Techie IT
Samayabaddha
शुक्रबार, २३ जेठ, २०८२

सार्वजनिक यातायात संचालनमा आएसँगै काठमाडौंको सडकमा चहलपहल


काठमाडौं । पछिल्लो केही दिनदेखि बन्द रहेको सार्वजनिक यातायात आजदेखि पुनः सञ्चालनमा आएपछि काठमाडौंका सडकहरूमा चहलपहल देखिन थालेको छ । सार्वजनिक यातायात बचाउ संघर्ष समितिले आन्दोलन फिर्ता लिएको घोषणा गरेसँगै पुनः बस, माइक्रो, टेम्पो तथा अन्य सार्वजनिक सवारीहरू चल्न थालेका हुन् ।

गत हप्ता गण्डकी प्रदेश सरकारले लागू गर्न लागेको सार्वजनिक यातायात सम्बन्धी नयाँ नियमावलीका विरुद्धमा समिति आन्दोलित बनेको थियो । आन्दोलनका कारण काठमाडौंसहित अन्य ठूला शहरहरूमा यातायात ठप्प हुँदा यात्रुहरू निकै हैरान भएका थिए ।
तर केन्द्र सरकारको आदेशपछि गण्डकी प्रदेश सरकारले सो नियमावली स्थगन गर्ने निर्णय लिएपछि व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका हुन् ।

यद्यपि यस घटनाले संघीयताको कार्यान्वयन र प्रादेशिक स्वतन्त्रताको विषयमा पुनः बहस जन्माएको छ । गण्डकी प्रदेश सरकारले संघीय सरकारको निर्देशनलाई मान्दै आफ्नै निर्णय स्थगन गर्नु परेको अवस्थालाई कतिपय विश्लेषकहरूले ‘संघीयताको अवसानतर्फको संकेत’ भनेका छन् । उनीहरूका अनुसार प्रदेश सरकार संघ सरकारको निर्देशनविना कुनै ठोस निर्णय लिन सक्दैन भन्ने मनोविज्ञानले प्रदेशको गरिमा नै समाप्त गर्ने खतरा देखिएको छ ।

संघीयता भनेको स्वशासन र आत्मनिर्णयको सिद्धान्तमा आधारित शासन प्रणाली हो । तर व्यवहारिक अभ्यास भने त्यसो हुन सकेन ।

गण्डकी प्रदेशका एक मन्त्रीले भने, “जनताको असहजता र सवारी क्षेत्रका प्रतिनिधिहरूसँग संवादमार्फत समाधान खोज्नु हाम्रो प्राथमिकता हो । त्यसैले संघ सरकारको आदेशलाई स्वीकार गर्दै नियमावली स्थगन गरिएको हो ।”

सार्वजनिक यातायात पुनः सञ्चालनमा आउनु यात्रुहरूका लागि राहतपूर्ण समाचार भएको छ । लामो समय हिँडेर गन्तव्य पुग्न बाध्य भएका सर्वसाधारण आज बिहानदेखि सहज रूपमा गन्तव्य पुग्न सकिरहेका छन् ।

ट्राफिक प्रहरीका अनुसार बिहानैदेखि प्रमुख सडक खण्डहरूमा यातायात बाक्लो देखिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट