संविधानिक अंगमा गरिएको ५२ नियुक्तिको विषयमा सर्वोच्च अदालतको फैसला आज हुने

काठमाडौं। संविधानिक अंगहरूमा गरिएको ५२ नियुक्तिको वैधता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज (बुधबार) फैसला सुनाउने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) लगायत विभिन्न संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीहरूको नियुक्ति विरुद्ध परेको रिटमाथि आजको लागि फैसला तोकिएको हो।
सर्वोच्च अदालतको संविधान इजलासले गत वैशाख २ गते अन्तिम सुनुवाइ सम्पन्न गरेपछि आजको मितिमा फैसला सुनाउने तयारी गरेको हो। चार वर्षभन्दा बढी समयपछि यो मुद्दामा अन्तिम निर्णय आउन लागेको हो।
प्रमुख न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित इजलासले माघ २८ गतेदेखि निरन्तर सुनुवाइ गर्दै आएको थियो। इजलासले सम्बद्ध पक्षलाई जेठ १७ गतेभित्र लिखित बहस बुझाउन निर्देशन पनि दिएको थियो।
मुद्दाको केन्द्रमा रहेको यो नियुक्ति प्रक्रिया तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मङ्सिर र २०७८ जेठमा अध्यादेशमार्फत् गरेको थियो। उक्त निर्णयअनुसार ५२ जना विभिन्न संवैधानिक पदमा नियुक्त भएका थिए।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले सर्वोच्च अदालतमा रिट दायर गरी नियुक्ति प्रक्रिया असंवैधानिक भएको दाबी गरेका थिए।
सम्बन्धित बैठक प्रधानमन्त्री ओलीको अध्यक्षतामा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउबाको अनुपस्थितिमा सम्पन्न भएको थियो। उक्त बैठकमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनामात्र सहभागी थिए।
यस नियुक्तिले संविधानिक परिषद् सम्बन्धी मापदण्डको उल्लङ्घन गर्दै गरिएको भन्दै आलोचना भइरहेको थियो। अब अदालतको फैसला आएपछि यी नियुक्तिको वैधता टुंगो लाग्नेछ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया