Techie IT
Samayabaddha
आईतबार, २१ वैशाख, २०८२

नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने र कान्ति लोकपथ अवरुद्ध


काठमाडौं । पानी परेका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने र कान्ति लोकपथको हेटौँडा–काठमाडौं सडक अवरुद्ध भएका छन् । नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेकाले यो सडकको नवलपरासी दाउन्ने क्षेत्रमा बाटो चिप्लो हुँदा गाडी रोकिएका छन् ।

वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । उनले सडक चिप्लो भएर पूर्ण रूपमा सडक अवरुद्ध हुँदा यात्रा गर्ने यात्रु र गाडीलाई सकेसम्म वैकल्पिक सडकबाट यात्रा गर्न आग्रह गरेका छन् । सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ देखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गर्ने गरिएको छ । दाउन्नेमा यतिबेला गाडीको लामो लाइन छ ।

यस्तै हेटौँडा–काठमाण्डौ जोड्ने कान्तिलोकपथ पनि अवरुद्ध छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार डाइभर्सन बगाएपछि आज बिहान ६ बजेदेखि नै गाडीको आवतजावत रोकिएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरीले हेटौँडा–काठमाण्डौ यात्रामा यात्रु र गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट