Techie IT
Samayabaddha
आईतबार, २८ वैशाख, २०८२

काठमाडौंको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष रुपमा मनाइने


काठमाडौं । काठमाडौंस्थित बौद्धनाथ क्षेत्रविकास समितिले यस वर्षको बुद्ध जयन्ती विशेष कार्यक्रम गरी मनाउने भएको छ । यही वैशाख २९ गते २५ सय ६९ औँ बुद्ध जयन्तीमा विशेष धर्मगुरुहरुको सहभागिता समेत रहने भएकाले यस अघिको नियमित बुद्धजयन्ती भन्दा विशेष र महत्त्वपूर्ण बनाइने समितिले जनाएको छ ।

बुधबार बौद्धनाथ क्षेत्र विकास समितिले पत्रकार सम्मेलन गर्दै बुद्ध जयन्तीको तयारी बारे जानकारी गराएको छ । बुद्ध जयन्तीका लागि ७७ वटा संघ संस्थाहरू समेत सहभागी गराई मूल समारोह समिति गठन गरिएको जानकारी दिइएको छ ।

बुद्ध जयन्तीका अवसरमा मुख्य लामाका रूपमा निधिपति नाम्खा रिम्पोर्छे र क्याब्जे ज्याटुल रिम्पोर्छेको उपस्थिति रहने भएकाले यो पटकको बुद्ध जयन्ती विशेष हुन लागेको बौद्धनाथ क्षेत्रविकास समितिका अध्यक्ष राजकुमार लामाले बताएका छन् ।

उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ । उक्त दिन चाबहिलस्थित महांकालचौर देखि तिनचुली हुँदै बौद्ध महास्तुपा परिक्रमा गर्दै हायात चौरमा पुगेर समापन हुने गरी शान्ति रयाली आयोजना गरिने पनि जानकारी दिइएको छ ।

समितिका कार्यकारी निर्देशक मोहनकुमार तामाङले उक्त दिन रयोलीमा ५ हजार बौद्ध धर्मावलम्बीहरुलाई सहभागी गराउने योजना सुनाए । सो दिन हायात चौरमा आयोजना हुने औपचारिक कार्यक्रममा पूजापाठका साथै भगवान् बुद्धको अस्थि धातु दर्शन र गुरु दर्शनको व्यवस्थापन समेत समितिले गर्ने भएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट