सामाजिक सुरक्षा कोषले अबदेखि वैदेशिक रोजगारदाता संस्थासँग सहकार्य गर्न सक्ने !
काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सामाजिक सुरक्षाका कार्यक्रमहरूमा थप आबद्ध गर्दै लैजाने उद्देश्यका साथ सरकारले विदेशकै सामाजिक सुरक्षा योजना सञ्चालन गर्नै संस्थासँग नेपालको सामाजिक सुरक्षा कोषले सहकार्य गर्न सक्ने कानुनी बाटो खोलिदिएको छ ।
यसले विदेशमा रहेका लाखौँ आप्रवासी श्रमिकहरूलाई फाइदा पुग्ने जानकारहरूले बताएका छन् ।
तर त्यसका निम्ति पहिले विदेशी संस्थाहरूसँग छुट्टै सहमति गर्न आवश्यक हुने उनीहरूले बताएका छन् ।
नेपाल राजपत्रमा साउन १४ गते केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन प्रकाशित भएको छ ।
त्यसमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन,२०७४ का केही प्रावधानहरू संशोधन गरिएका छन् ।
यसअघि विसं २०७९ चैतदेखि नै सरकारको निर्णयबमोजिम वैदेशिक रोजगारीमा जाने नेपालीहरूले श्रम स्वीकृति लिँदाखेरि नै सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने व्यवस्था थियो । उक्त निर्णयले वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई समेटेको थियो । अहिले त्यसलाई ऐनमै समेटिने गरी प्रावधानहरू राखिएका छन् ।
संशोधित ऐनमा एउटा छुट्टै दफा ५क थपिएको छ जसले ‘प्रचलित कानुनबमोजिम नेपालबाट जुनसुकै विदेशी मुलुकमा रोजगारीमा जाने कामदार वा विदेशमा स्वरोजगारमा संलग्न नेपाली नागरिकले सामाजिक सुरक्षा कोषको सञ्चालक समितिको सिफारिसमा मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको योगदान रकम कोषमा जम्मा गरी सामाजिक सुरक्षा योजनामा सहभागी हुन सक्ने छ’ भनेको छ ।
यसअघि ऐनमा वैदेशिक रोजगारीमा जाने श्रमिक तथा विदेशमा स्वरोजगारीमा रहेकाहरूबारे उल्लेख थिएन ।
साथै संशोधित ऐनले ‘वैदेशिक रोजगारीमा रहेका कामदार वा विदेशमा स्वरोजगारीमा संलग्न नेपाली नागरिकले कोषमा दाखिला गर्नुपर्ने मासिक योगदानको रकम सङ्कलन गर्ने विषयमा कोषले सम्बन्धित विदेशी मुलुकको सामाजिक सुरक्षा प्रदान गर्ने संस्था वा अन्य निकायसँग सहकार्य गर्न सक्नेछ’ भनेको छ ।
अर्को प्रावधानमा त्यस्ता नेपालीहरूले ‘सम्बन्धित मुलुकको सामाजिक सुरक्षा योजनामा संलग्न भएबापत त्यस्तो सुविधा नेपालमै उपलब्ध गराउने गरी सम्बन्धित मुलुकको सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने संस्था वा निकायसँग ९कोषले० सहकार्य गरी आवश्यक व्यवस्था गर्न सक्ने छ’ भनिएको छ ।
यी व्यवस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको निम्ति ठूलै बदलाव ल्याएको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले बताए ।
नयाँ प्रावधान आउनुअगाडि नै वैदेशिक रोजगारीमा जानेहरू र विदेशमा स्वरोजगारीमा रहनेहरूले यहाँको कोषमा आबद्ध हुन थालिसकेको झन्डै अढाई वर्ष भइसकेको छ ।
‘मूल कुरा त हामीले अहिले चलाइरहेको योजनाको प्रभावकारी कार्यान्वयन नै हो । श्रम स्वीकृतिसँगै सामाजिक सुरक्षा लिएर विदेशमा गएकाहरूको ‘कोखदेखि शोकसम्म’को सामाजिक सुरक्षा कभरेज रहेको उनीहरूले थाहा पाउनुपर्छ र साथै उता पुगेपछि निरन्तर आबद्ध भइरहनुपर्छ,’ कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले भने ।
सुरुमा श्रम स्वीकृति लिने बेलामा नै २,५०० रुपैयाँ तिरेर कोषमा आबद्धता लिनुपर्छ तर कतिपयले विदेश पुगेपछि मासिक रूपमा वा एकमुष्ट योगदान जम्मा नगरेको पाइन्छ ।
अहिले बिस्तारै निरन्तरता दिनेहरू बढ्न थालेको अधिकारीले बताए । ‘योगदानकर्ता कामदार नेपाल आउँदा अनि उनी विदेशमै रहँदा उनको पति वा पत्नी वा छोराछोरीलाई सस्तोमा स्वास्थ्योपचार उपलब्ध हुँदो रहेछ अनि अलिकति बचत पनि हुँदो रहेछ भन्ने थाहा पाएर बिस्तारै यसमा रुचि बढिरहेको छ ।’
हाल देशभित्र सामाजिक सुरक्षामा जोडिएका ६ लाखभन्दा बढी योगदानकर्ता छन् । वैदेशिक रोजगारमा रहेका योगदानकर्ताहरूको संख्या धेरै भए पनि कतिपय नियमित छैनन् ।
कोषमा अहिले ८८ अर्ब रुपैयाँ जम्मा भइसकेको छ भने उसले विभिन्न शीर्षकअन्तर्गत १५ अर्ब रुपैयाँभन्दा धेरैको दाबी भुक्तानी गरिसकेको उल्लेख गरेको छ ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया