Techie IT
Samayabaddha
आईतबार, १८ साउन, २०८२

अपर तमोर जलविद्युतमा तोडफोड


ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ सिँवामा निर्माणाधीन २८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत आयोजनामा शुक्रबार बिहान तोडफोड भएको छ । जलविद्युत क्षेत्रमै जिल्लाको सबैभन्दा ठूलो मानिएको यस आयोजनाको कर्मचारी ब्यारेकमा १० देखि १२ जनाको समूहले आक्रमण गरी झ्याल, ढोका तथा लाइट तोडफोड गरेको पुष्टि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले गरेको छ ।

घटना बिहान करिब साढे आठ बजे भएको हो, जब कामदारहरू साइटमा गइसकेका थिए र ब्यारेकमा कोही थिएन । प्रहरीले तोडफोड भएको ब्यारेकमा १३ वटा झ्याल, ६ वटा ढोका र एउटा हेलोजिन लाइट पूर्ण रूपमा क्षतिग्रस्त बनाइएको जनाएको छ ।
लिङ्खिमका स्थानीयवासी माथिल्लो तमोर जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल रोक्न माग गर्दै आन्दोलित भएका थिए । करिब ५५ अर्ब लागतमा तमोर इनर्जी प्रालिले निर्माण गरिरहेको २८५ मेगावाट क्षमताको यो आयोजना विरुद्ध उनीहरू चरणबद्ध रूपमा विरोध जनाउँदै आएका छन् ।

पछिल्ला दिनहरुमा पनि लिङ्खिमबासी सिस्ने खोला किनारमा जम्माभएर शान्तिपूर्ण विरोध सभा गरिरहेका छन् । कालो झण्डा र प्लेकार्डसहित नारा लगाउँदै आन्दोलन गरिरहेका उनीहरुको मुख्य माग हो— आयोजनाको निर्माण कार्य तत्काल स्थगित गर्नु ।

स्थानीयको असन्तुष्टि

तोडफोडको यो घटना एक्कासि देखिए पनि, यसमा पछिल्लो समय स्थानीय र आयोजनाबीच बढ्दो असन्तुष्टि र अविश्वासको असर देखिएको विश्लेषण गरिएको छ । स्थानीय समुदायले आयोजना सुरु भएदेखि नै विभिन्न विषयमा आवाज उठाउँदै आएका छन् ।

आयोजनाको पहुँच मार्ग, सुरुङ, ड्याम र पावरहाउस क्षेत्र आसपासको जग्गा अधिग्रहण गर्दा स्थानीयलाई उचित मुआब्जा नदिएको र वैकल्पिक पुनःस्थापनाको व्यवस्था नगरेको आरोप छ । कतिपय प्रभावित परिवारहरूले क्षतिपूर्ति अझै नपाएको गुनासो गरेका छन् ।
स्थानीय रोजगारीको सुनिश्चितता नहुनुले पनि स्थानीय युवाहरू आक्रोसित छन् । आयोजनाले बाहिरबाट मजदुर ल्याएको र स्थानीय स्रोतलाई प्राथमिकता नदिएको भन्ने आरोप छ ।

त्यस्तै परियोजनाको कारण वातावरणमा पर्ने असरबारे स्पष्ट जानकारी नदिइएको भन्दै स्थानीयहरू असन्तुष्ट छन् । वन क्षेत्र, खोलानाला र अन्य स्रोतमा पर्ने सम्भावित असरको मूल्याङ्कन नभएको आरोप उनीहरूको छ ।

सांस्कृतिक र धार्मिक आस्थाः सिस्ने खोलामाथि रहेको ‘यूमा’ लिम्बु समुदायको कुलदेवता हो । सुरुङमार्ग सिस्ने र ठौवामुनीबाट निर्माण हुँदैछ, जसले पूजाआजा र मुन्धुम संस्कारमा प्रत्यक्ष असर पार्ने लिङ्खिमबासी बताउँछन् । आदिवासी जनजातिको प्रकृतिपूजक परम्परा अनुसार खोलानाला, पहाड, वन, शिला आदिको संरक्षण अनिवार्य ठानिन्छ ।

कृषि तथा जीविकोपार्जनमा असरः सिस्नेदेखि तापेथोकसम्म करिब १० किलोमिटर सुरुङ खन्ने योजनाले सो क्षेत्रका बासिन्दाको खेतीपाती सुकाउने, पानीको अभाव सिर्जना गर्ने, र अन्ततः बसाइँसराइको बाध्यता ल्याउने खतरा रहेको स्थानियको भनाइ छ । सुरुङ मार्ग लिङ्खिम बस्तीको पानीका मुहानमुनि पर्ने भएकाले मुहान सुक्ने, जमिन बाझो हुने, र कृषि व्यवसाय तहसनहस हुने चिन्ता व्यक्त गरिएको छ ।

आयोजनाले स्थानीय बासिन्दा र सरोकारवाला निकायसँग समन्वय नगरी काम अघि बढाएको भन्दै विभिन्न चरणमा अवरोध र विरोध हुँदै आएको थियो ।

सुरक्षा व्यवस्थामा कडाइ

तोडफोड भएको जानकारी पाएलगत्तै प्रहरी चौकी सिँवाबाट टोली परिचालन गरिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढईको नेतृत्वमा थप १० जना प्रहरी परिचालन गरिएको छ । तोडफोडमा संलग्न समूह अहिले फरार रहेको र उनीहरूको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

अपर तमोर जलविद्युत आयोजनाले लामो समयदेखि विभिन्न विवादका कारण काममा अवरोध झेल्दै आएको छ । केही महिना अघि पनि आयोजनाको डम्पिङ साइटको विषयलाई लिएर स्थानीयले प्रदर्शन गरेका थिए । आयोजनाको प्रभाव क्षेत्रभित्रका बासिन्दाहरूले पारदर्शिता, सूचना प्रवाह, मुआब्जा तथा सामाजिक उत्तरदायित्वको विषयमा चासो राख्दै आएका छन् ।

तोडफोडको यो पछिल्लो घटना सानो घटना मात्र होइन, बरु स्थानीय असन्तुष्टि र अविश्वासको उपज हो । यदि परियोजनाले स्थानीय सरोकारवाला, प्रभावित समुदाय र स्थानीय तहसँग सहकार्य नगरी काम अघि बढाउने हो भने भविष्यमा अझ ठूलो अवरोध र सामाजिक तनाव सिर्जना हुन सक्छ ।

यसकारण, परियोजनाले अविलम्ब प्रभाव क्षेत्रका नागरिकको गुनासो सुन्ने, समस्या समाधान गर्ने र विकाससँगै सामाजिक न्यायको अनुभूति गराउने रणनीति अवलम्बन गर्नु अपरिहार्य देखिन्छ । अपर तमोर जस्तो ठूलो जलविद्युत आयोजनाले केवल बिजुली उत्पादन होइन, स्थानीयको विश्वास र समर्पण पनि जित्न सक्नुपर्छ ।

कम्पनीको अडान, स्थानीयको निरन्तर प्रतिरोध

तमोर इनर्जी प्रालिका सञ्चालक पुष्पज्योति ढुङगानाले भने सबै प्रक्रिया पूरा गरेर सुरु भएको काम अब एक इन्च पनि नरोकीने बताउँछन् । उनी भन्छन्, “राज्यसँग सबै प्रक्रिया पूरा गरेका छौं, एक इन्च पनि पछि हट्दैनौं ।” कम्पनीले सुरुङ खन्ने काम अघि बढाइसकेको छ । डेढ सयभन्दा बढी कामदार परिचालन भइसकेका छन् भने सिस्ने र फुरुम्बु क्षेत्रमा सुरुङ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

स्थानियको दाबी अनुसार समुदायको वनका रूपमा संरक्षणमा रहेको फेसेवा बगर वनलाई नष्ट गर्दै कम्पनीले संरचना निर्माण थालेको छ । सुरक्षाकर्मीको क्याम्प राखेर काम गरिने चर्चा चलिरहँदा स्थानिय थप आक्रोशित भएका छन् । उनीहरू कम्पनीको व्यवहारलाई धम्कीपुर्ण र अपारदर्शी भएको बताउँछन् ।

एकातिर लिङ्खिमका बासिन्दा आफ्नो भूमि, संस्कृति र भविष्यको संरक्षणका लागि आन्दोलनरत छन् भने अर्काेतर्फ कम्पनीले निर्माण कार्य तीव्र बनाइरहेको छ । स्थानीयले आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई कमजोर नठान्न चुनौती दिदै आएका थिए । तोडफोड कसले गरेको भन्ने थाहा नभए पनि यसै असन्तुष्टिको कारण भएको अनुमान गरिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट