Techie IT
Samayabaddha
बिहीबार, २५ वैशाख, २०८२

४ सचिव र १६ सहसचिव असार मसान्तसम्म अनिवार्य अवकाशमा जाँदै


काठमाडौं । यस आर्थिक वर्ष (आगामी असार मसान्तसम्म) सचिव (विशिष्ट श्रेणी)मा कार्यरत ४ जना र सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी)का १६ कर्मचारी अनिवार्य अवकाशमा जाँदैछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखाना (निजामती)का अनुसार यही आर्थिक वर्षमा सचिव र सहसचिव गरी २० जना कर्मचारी अनिवार्य अवकाशमा जान लागेका हुन् ।

किताबखानामा ‘आ।व २०८१/८२ मा अनिवार्य अवकाश हुने अनुमानित कर्मचारीहरूको नामावलीमा उपल्लो तहका २० कर्मचारी अनिवार्य अवकाशमा जान लागेको उल्लेख छ ।

प्रशासन सेवाका विनोदप्रकाश सिंह आजैबाट अवकाश भएका छन् । उनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए ।

अवकाशमा जान लागेका सचिवहरूमा प्रशासन सेवाका एक, न्याय सेवाका एक, संघीय संसद् सेवाका एक र परराष्ट्र सेवाका एक जना छन् ।

किताबखानाको नामावलीमा उल्लेख भए अनुसार प्रशासन सेवाका गणेशप्रसाद पाण्डे यही वैशाख ३० गते अनिवार्य अवकाशमा जाँदैछन् । पाण्डे अहिले महालेखा नियन्त्रक कार्यालयको महालेखा नियन्त्रकमा कार्यरत छन् ।

न्याय सेवाका सचिव उदयराज सापकोटा आगामी जेठ २८ गते अनिवार्य अवकाशमा जाँदैछन् । उनी कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवका रूपमा काम गरिरहेका छन् ।

संघीय संसद् सेवाका सचिव सुदर्शन खड्का आगामी जेठ ३० गते अनिवार्य अवकाशमा जाँदैछन् । उनी अहिले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा काम गरिरहेका छन् ।

परराष्ट्र सेवाकी सचिव सेवा लम्साल आगामी असार ५ गते अनिवार्य अवकाशमा जाँदैछिन् । उनी यसअघि नै सचिवबाट राजीनामा दिएर बेल्जियमको राजदूत भएर गइसकेकी छन् ।

त्यस्तै यो आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाने सहसचिवहरूमा प्रशासन सेवाका ८ जना, इन्जिनियरिङ सेवाका ६ जना तथा परराष्ट्र सेवा र न्याय सेवाका एकरएक जना सहसचिवहरू अनिवार्य अवकाशमा जाँदैछन् ।

  • असार मसान्तसम्म अवकाशमा जान लागेका सचिव र सहसचिवहरू

sachib-list

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट