गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेलविरुद्धको रिट सर्वोच्चमा दरपिठ

काठमाडौं, २ जेठ । सर्वोच्च अदालत प्रशासनले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । सिफारिस समितिबाट राजीनामा दिएसँगै पौडेलविरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका थिए । बुधबार र बिहीबार दर्ता नभएको रिट शुक्रबार सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपिठ गरिदिएका हुन् ।
पौडेलको नाम सिफारिस समितिले प्रस्ताव नगरेको, उनको राजीनामा सार्वजनिक सरोकारको विषय भएकोबारे रिटकर्ताले खुलाउन नसकेकोसहित कारण दिएर सर्वोच्च प्रशासनले रिट खारेज गरिदिएको हो । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले रिट दरपिठ भएको पुष्टि गरे ।
“गभर्नर सिफारिस समितिले उहाँलाई सिफारिस गरिसकेको अवस्था देखिएन, समाचारमा आएकै भरमा आएहको रिट अपरिपक्व देखिएको भन्ने छ,” पाण्डेले भने, “सामूहिक अधिकारको हनन् भयो भन्ने कुरा उल्लेख रहेछ । तर, कसरी हनन् भयो भन्ने खुलाउन नसकेको भनिएको छ ।”
रिटमा राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधिसभा सदस्यको उमेदवार रहेकाले पौडेललाई गभर्नर बनाउन नहुने उल्लेख थियो । तर, नेपाली कांग्रेसले पौडेलले २०८० सालमै चीनको एक विश्वविद्यालयमा पढाउन जानुअघि राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने सर्तका कारण राजीनामा दिइसकेको बताएको छ ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया