रुसमा शक्तिशाली भूकम्प, अहिलेसम्मका रेकर्ड गरिएका भूकम्पहरुमा ‘छैटौँ ठूलो’

काठमाडौं । रुसको क्याम्च्याट्का प्रायःद्वीपमा बुधवार ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागरको तटमा रहेका धेरै ठाउँमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय (यूएसजीएस)का अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्याम्च्याट्का प्रायःद्वीपमा उक्त शक्तिशाली भूकम्प गएको हो । उक्त भूकम्प अहिलेसम्म रेकर्डमा भएकामध्ये छैटौँ भएको यूएसजीएसले जनाएको छ ।
रुसी भौगर्भिक निकायका अनुसार सो क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको हो ।
विगत १० दिनमा सोही क्षेत्रमा निरन्तर भुइँचालो गएको थियो । त्यहाँ जुलाई २० तारिखमा मात्रै पाँचवटा भूकम्प मापन गरिएको थियो ।
समाचारसंस्थाहरूका अनुसार अहिलेसम्म जापान, संयुक्त राज्य अमेरिका, पेरू, एक्वडोर र चीनमा सुनामीको चेतावनी जारी गरिएको छ । फिलिपिन्स र इन्डोनेशियामा पनि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जापानको पूर्वी तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिइएको छ । त्यहाँ समुद्रको छाल चार मिटर माथिसम्म पुग्ने अनुमान गरिएको छ ।
जापानको स्थानीय समाचारसंस्था एनएचकेका अनुसार जापानको होक्काइडो प्रान्तको उत्तरी क्षेत्रको तटीय सहर नेमुरोमा सुनामीको लहर बज्रिएको छ । सुनामी पहिलो लहरको उचाइ लगभग १२ इन्च रहेको बताइएको छ ।
जापानी अधिकारीहरूले अब आउने लहरहरू अझ बढी उचाइको हुने बताएका छन्
यूएसजीएसका अनुसार आगामी तीन घण्टामा रुस र जापानका तटहरूमा खतरनाक सुनामीका लहरहरू पुग्न सक्ने बताइएको छ ।
रुसमा कैयौँ मानिस घाइते
रुसमा गएको भूकम्पमा परी थुप्रै व्यक्तिहरू घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचारसंस्था तासले जनाएको छ ।
झ्यालबाट हाम फालेकी एक महिलासहित सुरक्षित स्थानमा जाने क्रममा केही व्यक्ति घाइते भएका छन् ।
सो क्षेत्रका स्वास्थ्यमन्त्री ओलेग मेल्निकोभले घाइते सबै सन्तोषजनक अवस्थामा रहेको बताएका छन् ।
बुधवारको शक्तिशाली भूकम्पपछि रुसी अधिकारीहरूले ‘कम्तीमा आउने महिनामा ७।५ म्याग्निट्यूडसम्मको उल्लेखनीय परकम्पको अनुमान गरिएको’ बताएका छन् ।
बीबीसीको ‘न्यूज डे’ कार्यक्रममा बोल्दै हवाई विश्वविद्यालमा जीओफिजिक्स एन्ड टेक्टोनिक्स डिभिजनकी सहायक प्राध्यापक हेलन जेनिसज्वेस्कीले भनिन्, ‘रुसको आजको भूकम्प इतिहासको सबैभन्दा भीषण भूकम्पमध्ये एक हो ।’
अमेरिकी भौगर्गिक सर्वेक्षण निकाय यूएसजीएसका ८.८ म्याग्निट्यूड भनेको इतिहासको छैटौँ ठूलो भूकम्प हो । उक्त भूकम्प सन् २०१० मा बायोबाय चिली र सन् १९०६ मा एस्मेराल्डास, एक्वडोरमा गएका भूकम्पसरह हो ।
यूएसजीएसका अनुसार चिलीको भूकम्प, ‘क्विरिह्वे सहर नजिकै समुद्र तटमा आएको थियो । त्यसमा परेर ५२३ जनाको मृत्यु भएको थियो भने ३,७०,००० वटाभन्दा बढी घरहरू नष्ट भएका थिए ।
एक्वडोरको भूकम्पबारे यूएसजीएस भन्छ, ‘एक्वडोर–कोलम्बिया भूकम्प भनिने यो भूकम्पले एउटा शक्तिशाली सुनामी उत्पन्न गराएको थियो, जसमा परेर १,५०० व्यक्तिको ज्यान गएको थियो भने यो उत्तरमा सान फ्रान्सिस्कोसम्म पुगेको थियो ।’
आश्चर्यको कुरा पाँचौँ सबैभन्दा भीषण भूकम्प पनि रुसको क्याम्च्याट्का क्राइमै आएको थियो । यो सन् १९५२ मा आएको थियो र विश्वमा रेकर्ड गरिएको पहिलो म्याग्निट्यूड ९.० को भूकम्प थियो ।
बीबीसीको सहयोगमा
क्याटेगोरी : समाचार
प्रतिक्रिया