मनाङमा यार्सागुम्बा खोज्ने क्रममा भीरबाट लडेर एक युवाको मृत्यु

लमजुङ, २० वैशाख । मनाङमा यार्सागुम्बा जडिबुटी खोज्ने क्रममा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । मनाङको नार्पाभूमी गाउँपालिका–२ नाम्जेर्खमा यार्सागुम्बा खोज्न गएका धादिङको गंगाजमुना गाउँपालिकाका–१ का ३२ वर्षीय आकाश तामाङको भीरबाट लडेर मृत्यु भएको हो ।
शुक्रबार भीरबाट लडेर मृत्यु भएका तामाङको अहिलेसम्म शव निकाल्न नसकिएको मनाङ प्रहरीले जानकारी दिएको छ । चामेबाट कम्तिमा १० घण्टाको पैदल धुरीमा घटनास्थल रहेको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।
शव निकाल्नका लागि नेपाली सेना, नेपाल प्रहरी र सशत्र प्रहरीको संयुक्त टोली घटनास्थलतर्फ गएको छ । संयुक्त टोली हुलाकी ओडार पुगेको सहायक प्रजिअ अर्यालले जानकारी दिए । त्यहाँबाट थप पाँच घण्टा हिँडेपछि घटनास्थल पुग्न सकिने उनले बताए । घटनास्थल पुग्नका लागि बाटो एकदमै गाह्रो भएकाले सुरक्षाकर्मी टोली डोरीमा झण्डिएर यात्रा गरिरहेको सहायक प्रजिअ अर्यालले बताए ।
मनाङका लेक तथा खर्कहरुमा वैशाख दोस्रो हस्ताबाट यार्सागुम्बा सङ्कलन सुरु भएको थियो । यार्साको समय असार अन्त्यसम्मै रहने गर्छ । समय मिलाएर साइत हेरेर मनाङका विभिन्न ठाउँमा यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिइन्छ ।
यस सिजनको पहिलो यार्सागुम्बा सङ्कलनका लागि नासोँ गाउँपालिकाको नाम्ग्या लेकबाट सुरु गरिएको थियो । विगतका वर्षहरूमा भएका घटनाबाट पाठ सिक्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले मनाङले जनाएको थियो ।
यार्सा सङ्कलनका क्रममा चोरीडकैति तथा झैझगडा नहोस भनेर सुरक्षा चनाखो गरिएपछि भवितव्य रोक्न नसकिने प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए । उहाँले सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै अप्रिय घटना हुनबाट सजगता अपनाइरहिएको बबताए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया