Techie IT
Samayabaddha
सोमबार, १९ साउन, २०८२

साना हिमतालको वृद्धिले बढाउँदैछ जोखिम


नेपालको हिमाली क्षेत्र जलवायु परिवर्तनको प्रत्यक्ष चपेटामा परेको छ । तापक्रम वृद्धिका कारण हिमनदीहरू पग्लिरहेका छन्, नयाँ हिमतालहरू बन्न थालेका छन् र ती हिमतालहरू फुटेर बाढी निम्त्याउने खतरा अहिले सतहमा देखा परेका छन् ।
ती तालहरूको असुरक्षित अवस्थिति, पूर्व–अनुगमनको कमी, र जलवायु परिवर्तनका प्रभावले गर्दा यिनले जनधनमा गम्भीर जोखिम बढाइरहेका छन् । साना हिमतालको विस्फोटबाट उत्पन्न हुने हिमबाढी ९न्ीइँ० न्बिअष्ब िीबपभ इगतदगचकत ँयियम० का घटना बारम्बार दोहोरिन थालेपछि वैज्ञानिक, नीति निर्माता र स्थानीय बासिन्दा सबै चिन्तित छन् ।

अहिलेको प्रवृत्ति यथावत रहेमा २१औं शताब्दीको अन्त्यसम्ममा हिमनदीजन्य विपद् तीन गुणाले बढ्ने देखिन्छ ।

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक तथा हिमनदी विज्ञ रिजनभक्त कायस्थका अनुसार नेपालमा हाल कति साना हिमताल छन् भन्ने यकिन तथ्य अझै पनि स्थापित हुन सकेको छैन । हालसम्म ध्यान ठूला हिमतालमा केन्द्रित गरिएको छ भने साना तालहरूको द्रुत अनुगमन र अध्ययनको कुनै एकीकृत संयन्त्र छैन ।

उहाँको अनुसार, सन् २०२३ मा गरिएको एक अध्ययनमा नेपालमा २३०० भन्दा बढी साना हिमताल रहेको उल्लेख गरिएको छ, तीमध्ये १००० भन्दा बढी हिमनदीभित्र छोपिएका छन् । यी छोपिएका ताल तापक्रम बढेसँगै जतिबेला पनि विस्फोट हुनसक्ने अवस्थामा छन् ।

रसुवा २०८२ असार २५ गते चीनको तिब्बत क्षेत्रमा नयाँ बनेको सुप्राग्लेसियल ताल फुट्दा बाढी आएको भू–गर्वविदले बताएका छन् ।
यसको परिणाम ११ जनाको मृत्यु, १७ बेपत्ता, व्यापारिक नाका बन्द, ३ हाइड्रोपावर र १२०० मिटर सडक क्षतिग्रस्त भएको छ । मुस्ताङ २०८२ असार २५ गते नेपालको भूगोलमै रहेको हिमताल फुट्दा बाढी आएको थियो । यस बाढीले ७ पुल र सडकमा क्षति, डेढ करोडभन्दा बढीको क्षति पुरयएको थियो ।

त्यस्तै हुम्लामा २०८२ जेठ १ गते हिमतालको पानी भित्री सतहबाट चुहिएर बाढी आएको थियो । विशेषतः बिना वर्षा आएको बाढी, पूर्वसूचना प्रणाली पूर्ण असफल हुन पुगेको छ ।

वैज्ञानिक दृष्टिकोण र विश्लेषण

हिमनदी र हिमतालमा देखा परेका परिवर्तनहरु हिमनदी पग्लिँदै गएका छन् र सुप्राग्लेसियल तालहरूको वृद्धि भएको छ । सन् २०२५ मा मात्र तीनवटा हिमनदीजन्य बाढी क्ष्क्क्ष्ःइम् ले रेकर्ड गरिसकेको छ । पहिला ०.०२ वर्गकिमी भन्दा ठूला तालहरूलाई मात्र जोखिमयुक्त मानिन्थ्यो ।

रसुवा र भोटेकोशीका घटनाले के देखाउँछ भने विपद् चीनको भूभागमा उत्पन्न भएर नेपालमा असर परिरहेका छन् ।

वैज्ञानिक दृष्टिले हेर्दा हिमालमा हिउँको सतह मुनि जम्ने पानी, सुक्खा भूगोलमुनिबाट बग्ने पग्लिएको हिउँ र हिउँद तथा वर्खाको चक्रमा तालहरू बन्ने प्रक्रिया तिव्र गतिमा बढिरहेको छ । साना तालहरू अधिकतम उचाइमा, दुर्गम स्थानमा र अस्थिर भूगोलमा बन्ने भएकाले तिनको परीक्षण र पूर्वअनुमान चुनौतीपूर्ण बन्न गएको हो ।

नेपालका हिमाली भेगहरूमा पछिल्ला वर्षहरूमा साना हिमतालको संख्या तीव्र रूपमा बढ्दै गएको छ ।

यी घटनाहरूले भौतिक संरचना र जनजीवनमा गम्भीर असर पारेका छन् । अब साना तालहरू समेत विस्फोटको स्रोत बन्दैछन् – रसुवा र मुस्ताङका घटना प्रमाण हुन् ।

वैश्विक तापनको प्रभावले हिमनदी र हिउँका थुप्रा तीव्र गतिमा पग्लिरहेका छन् । यसले “सुप्राग्लेसियल लेक” अर्थात् हिमनदीको माथिल्लो सतहमा बन्ने तालहरूको निर्माणलाई तीव्र बनाएको छ । ती तालहरू अस्थायी, गतिशील र कुनै पूर्वसूचना विना विस्फोट हुन सक्ने किसिमका हुन्छन् ।

चीन, भारत र नेपालबीचको हिमाली सीमाक्षेत्रमा रहेका सयौं साना तालहरूको अनुगमन नहुँदा ती विस्फोट भएमा नेपालमा ठुलो जनधनको क्षति निम्तिन सक्छ । यसरी निर्माण भएका साना तालहरू प्रायः भूगर्भिकरूपमा अस्थिर र हिमनदीको चापमा रहेको हुने हुँदा ती तालहरू फुट्न सजिलो हुन्छ ।

सीमापार जोखिम र अन्तरदेशीय असर

चीन र भारतसँगको सीमाक्षेत्रमा रहेका नदीको मुहान क्षेत्रमा पनि यस्ता तालहरू तीव्र गतिमा बढिरहेका छन् । चीनतर्फ कोशी नदी बेसिनमा सबैभन्दा बढी हिमताल छन् भने त्यसपछि गण्डकी र महाकाली बेसिनहरूमा पनि साना तथा ठूला तालहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ ।

चीनबाट नेपाल प्रवेश गर्ने २५ वटा अति जोखिमयुक्त तालको अवस्थिति चिन्ताजनक मानिएको छ । इसिमोडको एक अध्ययनअनुसार रेकर्ड भएका ४७ वटा हिमतालमध्ये २४ वटा कोशी नदी बेसिनमा छन् । त्रिशूलीको शिरमा रहेको ताल र भारततर्फ महाकालीको शिरमा रहेको सानो ताल पनि सम्भावित जोखिमका स्रोत हुन् ।

सीमापार जलस्रोत व्यवस्थापनको अभाव, सटीक सूचना आदानप्रदान नहुनु र ताल विस्फोटको सन्देशसमेत अवरोधित हुनुले नेपालमा संकट अझै भयावह बनाउन सक्छ ।

हिमनदी अनुसन्धानको वर्तमान अवस्था

नेपालमा सन् १९७० मा जापानको सहयोगमा हिमनदी सम्बन्धी अध्ययन सुरु भएको थियो । त्यसयता विभिन्न संस्थागत र व्यक्तिगत पहलमार्फत केही अध्ययनहरू भए पनि ती सुस्त, खण्डित र क्षेत्रगत रूपमा सीमित छन् । इसिमोडले सन् २०१५ मा एक महत्वपूर्ण अध्ययन प्रकाशित गरेपनि त्यसयता निरन्तर अनुसन्धान र अपडेट गरिएका डेटाबेसको अभाव देखिएको छ ।

हिमनदी विज्ञ डा. धीरज प्रधानाङ्गका अनुसार नेपालमा हालसम्म जोखिम चिनिएका चार ठूला तालहरू (जस्तैः इम्जा, च्छोरोल्पा आदि) मा मात्र मानवीय प्रयासबाट जोखिम न्यूनीकरण गरिएको छ । तर दीर्घकालीन असर, तालको तल्लो क्षेत्रको जोखिममापन र चेतावनी प्रणाली विकासमा पर्याप्त ध्यान दिइएको छैन।

उहाँको सुझावमा, साना तालहरूको अध्ययन, ट्र्याकिङ र पूर्वसूचना प्रणाली स्थापनाका लागि सरकारले कुनै निकायलाई स्पष्ट जिम्मेवारी दिनु आवश्यक छ ।

नीतिगत तयारी र सिफारिसहरू

साना हिमताल विस्फोटका कारण भविष्यमा धेरै ठूलो मानवीय र भौतिक क्षति हुनसक्ने सम्भावना छ। त्यसैले एकीकृत हिमताल अनुगमन प्रणालीः साना तालहरूको डेटाबेस निर्माण, जीआईएस प्रणालीमा अभिलेख राख्ने, तथा उपग्रह निगरानीमार्फत यिनको आकार, गहिराइ र जलपरिमाण ट्र्याक गर्ने प्रविधिको विकास गर्न जरुरी छ ।

सीमापार समन्वयः भारत र चीनसँग मिलेर साझा हिमाली जलधार क्षेत्रको अध्ययन, सूचना साझेदारी, आपतकालीन तयारी र संयुक्त जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।

स्थानीय जनशक्ति तालिमः हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायलाई तालको पहिचान, विस्फोटपछि अपनाउने उपाय, र पूर्वतयारीका बारेमा प्रशिक्षण दिने।

नियमित अध्ययन र बजेट विनियोजनः विज्ञान र प्रविधिमा आधारित हिमताल अध्ययनको लागि वार्षिक बजेट सुनिश्चित गर्नु र नीतिगत तहमा यो विषयलाई प्राथमिकता दिनु पनि अहिलेको आवश्यकता हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट