Techie IT
Samayabaddha
शनिबार, १७ जेठ, २०८२

सिन्धुलीमा एक क्विन्टल गाँजासहित गिरोह पक्राउ, राजनीतिक संरक्षणको आशंका


सिन्धुली । सिन्धुलीको कपिलकोटमा करिब एक क्विन्टल गाँजासहित प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । इलाका प्रहरी कार्यालय, कपिलकोटले बुधबार राति चेकजाँचका क्रममा उक्त गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय, सिन्धुली ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनासम्बन्धी थप विवरण आज आयोजना गरिने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ । प्रारम्भिक अनुसन्धानमा यो कारोबार सानो गिरोहको मात्र नभई ठूलो सञ्जाल र सम्भवतः राजनीतिक तथा प्रशासनिक संरक्षणमा भइरहेको आशंका उब्जिएको छ ।

एक अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले नाम नखुलाउने सर्तमा भने, “यो केवल केही व्यक्तिको संलग्नता रहेको मामिला होइन, पछाडि राजनीतिक संरक्षणसहितको ठूला नामहरूको संलग्नता देखिन्छ ।”

यसअघि पनि मकवानपुरबाट बर्दिवासतर्फ फल्स बटम प्रयोग गरी तस्करी गरिँदै गरेको सय क्विन्टल गाँजा इलाका प्रहरी कार्यालय, भिमानले नियन्त्रणमा लिएको थियो । उक्त घटनामा समेत ठूला नामहरू जोडिए पनि अनुसन्धान निष्कर्षमा नपुग्दा शंका अझै बलियो बनेको छ ।

स्थानीय बासिन्दाहरूका अनुसार सिन्धुली, मकवानपुर र बर्दिवास क्षेत्र लागूऔषध तस्करीका कनेक्टिङ प्वाइन्टका रूपमा प्रयोग हुँदै आएका छन् । “हामी नियमित निगरानी गरिरहेका छौं तर ठूला नामहरू मुछिँदा कारबाहीमा ढिलाइ हुने गरेको छ,” एक सुरक्षा स्रोतले बताए ।

बालिकामाथि बलात्कारको आरोपमा चार किशोर पक्राउ

गणतन्त्र दिवसको अवसरमा सरकार, नागरिक समाज तथा राजनीतिक दलहरू विभिन्न कार्यक्रममा व्यस्त रहेका बेला सिन्धुली प्रहरीले भने बालिकामाथि बलात्कारको आरोपमा चार किशोरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कमलामाई नगरपालिका–६ र ७ मा अध्ययनरत दुई बालिकाले दिएको सूचनाका आधारमा चार किशोरलाई नियन्त्रणमा लिइएको हो । घटनामा संलग्न भनिएका किशोरहरूलाई अनुसन्धानका लागि ल्याइएको र बलात्कृत भनिएकी एक बालिकालाई थप उपचार तथा अनुसन्धानका लागि काठमाडौं पठाइएको जनाइएको छ ।

स्थानीयवासीले घटनाबारे जानकारी दिँदै पीडित र आरोपितहरूको नाम नखुलाइए पनि प्रहरी अनुसन्धान जारी रहेको बताएका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट