प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीको दिल्ली यात्रा तय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको नेतृत्व गरेको १४ महिनापछि भदौ ३१ गते भारत भ्रमणको मिति निश्चित भएको छ । यसभन्दा अगाडि प्रधानमन्त्री ओलीले पटक पटक प्रयास गरे पनि भ्रमणको अवसर उनलाई मिलेको थिएन । उनले पराराष्ट्रमन्त्री डा. आराजु राणा तथा एमालेका प्रवक्ता समेत रहेका पूर्व पराराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई समेत भ्रमणको चाँजोपाँजोको लागि पटक पटक खटाएका थिए ।
प्रधानमन्त्री ओली दुई दिने औपचारिक भ्रमणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुग्नेछन् । उनको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय वार्ता तय भएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यो भ्रमण ओलीको हालसम्मको भारत भ्रमणहरूमध्ये सबैभन्दा छोटो हुनेछ । उनी भदौ ३१ मा दिल्ली पुगेर भोलिपल्ट अर्थात् असोज १ मा स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीको कार्यालय स्रोतका अनुसार यसपटकको भ्रमणले विगतका समझदारीहरूलाई निरन्तरता दिने र केही नयाँ परियोजनाहरू अगाडि बढाउने, सीमा व्यवस्थापनजस्ता विषयहरूमा पनि संवाद हुने जनाइएको छ ।
‘ठूला सम्झौतामा हस्ताक्षरको सम्भावना छैन तर दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउने प्रयास भने जारी रहने’, प्रधानमन्त्री निकट स्रोतले बतायो ।
प्रधानमन्त्री ओलीको निमन्त्रणालाई यसपटक भारतले स्वीकार गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी कात्तिकको पहिलो सातातिर नेपाल भ्रमणमा आउने संकेत देखिएको छ । यद्यपि, मोदी काठमाडौं नआई नेपालको कुनै धार्मिक, पर्यटकीय वा व्यापारिक क्षेत्रको छोटो भ्रमणमा सीमित हुने चर्चा पनि चलिरहेको छ ।
प्रधानमन्त्री ओली स्वयंले त्यही स्थानमा मोदीको स्वागत गर्ने तयारी गरिरहेको स्रोत बताउँछ ।
प्रधानमन्त्रीको भ्रमणअघि सीमा व्यवस्थापनसम्बन्धी गृहसचिवस्तरीय ‘बोर्डर वर्किङको बैठक पनि दिल्लीमा बस्नेछ । आइतबार उक्त बैठकको तयारीका लागि सम्बन्धित निकायले काठमाडौंमा आन्तरिक छलफल गरेको छ ।
यो बैठकले भविष्यका सीमा व्यवस्थापन सम्बन्धी संरचनागत तथा व्यावहारिक उपायहरूका बारेमा पनि छलफल चनाउने बुझिएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया