सुखानी घटनाकोे योद्धाहरूका तस्वीर अङ्कित हुलाक टिकटमा सभामुखले लगाए टाँचा
काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापाको सुखानी घटनाका योद्धाहरूका तस्वीर अङ्कित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाएका छन्।
झापाका किसानमाथिको शोषण र दमनका विरुद्ध विसं २०२८ मा युवा विद्यार्थीहरूले गरेको विद्रोहलाई तत्कालीन पञ्चायती शासकद्वारा दमन र धरपकड गर्ने क्रममा जेलमा राखिएकामध्ये पाँच युवालाई सुखानी जङ्गलमा हत्या गरिएको थियो।
झापाको चन्द्रगढीस्थित जेलबाट इलाम लैजाने बहानामा विसं २०२९ फागुन २१ गते साँझ सुखानी जङ्गलमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई गोली हानी हत्या गरिएको थियो।
उनीहरूको बलिदानीप्रति नेपालको कम्युनिष्ट आन्दोलनमा उच्च आदरसहित सम्मान गरिँदै आइएको छ। सङ्घीय सरकारले उनीहरूलाई विसं २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो।
यसअघि विसं २०४६ को जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक पीडित सहायता समितिले उनीहरूका परिवारलाई राहत उपलब्ध गराएको थियो।
सुखानी सहिदहरूको तस्वीर अङ्कित हुलाक टिकटको मूल्य १० तोकिएको छ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया