काठमाडौं उपत्यकाका बजारमा तिहारको किनमेल गर्न उपभोक्ताको भीड

काठमाडौं । काठमाडौं उपत्यकाका बजारमा तिहारको किनमेल गर्न उपभोक्ताको भीड लागेको छ । आज विशेषगरी फूलमाला, पूजाका सामग्री र उपहारको किनमेल भइरहेको छ । अहिले काठमाण्डौका बजार र चोक सयपत्री र मखमली मालाले सुसज्जित भएको छ । लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीकाका लागि मालाको प्रयोग धेरै हुने गर्छ । सडक पेटीदेखि डिपार्टमेन्ट स्टोरसम्म माला राखिएका छन् ।
काठमाडौं उपत्यका नजिकका जिल्लामा उत्पादित फूल किसान आफैंले काठमाडौंको बजारमा ल्याएका फ्लोरिकल्चर एसोसिएन नेपाल (फ्यान) ले जनाएको छ । फ्यानका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङका अनुसार देश भारतबाट आयात हुने मालाको प्रतिबन्ध लगाएकाले यसपालि स्वदेशी फूलले उचित मूल्य पाउने उनले जानकारी दिए । यो वर्ष मालाको मूल्य गत वर्षकै हाराहारीमा रहेको उनको भनाइ छ ।
बजारमा सयपत्री माला एक सयदेखि एक सय ५० र मखमली मालाको मूल्य ५० देखि ६० रुपैयाँमा बिक्री हुने गरेको छ । यसपालि तिहारमा सयपत्री माला ४० लाख वटा, चार लाख ७५ हजार वटा मखमली र बाँकी गोदावरी मालाको खपत हुने अनुमान गरिएको उनले जानकारी दिए । तिहारमा सबैभन्दा धेरै सयपत्री मालाको खपत हुने गर्छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, रामेछाप, ओखलढुङ्गालगायतका जिल्लाबाट काठमाडौं उपत्यकामा फूल तथा माला भित्रिने गरेको छ । यसैबीच काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्रीरवितरणलाई व्यवस्थित गर्न महानगरपालिका क्षेत्रभित्रका ४६ वटा ठाउँमा बिक्री÷वितरणको व्यवस्थापन गरेको छ ।
प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्रीरवितरणमा रोक लगाउँदै महानगरले स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गर्न यस्तो व्यवस्था गरेको जनाएको छ । गएको वर्ष पनि महानगरपालिकाले प्रदर्शनीमार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती करिडोरमा फूल बिक्री गर्ने ठाउँ मिलाएको थियो । त्यस्तै व्यापारीलाई प्लास्टिकजन्य फूल तथा अन्य सजावटका सामग्री बिक्रीरवितरण नगर्न महानगरले अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया