन । अब त हरेक नागरिकको सोचमा पहरेदारी, पाठ्यक्रममा नैतिकताको सुगन्ध र सामाजिक सञ्जालमा जिम्मेवारीको बोध हुनुपर्छ । इनिसाले न्याय पाउनु भनेको एउटा अपराधीलाई कालकोठरीमा जाक्नु मात्र होइन, बरु भोलि कुनै पनि इनिसाले यसरी अकालमा मर्नु नपर्ने वातावरणको ग्यारेन्टी हुनु हो ।
आज एउटा बुबा भएर भन्दैछु– मलाई तिमी ‘सफल’ भएको हेर्ने ठूलो रहर त छँदैछ, तर त्यो भन्दा बढी तिमी ‘सुरक्षित’ भएको देख्ने चाहना छ । तिमी परदेशमा छौ, त्यहाँको नियम–कानुन र अनुशासनको कदर गर्नु । तर आफ्नो माटोको यो कुरूप र रक्ताम्मे चित्रलाई बदल्ने संकल्प भने मनको कुनै कुनामा सधैँ जीवित राख्नु ।
तिम्रो सुरक्षा र तिम्रो मुस्कान नै हाम्रो बाँच्ने एक्लो आधार हो । आफ्नो धेरै ख्याल राख्नु ।
सधैँ तिम्रो हित चाहने बाबा
पूर्ण घर्ती
-२०८२/१२/०२)
क्याटेगोरी : साहित्य


















प्रतिक्रिया