सातै प्रदेशको आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । संविधानमा व्यवस्था गरिएको कानुनी प्रावधानअनुसार देशका सातवटै प्रदेश सरकार आज असार १ गते आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट सार्वजनिक गर्ने तयारीमा जुटेका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालयहरूद्वारा तय गरिएको कार्यतालिकाअनुसार सातै प्रदेशसभामा आज बजेट प्रस्तुत हुने भएको हो ।
सबैको प्राथमिकता कृषि, रोजगारी र पर्यटन
पछिल्ला वर्षहरूमा बजेट कार्यान्वयनमा देखिएको कमजोरी स्थितिका कारण अधिकांश प्रदेश सरकारले यो वर्ष बजेटको आकार उल्लेख्य रूपमा नबढाउने संकेत गरेका छन् साथसाथै उनीहरुले बजेट कार्यान्वयन सुधारमा ध्यान दिइने जनाएका छन् । प्रायः सबै प्रदेशले कृषि, रोजगारी सिर्जना, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेकोले बजेटका कार्यक्रम पनि त्यसैमा केन्द्रीत हुने अपेक्षा गरिएको छ ।
कोशी प्रदेशः पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटनमा जोड
कोशी प्रदेश सरकारले पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटनलाई बजेटको मुख्य प्राथमिकतामा राख्ने तयारी गरेको छ । गत वर्ष ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको कोशी प्रदेशले यस वर्ष समावेशी र व्यावहारिक बजेट प्रस्तुत गर्ने बताएको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आज दिउँसो ३ बजे प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
मधेश प्रदेशः कृषिमा जोड
मधेश प्रदेश सरकारले यस वर्षको बजेटमा कृषि क्षेत्रमा आमूल सुधार र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकता दिने योजना बनाएको छ । कृषि उत्पादनमा आधुनिकिकरण, कृषकको जीवनस्तर सुधार तथा स्थानीय तहमा रोजगारी अवसर सृजना गर्ने कार्यक्रमलाई बजेटमार्फत अघि बढाउने तयारी गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
बजेट प्रस्तुतिका लागि मधेश प्रदेशसभाको बैठक आज दिउँसो ४ बजे बस्ने छ । आगामी आर्थिक वर्षको लागिएको मधेस सरकारले ४६ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको स्रोतले जनाएको छ । मधेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभामा बजेट प्रस्तुत गर्नेछन् । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४३ अर्ब ८९ करोड ७० लाख रुपैयाँको बजेट ल्याएको थियो ।
बागमती प्रदेशः सबैभन्दा ठूलो बजेटको तयारी
गत वर्ष ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको सबैभन्दा ठूलो बजेट ल्याएको बागमती प्रदेशले यस वर्ष पनि तुलनात्मक रूपमा ठुलो बजेट प्रस्तुत गर्ने भएको छ । पर्यटन र कृषिलाई प्राथमिकतामा राखी आन्तरिक उत्पादन वृद्धिको लक्ष्य राखिएको बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले आज दिउँसो ३ बजे बजेट प्रस्तुत गर्नेछन् ।
गण्डकी प्रदेशः आत्मनिर्भरतामा जोड
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट ल्याउन दिउँसो ४ बजे प्रदेशसभाको वैठक बस्ने जनाएको छ । प्रदेश सभामा आर्थिक मामिला मन्त्री टकराज गुरुङले बजेट प्रस्तुत गर्नेछन् ।
गण्डकीमा आगामी आर्थिक वर्षका लागि साढे ३२ अर्ब आसपासको बजेट प्रस्तुत गर्ने तयारी छ । सरकारले चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
गण्डकी प्रदेश सरकारले आत्मनिर्भर प्रदेश निर्माणका लागि आधार तयार गर्ने खालको बजेट ल्याउने जनाएको छ । आन्तरिक स्रोत परिचालन, घरेलु उत्पादन र स्थानीय पूर्वाधार विकासमा लगानी गर्ने गरी बजेट निर्माण गरिएको स्रोतले जनाएको छ । बजेटले गण्डकीको दीर्घकालीन आर्थिक योजना निर्माणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
लुम्बिनी प्रदेशः बजेट आकार घटाउँदै
गत वर्ष ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले यो वर्ष बजेट कटौती गर्दै करिब ३५ अर्बको बजेट मात्र ल्याउने तयारी गरेको छ । खर्च क्षमताको समीक्षा र कार्यान्वयनका कमजोरीलाई ध्यानमा राखी व्यावहारिक बजेट ल्याउन लागिएको स्रोतले जनाएको हो । कृषि, पर्यटन र पूर्वाधार विकास क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । बजेट आज दिउँसो ३ बजे प्रदेशसभा बैठकमार्फत प्रस्तुत गरिनेछ ।
कर्णाली प्रदेशः सीमान्तकृत वर्गमा केन्द्रित
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक न्याय, समावेशिता र सीमान्तकृत समुदायको जीवनस्तर सुधारमा जोड दिने बताएको छ । कठिन भौगोलिक अवस्थाले विकासका पूर्वाधार निर्माणमा चुनौती थपेपछि जनसंख्याको गुणस्तरीय जीवनमा प्रत्यक्ष असर पार्ने योजना अघि सारिएको मन्त्रालय स्रोतले छ । प्रदेशसभा सचिव जिवराज बुढाथोकीका अनुसार, बजेट आज दिउँसो ३ बजे प्रदेशसभामा पेश गरिनेछ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ मा ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
सुदूरपश्चिम प्रदेशः क्रमागत आयोजनामा केन्द्रित
सुदूरपश्चिम प्रदेश सरकारले क्रमागत योजना र बहुवर्षीय आयोजना सम्पन्नतामा बजेट केन्द्रित गर्ने रणनीति बनाएको छ । साथै, प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यका लागि ५ करोड रुपैयाँ र समानुपातिक सदस्यका लागि ३ करोड रुपैयाँका दरले बजेट कोटा व्यवस्था गरिने तयारी छ । आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालू आवमा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बजेट विनियोजन गरेको थियो ।
आगामी वर्षको बजेटमा सबै प्रदेशहरूले बजेट कम र उच्च कार्यान्वयनको नारा अघि सारेका छन् । प्रदेश सरकारले लक्षित क्षेत्रको पहिचान गरी सन्तुलित र व्यावहारिक बजेट ल्याउने प्रयास गरे पनि सफलताको आधार भनेको बजेटको प्रभावकारी कार्यान्वयनमै निर्भर रहनेछ । आगामी वर्षको आर्थिक समृद्धिको मूल आधार प्रदेशको योजनाबद्धता र कार्यान्वयन क्षमताले निर्धारण गर्नेछ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया