पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा सडक अवरुद्ध

काठमाडौं । पूर्व पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेपलाञ्चोकमा सडक अवरुद्ध भएको छ ।
गएराति नवलपरासीको कावासोती–दुम्कीवास खण्डको बीचमा पर्ने चोरमारा पुल भासिएपछि पूर्व–पश्चिम राजमार्गमा यातायात ठप्प भएको हो । ठूलो ट्रक पार गर्ने क्रममा पुल भासिएको प्रहरीले जनाएको छ ।
फलामे पुल भासिएपछि पूर्व–पश्चिम हिँडेका सयौं यात्रु र गाडी चोरमारा र अरुणखोलामा रोकिएका छन् । यसअघि दुम्कीवासको फलामे पुल पनि भाँचिएको थियो ।
यसैबीच वर्षाले डाइभर्सन बगाउँदा काभ्रेपलाञ्चोकको बीपी राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको माम्ती खोला नजिकै डाइभर्सन बगाएको छ ।
डाइभर्सन बगाएपछि बीपी राजमार्ग भएर आवतजावत गर्ने गाडी रातिदेखि नै रोकिएको छ । पूर्वबाट आएका गाडीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाण्डौबाट गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नमोबुद्ध नगरपालिका–६ र रोशी ७ जोड़ने हिमपाइप राखेर बनाइएको सडक पनि बाढीले बगाएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया