Techie IT
Samayabaddha
शनिबार, ७ असार, २०८२

संगीतका सिर्जनशील चित्रकार: नारायण दंगाल


शब्द र धुनको मधुर समायोजनमा एक समर्पित संगीतकारको कथा

संगीत भन्नासाथ हामीलाई कानमा बज्ने धुन मात्र होइन हृदयमा उतारिने अनुभूति पनि सम्झना आउँछ । यही अनुभूतिलाई धुन र स्वरमार्फत जीवन्त बनाउने एउटा सर्जक हुन्— नारायण दंगाल । उनी कम्पोजर वा एरेञ्जर मात्र होइनन्, उनी ती सर्जक हुन् जसले मौनतालाई बोल्न सिकाउँछन् । ध्वनिलाई भावनामा रुपान्तरण गर्छन र गीतलाई दिमागमा झङ्कार गराउँछन् ।

काठमाडौँको शहरी कोलाहलमा हुर्किए पनि ग्रामीण सौन्दर्यको सुमधुर सुवास उनको संगीतमा प्रचुर छ । उनले एरेञ्ज गरिएका गीतहरूमा कहिले काँठे भाका, कहिले नेवारको धिमेबाजा घन्किन्छ, कहिले गुरुङ मादलको ताल झङ्कृत हुन्छ । लोक र आधुनिकताको फ्युजन गर्न सक्ने उनको कलाले आजका श्रोतामा रमाइलो मात्र होइन आत्मीयता नै अनुवाद गराउँछ । गीतमा लयले कथा भनिरहेको हुन्छ र त्यो कथाको संरचनाकार हुन् नारायण ।

उनको साङ्गीतिक यात्रा कुनै आकस्मिक घटना होइन, यो लामो निरन्तर अभ्यास, संवेदनशीलता र धैर्यताको कथा हो । थुप्रै प्रसिद्ध गायकगायिकाका गीतहरूमा उनको संगीत र एरेञ्जको जादु लुकेको छ । स्वरूपराज आचार्य, शिव परियारका भावुक धुनदेखि प्रविसा अधिकारीका मधुर स्वरहरू, मणि थापा, जीवन शर्मा, माइला लामाका क्रान्तिकारी सन्देश बोकेका गीतहरूमा उनको कलाको छायाँ पाइन्छ । `आधी रातमा´, `ओ गणतन्त्र´, `चाहिदैन मलाई शिशाको महल´, `आउँदैछ समाजवाद´सहित १५/१६ सय जति उनले संयोजन गरिसकेका छन् । यी गीतहरू मनोरञ्जनको माध्यम मात्रै होइनन्, यी मनभित्रको अन्तर्मनको आवाज हुन् । यसमा नारायणको कम्पोज र एरेञ्जले आत्मा भरेको छ ।

नारायण दंगाल संगीत सिर्जना गर्दैनन्— उनी संगीतलाई जीवन्त बनाउँछन् । जस्तै राम्रो गीतकारले गीत लेख्दैन, उसले त शब्दसँग समवेदना बाँध्छ । उनले बनाउने धुनहरू कतिले त हामीलाई प्रकृतिमा सम्मोहित गराउँछन् । कतिले साहसिक वलिदानी गाथाहरू सम्झाउँछन, कतिले त अपूरो सपनाको विषयबारे झकझकाइ दिन्छन् भनृे कतिपयले प्रेमको विछोड गराएको स्मरण गराउँछ ।

आज डिजिटल प्रविधिले संगीतको स्वरुप बदलिरहेको छ । नारायण दंगाल भने मौलिकतालाई अंगाल्दै आधुनिकतालाई आत्मसात गर्दैछन् । उनी जस्तै सर्जकहरूको कारण नेपाली संगीत अझै पनि आत्मीय छ । नेपाली संगीत अझै पनि पहिचानयुक्त छ । र, नेपाली संगीत अझै पनि हाम्रो आफ्नोपनको सशक्त आवाजको रूपमा बाँचिरहेको छ ।

नारायण दंगालको संगीत कुनै चटक होइन— त्यो त एक शान्त झरनाको बगिरहेको पानी जस्तो हो । जुन मनमा गुञ्जिरहन्छ । स्मृतिमा बगिरहन्छ । अनि जीवनभर गुञ्जिरहन्छ ।

आफ्नो कर्मलाई आधा होइन, पूरा मनले अँगाल्दा असम्भव पनि सम्भव बन्न सक्छ भन्ने उनको विश्वास छ । उनी कामलाई केवल जीविकोपार्जनको साधनमात्र होइन पूजा नै गछर्न । यही समर्पणको भावनाले उनलाई आफ्नो यात्रामा अविचल बनाएको छ । दिनदिनै सफल बनिरहेका छन् ।


क्याटेगोरी : समाचार, साहित्य

प्रतिक्रिया


ताजा अपडेट