पूर्वमन्त्रीहरू अख्तियारको अनुसन्धान घेरामा ! सांसद पदबाट निलम्बन हुन सक्ने !

काठमाडौं । घुस काण्डमा मुछिएका दुई पूर्व मन्त्रीको मोबाइल अख्तियार दुरुपयोग अनुसान्धान आयोगले नियन्त्रणमा लिएको छ । पछिल्लो समय उच्च तहका व्यक्तिहरुलाई निरन्तर रुपमा छानविन गरिरहेको अख्तियारले पूर्व मन्त्रीहरु राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको मोबाइल नियन्त्रणमा लिएको हो ।
गुप्ता निवर्तमान सामान्य प्रशासन मन्त्री हुन् भने श्रेष्ठ पूर्व भूमि, व्यवस्था तथा सहकारी निवारण मन्त्री हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको मालपोत प्रमुखको थमौतीका लागि ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि १० लाख गरी ६३ लाख रुपैयाँ लिएको र कुल ७८ लाख डिल गरेका पूर्वसामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग बयान लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताको मोबाइल समेत फरेन्सिक ल्याबका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरेको जनाएको छ ।
त्यस्तै, पूर्व भूमि, व्यवस्था तथा सहकारी निवारणमन्त्री रञ्जिता श्रेष्ठसँग पनि बयान लिएको छ । श्रेष्ठको मोबाइल पनि अख्तियारले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विगत चार दिनदेखि निरन्तर बयान दिइरहेका सुजन लामाले भने आफ्नो मोबाइल मन्त्रीहरूले कब्जामा लिएको बयान दिएका छन् ।
स्रोतका अनुसार, दुई मन्त्रीबीचको संवाद आवाज मिलान (भ्वाइस टेस्ट) लगायतका वैज्ञानिक विधिहरू प्रयोग गर्दै अडियोको प्रमाणीकरण पुष्टि भइसकेको छ ।
अख्तियारले पछिल्लो सातादेखि दुबै पूर्वमन्त्रीसँग चरणबद्ध रुपमा बयान लिन थालेको हो । आयोग स्रोतका अनुसार, “उहाँहरुको बयान सुरु भइसकेको छ, अनुसन्धान थालिएपछि बयानसँगै तथ्य संकलनमा पनि तीव्रता दिइएको छ ।”
यी दुवै पूर्व मन्त्रीसँग अख्तियारले छुट्टाछुट्टै समयमै बयान लिएको जनाएको छ ।
करोडौं घुस संकलनको प्रमाण फेला
स्रोतका अनुसार, मन्त्रीहरूद्वारा कर्मचारी सरुवा, जग्गा दर्ता, मालपोतका काम, मन्त्रालयगत निर्णयहरूमा प्रभाव पार्ने गरी सेवाग्राहीबाट घुस असुली गरिएको पुष्टि हुने प्रमाणहरू फेला परेको छ ।
“गुप्ताको छानबिनका क्रममा श्रेष्ठको संलग्नता देखाउने भ्वाइस, म्यासेज र सन्देशहरू फेला परेका छन्,” अख्तियार स्रोतको भनाइ छ ।
कथित घुस रकम करोडौं रुपैयाँको हाराहारीमा रहेको अनुमान गरिएको छ । जुन विभिन्न समयमा र विभिन्न माध्यमबाट संकलन गरिएको बताइएको छ ।
अख्तियारको अनुसन्धानको केन्द्रमा रहेको अडियो रेकर्ड पोखराका एक सेवाग्राहीले खिचेका हुन् । ती व्यक्तिले विभिन्न अवसरमा मन्त्रीहरूलाई पैसा बुझाउने, सहयोग माग्ने तथा ‘काम गराइदिने’ आश्वासन दिने संवादहरू अडियोमार्फत रेकर्ड गरेका थिए ।
फोन म्यासेज र व्यक्तिगत संवाद समेत आरोप सही रहेको पुष्टि भएको छ । तर आरोपितहरु यति प्रमाणित भइसक्दा पनि राजीनामा दिन तयार देखिएका छैनन् । गुप्ताले मन्त्री पदबाट राजीनामा दिए पनि उनी अहिले पनि सांसद छन् । श्रेष्ठ र गुप्ता दुवैलाई सांसद पदबाट निलम्बन गरी ंजनताको मतको गरिमालाई उँचो राख्न माग बढिरहेको छ ।
पूर्व मन्त्री श्रेष्ठले ‘पशुपति पूजामा छु, क्यास चाहिएको छ’ – लेखेको म्यासेज समेत बाहिरिएको छ ।
“…., पशुपति पूजामा छु, क्यास चाहिएको छ । ड्राइभरलाई लिन पठाइदिँऊ ।।’’
यो सन्देश रेकर्ड गरिएको भए पनि श्रेष्ठले बयानमा यसबारे अस्वीकार गरेकी छिन् । यद्यपि, फोन संवाद, म्यासेज आदानप्रदान, र मन्त्री गुप्तासँगको समन्वय समेत स्पष्ट देखिएको अख्तियार स्रोत बताउँछ ।
गुप्तासँगको प्रारम्भिक छानबिनपछि श्रेष्ठमाथि संलग्नताको थप प्रमाणहरू देखा परेपछि आयोगले उनीसँग पनि बयान सुरु गरेको हो । हालसम्मको छानबिनमा निम्न कुरा देखिएको छन् ः
मन्त्री गुप्तासँग निरन्तर सम्पर्क, कार्य–सुविधा दिने आश्वासन, म्यासेजमार्फत रकम माग र निजी सुरक्षा अधिकृत (पीएसओ) प्रयोग गरी रकम संकलन प्रयास । यी कुराले पूर्व मन्त्री श्रेष्ठको घुस काण्डमा संलग्नता पुष्टि हुने प्रमाण हुन् ।
सांसद श्रेष्ठले मन्त्री गुप्ताले आफूसँग सम्पर्क गरिरहेको छ भन्ने म्यासेज सेवा प्रदायकसँग आदान–प्रदान गरेको प्रमाण पनि फेला परेको छ ।
नागरिक उन्मुक्ति पार्टीभित्र दबाब
पूर्वमन्त्री श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत हुन् । अडियो प्रकरणपछि पार्टीभित्र गम्भीर असन्तोष र किचलो सुरु भएको छ । श्रेष्ठका पति तथा पार्टी संरक्षक रेशम चौधरीले समेत आधिकारिक रूपमा पार्टी बैठकमा स्पष्टता माग गरिसकेका छन् ।
पार्टी भित्रका नेताहरूले पनि सार्वजनिक रूपमा यो विषयको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । आन्तरिक दबाब बढेसँगै श्रेष्ठको नेतृत्व संकटमा पर्ने संकेत देखिएको छ ।
यस प्रकरणमा कागजी प्रमाण, डिजिटल सञ्चार, अडियो रेकर्ड र प्रत्यक्ष संवादहरूमार्फत पूर्व मन्त्रीहरूको संलग्नता पुष्टि हुने अवस्था सृजना भएको छ ।
यदि अख्तियारले प्रमाणलाई कानुनी ढंगले पुष्टि गर्न सफल भयो भने, यो घटना नेपालको मन्त्री तहमै हुने भ्रष्टाचार विरुद्धको कदम ऐतिहासिक कोशेढुंगा सावित हुनेछ ।
!
क्याटेगोरी : समाचार
प्रतिक्रिया