चीनले रसुवागढी नाकामा बेलिब्रिज बनाउँदै, भदौ ३० भित्र निर्माण सम्पन्न गर्ने

काठमाडौं । नेपाल–चीन सीमाको प्रमुख व्यापारिक नाका रसुवागढीमा बाढीले क्षति पु¥याएको मितेरी पुलको विकल्पस्वरूप बेलिब्रिज अर्थात अस्थायी पुल निर्माणको कार्य आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ । नेपाल र चीनबीचको द्विपक्षीय समझदारीअनुसार चिनियाँ पक्षले सो कार्यको सुरुवात गर्न लागेको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार चिनियाँ पक्षले बेलिब्रिज निर्माण कार्य आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । बाढीका कारण सडक सम्पर्क पूर्णरूपमा अवरुद्ध भएको अवस्थामा यो पुल सीमापार व्यापार र यातायात सुचारु गर्नका लागि तत्कालीन विकल्पको रूपमा यो बेलिब्रिज निर्माण गरिँदैछ ।
गत असार २४ गते भोटेकोसी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो । त्यसपछिका दिनहरूमा नेपाल र चीनबीचको एक मात्र सक्रिय सडक सम्पर्क अवरुद्ध रहँदै आएको छ । यो अवस्थाले सीमामा अड्किएका कन्टेनर, नेपाली नागरिक, र व्यापारिक गतिविधिमा ठूलो असर पारेको छ ।
यस अवस्थालाई ध्यानमा राखी चिनियाँ पक्षले बेलिब्रिज निर्माणका लागि आवश्यक पूर्वाधार र प्रविधि तयारी गरिसकेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
शनिबार जिल्ला प्रशासन कार्यालय रसुवा सहितको निरीक्षण टोलीले निर्माणस्थलको अवलोकन गरेको छ । साथै, सोही दिन रसुवा र चीनका स्थानीय अधिकारीबीच भर्चुअल बैठकसमेत सम्पन्न भएको छ ।
बैठकमा दुबै पक्षले विपद् व्यवस्थापन, राहत, पुनर्निर्माण र पुनस्र्थापना विषयमा विस्तृत छलफल गरेका छन् । दुबैले सहकार्य, समन्वय र आवश्यक सहजीकरणको प्रतिबद्धता जनाएका छन् । यो नाका नेपाल–चीनबीचको वैकल्पिक तथा व्यावसायिक रूपमा महत्वपूर्ण प्रवेशद्वार हो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया