Techie IT
Samayabaddha
आईतबार, २१ वैशाख, २०८२

श्रीमतीदेखि मामाससुराका नाममा २ करोड ऋण निकालेर फरार सहकारीका पूर्वअध्यक्ष पक्राउ


झापा । सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा बिर्तामोडमा रहेको पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक बिजय श्रेष्ठले खनाललाई धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी दिए । खनाललाई आजै जिल्ला अदालत झापामा उपस्थित गराइने उनको भनाइ छ ।

खनालले विसं २०७८ भदौ २३ गते आफू, श्रीमती, भाइ, बहिनी र मामाससुराका नाममा २ करोड ६ लाख ८ हजार ३ सय ८३ रुपैयाँ ऋण निकालेर फरार भएका थिए । विसं २०७८ कात्तिक १६ गते संस्थाका उपाध्यक्ष टकप्रसाद भेटवालले खनालविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएका थिए ।

पातालग्गा सहकारीमा १ हजार ५ सय जनाभन्दा धेरै सदस्य छन् । सदस्यको बचत हिनामिना गरेर खनाल फरार भएपछि त्यसपछि अध्यक्ष चयन भएका युवराज गिरीले निजी घरजग्गा बैंकमा धितो राखेर निकालेको पैसाले बचतकर्ताको रकम फिर्ता भइरहेको बताए ।

झापा जिल्ला अदालतबाट विसं २०७९ मङ्सिर १४ गते यस मुद्दाका ५ जना आरोपीका नाममा हाजिर हुन आउने म्याद जारी भएको थियो । खनालकी बहिनी बिर्तामोड नगरपालिका–२ निवासी गोमा खनाल भण्डारी र मामाससुरा भद्रपुर नगरपालिका–८ निवासी अनन्तजीवन लुइँटेल पक्राउ परेका थिए ।

अदालतको आदेश बमोजिम १ लाख ५० हजार धरौटीमा गोमा खनाल भण्डारी र ७५ हजार रुपैयाँ धरौटीमा अनन्तजीवन लुइँटेल तारेखमा छुटेका थिए । अहिले खनालकी श्रीमती कमलादेवी भट्टराई र भाइ सीताराम खनालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

झापामा सहकारीको बचत अपचलन गरेको अभियोगमा पक्राउ परेका अन्य सहकारीका सञ्चालक तथा कर्मचारीविरुद्ध पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । बिर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको शिवगञ्जमा रहेको सेवा केन्द्रका प्रमुख जीवन भुजेललाई ३ करोड ३५ लाख ४ सय रुपैयाँ हिनामिना गरेको अभियोगमा गएको चैतमा प्रहरीले पक्राउ गरेको थियो । भुजेलविरुद्ध सम्बन्धित सहकारीले नै प्रहरीमा जाहेरी दिएको थियो ।

यसैगरी शिवसताक्षी नगरपालिका–३ मा रहेको उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाल र व्यवस्थापक मित्रलाल भट्टराई सहकारीको बचत अपचलन गरेको अभियोगमा गएको कात्तिकमा पक्राउ परेका थिए ।

अध्यक्ष खनाल र व्यवस्थापक भट्टराईले मिलेमतोमा सहकारीमा सर्वसाधारणले राखेको बचत १ रु एक करोड ३९ लाख ७ सय ७० रुपैयाँ हिनामिना गरेको भनी प्रहरीमा जाहेरी परेको थियो । अहिले यो मुद्दा झापा जिल्ला अदालतमा विचाराधीन रहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट