धादिङको उत्तरी क्षेत्रमा पनि राधे समूह सक्रिय : अस्पतालमै युवामाथि खुकुरी प्रहार

धादिङ । गुण्डागर्दी, हप्ता असुली र अपराधमा चर्चित नाम हो, राधाकृष्ण भण्डारी उर्फ राधे । कुनै समय दिनेश अधिकारी चरिलाई गोली प्रहार गरेको घटनामा जेल समेत बसेर आएका राधे हिजो आज काठमाडौं आउँदैनन् । उनी धादिङमै गुण्डागर्दी मार्फत ठेक्का पट्टा हत्याउने व्यवसायमा छन् । जेलभित्रै रहेका समिरमान बस्नेतसँग केही महिनाअघि खटपट भए पनि जेलभित्रैबाट १० लाख रुपैयाँ पठाइदिएपछि राधेले बाहिरबाट समिरमानको धन्दा समेत सम्हालिरहेका छन् । उनै राधे समूहले धादिङको निकै दुर्गम मानिने उत्तरी क्षेत्रमा समेत सक्रियता बढाएको छ । राधे समूहका गुण्डा नाइके राम अकिल सिंह गुरुङसहितका व्यक्तिले गत वैशाख २६ गते राति अशोक समूहमा रहेका विवस तामाङ र अशोक तामाङका छोरामाथि खुकुरी प्रहार गरेको छ । यसअघि कर्तव्य ज्यान मुद्दामा समेत कैद सजाय भागेर बाहिर आएका अमर तामाङ, झ्याप्ले भन्ने अमर तामाङ, राम अकिल सिंह गुरुङ, सौजल गुरुङ र प्रविन कटुवालको समूहले खुकरी प्रहार गरेको स्थानीयले बताएका छन् ।
सुत्केरी महिलालाई उपचारका लागि खनियावास गाउँपालिका ४ दार्खास्थित स्वास्थ्यचौकीमा पुगेका दुई युवामाथि खुकुरी प्रहार भएको घटना सार्वजनिक भएको छ । खुकुरी प्रहारबाट विवस तामाङ गम्भीर घाइते भएको पाइएको छ । स्थानीयबासीका अनुसार गत वैशाख २६ गते राति ११ बजेर ३५ मिनेट जाँदा विवसमाथि खुकुरी प्रहार भएको हो ।
घटनाबारे प्रतिक्रियाका लागि जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सुवास हमाललाई प्रतिक्रिया माग्दा जाहेरी आएको स्विकार गरे ।
घाइते तामाङको उपचारका लागि धादिङ हुँदै काठमाडौं ल्याइएको छ । काठमाडौंमा सिटिस्क्यान र एमआरआई गरिएको रिपोर्टमा देखिन्छ । घटनापछि पीडित परिवारले अभियुक्तहरु विरुद्ध किटानी जाहेरी समेत दिए पनि प्रहरीले त्यसलाई गम्भीरतापूर्वक अनुसन्धान नगरी पक्राउ नगरेको पीडित परिवारको गुनासो छ । यद्यपि डीएसपी हमाल भने आफूहरुले अनुसन्धान गरिरहेको र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि प्रहरी निरिक्षकको नेतृत्वमा कमाण्ड नै पठाउने तयारी रहेको बताए ।
राधे समूहमा रहेका राम अकिल सिंह र झ्याप्ले भनिने अमर तामाङ खुंखार अपराधमा संलग्न छन् ।
२०६९ मंसिर १८ गते भीषण सिंखडासहितको समूहमा रहेका यो घटनामा समेत फरार रहेका अमर लामा समेतका व्यक्तिहरुले स्थानीय विजय तामाङको हत्या गरेका थिए । विजय समर्थित समूहले घटना भएको १२ घण्टा नबित्दै भिषण सिंखडाको अपहरणपछि हत्या गरेको थियो । यो घटना सार्वजनिक भएपछि धादिङको खनियाबासमा हत्याको बदला हत्याले लिने गरेको तथ्य बाहिर आएको थियो । भिषण हत्यापछि फरार रहेको समूहले नै सत्यदेवी गाविस ३ स्थित गंगालाल तामाङको हत्या गरेका थिए । २०६७ कार्तिक १ गते दार्खाकै स्थानीय एमाले नेता शिव थापाको हत्या भएको थियो । प्रहरीले घटनालाई समयमै अनुसन्धान गरी कारबाही गर्न नसक्दा यो क्षेत्रमा अपराधको घटना बढ्दो छ ।
उत्तरी क्षेत्रमा राधेको संलग्ताले अपराधको झनै जोखिम
उत्तरी क्षेत्रमा राधे समूह सक्रिय भएपछि खनियाबास गाउँपालिका थप अपराधको संभावना बढेको छ । यो समूह सक्रिय भएसँगै एक अर्कामाथि बदलाको भावले उत्रने संभावना बढेको स्थानीयवासीहरु बताउँछन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया