नेशनल लघुवित्त नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा आवद्ध
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा औपचारिक रूपमा आवद्ध भएको छ ।
यो सम्झौतापछि संस्थामा कार्यरत करिब ६ सय कर्मचारी कोषको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत पेन्सन तथा उपदान सुविधाबाट लाभान्वित हुने भएका छन् ।
सम्झौतामा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र नेशनल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले हस्ताक्षर गरेका छन् ।
नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको यो योजना संगठित संघसंस्था तथा ती संस्थामा कार्यरत कर्मचारीहरूको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले ल्याइएको हो । योजनामा सहभागी संस्थाले योगदानमा आधारित वा गैर–योगदानमा आधारित रूपमा आफ्ना कर्मचारीको लागि उपदान तथा पेन्सन व्यवस्थापन गर्न सक्ने प्रावधान छ ।
त्यसैअनुसार, ‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था रहेको नेशनल लघुवित्तले आफ्ना कर्मचारीको हितलाई ध्यानमा राख्दै उपदान योजनामा सहभागिता जनाएको हो ।
नेशनल लघुवित्तले हाल देशभरका ७४ जिल्लामा १८५ शाखा कार्यालयहरूमार्फत आफ्ना सेवा विस्तार गरिरहेको छ । यस संस्थाले करिब २ लाख ४१ हजार घर परिवारहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ, जसले ग्रामीण तथा अर्धशहरी क्षेत्रमा वित्तीय पहुँच अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवका अनुसार, “सामाजिक सुरक्षा मात्र होइन, कर्मचारीको मनोबल, स्थायित्व र दीर्घकालीन सेवामा निरन्तरताका लागि यो योजना महत्वपूर्ण हुनेछ । हामी यसलाई कर्मचारी हितका लागि गरिएको दीर्घकालीन रणनीतिक कदमका रूपमा लिएका छौं ।”
उता, नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले पनि योजनाको महत्व औंल्याउँदै भने, “देशका हरेक क्षेत्रमा कार्यरत श्रमिक र कर्मचारी वर्गलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु कोषको प्राथमिकता हो । निजी क्षेत्रका लघुवित्त संस्थाहरूको यस्तो सहभागिताले समग्र सामाजिक सुरक्षाको दायरा अझ विस्तार हुने छ ।”
नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको यो योजना विशेषगरी निजी तथा सहकारी क्षेत्रका संघसंस्थालाई लक्षित गरिएको छ । नेपालमा सामाजिक सुरक्षाको आवश्यकता झनै बढिरहेको छ ।
यस्तो सहभागिताबाट कर्मचारीको भविष्य सुरक्षित हुनुका साथै, निजी क्षेत्रका अन्य संघसंस्थालाई पनि योजनामा सहभागी हुन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया