चौतर्फी दबाबपछि मन्त्री गुप्ताद्वारा राजीनामा, ओलीको नाकै मुनि भ्रष्टाचारको गन्ध, सुशासनको अलाप छताछुल्ल !

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।
मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताए ।
प्रधानमन्त्रीकै निकटस्थ भ्रष्टचारमा मुछिए
प्रधानमन्त्री केपी शर्मा ओलीका क्याबिनेटका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता भ्रष्टचार काण्डमा मुछिएका हुन् । उनले गत बैशाखमा सुशासन कायम गर्न भन्दै सरकारले प्रधानमन्त्री केपी शर्मा ओली कै नेतृत्वमा उच्चस्तरीय सुशासन आयोग गठन गरेको थियो । तर त्यसको केही समय वित्न नपाउँदै आफ्नै क्याबिनेटका मात्र होइन आफ्नै दल एमालेका पर्सा जिल्लाबाट सांसद बनेका मन्त्री गुप्ताको घुस मागेको अडियो सार्वजनिक भएपछि ओली सरकारको सुशासनको कुरा देखाउने दात भएको छ ।
मन्त्री गुप्ता मात्रै होइन् सार्वजनिक भएको अडियोमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको नामसमेत जोडिएको छ । मन्त्री अधिकारी पनि एमाले पार्टीबाटै मन्त्री बनेका व्यक्ति हुन् । मन्त्री गुप्ताले राजीनामा दिए पनि मन्त्री अधिकारीले राजीनामा दिएका छैनन् ।
आफ्नो नाकै मुनि आफ्नै पार्टीबाट मन्त्री बनेका दुई नेता मुछिएको अडियो सार्वजनिक भएपछि ओली सरकारको सुशासनको अलाप छताछुल्ल भएको छ । अडियोमा मन्त्री गुप्ताले आफैंले घुस मागिरहेको स्पष्ट रूपमा सुन्न सकिन्छ । मन्त्री गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएपछि अख्तियारबाट छानविन शुरु भएको भनिए प्रधानमन्त्रीको आडमा उनीहरुमाथि निस्पक्ष र स्वतन्त्र ढंगबाट अनुसन्धान होला भन्ने कुराको शंका उत्पन्न भइरहेको छ ।
आइतबार बसेको प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा सत्तारुढ दलका सांसदहरुले समेत मन्त्रीको आवाज सुनिएको अडियो प्रकरणको सत्यतथ्य बाहिर ल्याउन र मन्त्रीलाई कारवाही गर्न माग गरेका छन् ।
मन्त्रीमाथि कारबाहीको चौतर्फी दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओली ‘एक्सन’ लिने तयारी रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले अडियो सामाग्री अध्ययन गरी रिपोर्ट पेश गरेपछि कारबाहीको तयारी गरेको जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामशरण बजगाईँका अनुसार, “प्रधानमन्त्रीज्यू हाल काठमाडौं बाहिर हुनुहुन्छ । फर्किएपछि अडियोको सत्यता र तथ्यबारे बुझ्ने काम हुनेछ । त्यसपछि मात्र निर्णय हुन्छ ।”
अख्तियार दुरुपयोग आयोगमा मंगलबार भ्रष्टचार सम्बन्धी मुर्दा दर्ता भएको हो । दर्ता गरिएको उजुरीमा मन्त्री गुप्ताले कास्की जिल्ला मालपोत कार्यालयको प्रमुखको सरुवा तथा थमौती मिलाइदिने भन्दै ५३ लाख रुपैयाँ माग गरेको उल्लेख छ । यसैगरी भने भूमि आयोगको सदस्य बनाउन २५ लाख रुपैयाँ घुस मागेको अडियो प्रमाणसहित अख्तियारमा उजुरी परेको छ ।
मन्त्री गुप्ताले एक व्यापारीसँग जम्मा ७८ लाख रुपैयाँ डिल गरेको र उक्त वार्ताको अडियो रेकर्ड समेत अख्तियारमा बुझाइएको छ ।
सार्वजनिक भएको अडियोमा करिब १० मिनेट कुरा भएको सुन्न सकिन्छ । अडियोमा मन्त्री गुप्ता एक महिलासहितका बिचौलियासँग मालपोत प्रमुखको सरूवा रोक्ने र गण्डकी प्रदेशका एमाले नेता खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्तीका लागि घुस रकम माग गरिरहेको स्पष्ट सुनिन्छ ।
अडियोमा ‘सुजन’ नामका एक व्यक्तिसँग मन्त्रीले खेम पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्ने विषयमा आर्थिक लेनदेन गरिरहेको सुनिन्छ । सोही अडियोमा एक महिलाले समेत मन्त्रीलाई नियुक्ति र सरुवाका लागि दबाब दिइरहेको सुनिन्छ । यस प्रकरणमा दुई झोलाभरी रकम मन्त्रीले लिएको दाबी गरिएको छ । अख्तियारमा दर्ता भएको उजुरीमा पनि नोट नम्बर र फोटोसहित उजुरी दर्ता गरिएको छ ।
अडियोमा गुप्ताकी नातेदार भनिएकी ‘मेलिना’ नामक महिलामार्फत घुस रकम सङ्कलन भएको, रकम मन्त्री निवास मै ल्याउन गाडी नम्बर समेत निर्देश गरिएको उल्लेख छ ।
अडियोमा मन्त्रीले रकम दराजमा राखिएको र आफूले पूर्वमन्त्री रहेकी एक सांसदमार्फत पटकपटक रकम लिएको समेत उल्लेख गरिएको स्रोतले जनाएको छ ।
विवादमा तानिएका मन्त्री गुप्ता पर्सा जिल्लाबाट नेकपा एमालेबाट निर्वाचित भई संघीय सरकारमा मन्त्री बनेका हुन । उनी प्रधानमन्त्री ओलीनिकट पात्र मानिन्छन् ।
संसदमा चर्काे विरोध
यो प्रकरणलाई लिएर प्रतिनिधि सभामा पनि चर्काे बहस भएको छ । विपक्षी दलका सांसदहरू मात्र होइन, सत्तारुढ दलका केही सांसदहरूले समेत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था मन्त्रीको घुस ‘डिल’ सम्बन्धी समाचारहरु सार्वजनिक भएको भन्दै यसबारे प्रधानमन्त्रीले सदनमा जानकारी दिन माग गरे । उनले सुशासनका विषयमा बलियो कदम
चाल्नसमेत सरकारको ध्यानाकर्षण गराए । त्यस्तै माओवादी सांसदहरु रेखा शर्मा, सुदन किराती, ज्ञानु बस्नेत सुवेदी ले पनि सरकारले यसको छानविन गरी सत्यतथ्य सार्वजनिक र दोषीमाथि कारवाहीको माग गरे ।
रास्वपाकी सांसद सुमना श्रेष्ठले रास्वपाकी सांसद सुमना श्रेष्ठले पनि घुल डिल गरेको विषयमा छानबिन गर्न माग गरिन् । अडियोमा भनिएको ‘बा’बारे प्रष्ट हुनुपर्ने श्रेष्ठको भनाइ छ ।
श्रेष्ठले भनिन्, ‘कास्कीको कार्यालयमा को पठाउने भन्ने सेटिङ बाहिरिएको छ । किन भुमि विधेयक फस्टट्राकमा पारित गर्न खोजिएको बुझियो ? आफू अनुकुल मान्छे, आफु अनुकुल कानुन । एउटा मन्त्रिले अर्काे मन्त्रिलाई पोलेको छ । यसको छानबिनको हामी
माग गर्छाैं । ‘सम्बन्धित ठाउँ’ भनेको कसको ठाउँ हो, कुन ठाउँ हो ? अडियोमा भनिएको ‘बा’ को हुन् ।’
भिजिट भिषा प्रकरणमा उच्च स्तरीय छानबिनको माग गर्दै रास्वपाले आइतबार पनि संसद बहिस्कार गरेको छ ।
नेपाली कांग्रेससांसद गगन थापाले पनि अडियोमा मन्त्रीले बोलेका कुरालाई सामान्य रुपमा लिन नहुने भन्दै मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरे ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि संसदको मर्यादाबारे प्रश्न उठाउँदै अख्तियारमा उजुरी परेपछि प्रमाणीकरण भइसक्यो, अब कारबाही नगरी प्रधानमन्त्री चुप बस्न नमिल्ने बताए ।
सत्तारुढ दल नेकपा एमालेकी सांसद पद्मा अर्यालले यदि अडियो सत्य हो भने, पार्टीले समेत अनुशासनात्मक कारबाही गर्नु पर्नेमा ध्यानाकर्षण गराइन् ।
मन्त्री गुप्ताको प्रतिवाद
आरोपहरूप्रति प्रतिक्रिया दिँदै मन्त्री गुप्ताले आफूलाई उक्त घुस डिलको कुनै जानकारी नभएको दाबी गरेका छन् । उनले भनेका छन्– “मालपोत कार्यालय मेरो मन्त्रालयको मातहत पर्दैन । म आफ्नै जिल्लामा पार्टीकै मान्छेलाई पनि नियुक्त गर्न सकिन । अडियोमा सुन्निने आवाज मेरो होइन । यो चरित्र हत्या हो ।” उनले अख्तियारलाई निष्पक्ष छानबिन गर्न आग्रह पनि गरेका छन् ।
भूमि व्यवस्थामन्त्रीको पनि अस्वीकार
अडियोमा मन्त्री गुप्ताले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीको नाम पनि उल्लेख गरेका छन् । तर मन्त्री अधिकारीले भारतमा पारिवारिक कामका सिलसिलामा रहेका बेला प्रतिक्रिया दिँदै आफूले कुनै जानकारी नभएको र आफूलाई किन मुछिएको भन्ने पनि थाहा नभएको बताए । उनले भने “कसले के भन्छ भन्ने कुरामा म अनभिज्ञ छु । यो सामान्य प्रशासन मन्त्रीले के भनेका हुन्, थाहा छैन ।”
निष्कर्ष
संघीय मामिला मन्त्री गुप्तामाथि उठेको घुस प्रकरणले वर्तमान सरकारको सुशासनमाथि गम्भीर प्रश्न उठेको छ । यदि छानबिन निष्पक्ष र निष्कर्षमुखी भएन भने यस प्रकरणमा सत्ताको नेतृत्व तहकै संलग्नता र संरक्षण छ भन्ने कुरा पुष्टि हुने आधार बन्नेछ । अब प्रधानमन्त्रीको निर्णय र अख्तियारको निष्कर्ष नै निर्णायक हुनेछ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया