Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

अलैँचीको भाउमा ऐतिहासिक उछाल


विर्तामोड । कालो सुनको उपमा पाएको अलैंचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो ।

पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन हुने नगदे बाली अलैँची यस वर्ष सुरुआती सिजनमै उच्च मूल्यमा कारोबार भइरहेको छ ।

नेपालकै ठूलो अलैँची बजार विर्तामोडमा हाल प्रतिमन (झण्डै ४० केजी) अलैँची ९४ हजार रुपैयाँमा खरिद–बिक्री भएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाका अनुसार यो विगत सात वर्षकै उच्च मूल्य हो ।

गत वर्ष यतिबेला अलैँचीको भाउ प्रतिमन ४० हजार रुपैयाँसम्ममा सीमित हुँदा किसानहरू निराश भएका थिए । तर यस वर्षको सुरुआती चरणमै मूल्यमा आएको उछालले अलैँचीखेतीमा संलग्न किसानहरूलाई ठूलो राहत दिएको छ ।

विगतमा पनि अलैँचीले कहिलेकाहीँ असाधारण भाउ पाएको इतिहास छ । २०७५ सालमा प्रतिमन १ लाख ५ हजार रुपैयाँसम्म पुगेको थियो भने २०६७ सालमा प्रतिमन १ लाख २० हजारसम्ममा कारोबार भएको तथ्यांक छ । तर त्यसपछि निरन्तर घट्दो मूल्यका कारण किसानमा निराशा फैलिएको थियो ।

यसपालि भने सुरुवाती सिजनमै यति आकर्षक मूल्य पाइएपछि भदौ–असोजमा बढेको यो मूल्य मङ्सिर–पुसमा झन् उकालो लाग्ने संकेत देखिएको विशेषज्ञहरूको भनाइ छ ।

अलैँची उत्पादनमा किसानले गर्ने लागत र सम्भावित लाभबीचको अन्तर असाधारण छ । एक मन अलैँची उत्पादन गर्न किसानले अधिकतम २० हजार रुपैयाँसम्म खर्च गर्ने अनुमान छ । यसरी उत्पादन भएको अलैँची अहिले बजारमा ९४ हजार रुपैयाँमा बिक्री हुँदा किसानले चार गुणा बढी मूल्य प्राप्त गरिरहेका छन् । यतिबेला गाउँ–गाउँमा किसानको उत्साह नयाँ स्तरमा पुगेको छ ।

उनीहरू आफ्नो उत्पादन बजारमै उच्च मूल्यमा बेचेर तत्काल नाफा कमाइरहेका छन् भने व्यापारीहरू भने किसानबाट खरिद गरेर भण्डारण गर्न व्यस्त छन् । विगतमा जस्तै व्यापारीहरूले भण्डारण गरिएको अलैँची मङ्सिर–पुसमा भाउ अझै बढ्ने अपेक्षामा बेच्ने गर्छन्, जसले गर्दा उनीहरूलाई थप नाफा हुने गरेको छ । यस्तो प्रवृत्तिले तत्काल किसान लाभान्वित भए पनि दीर्घकालीन नीतिगत व्यवस्थापनको आवश्यकता देखिएको छ, ताकि व्यापारीको अत्यधिक नाफाभन्दा बढी लाभ किसानसम्म पुगोस् ।

साउनदेखि अलैंची टिपाइ सुरु हुन्छ । मङ्सिर अन्तिम सातासम्म टिपाइ हुने गर्दछ । साउनदेखि यस वर्ष अलैंची बजारमा आउन थालेको अलैंची व्यवसायीको भनाइ छ ।

कृषि विज्ञहरूका अनुसार सामान्यतया बजारमा नयाँ उत्पादन आउन थालेपछि मूल्य घट्ने सम्भावना हुन्छ । यस वर्षको अवस्थामा भने उल्टो देखिएको छ ।

ताप्लेजुङ नेपालकै सबैभन्दा धेरै अलैंची उत्पादन गर्ने जिल्लामा पर्दछ । यहाँको करिब ४५ हजार हेक्टर क्षेत्रफलमा अलैंचीखेती गरिंदै आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस क्षेत्रबाट करिब तीन हजार मेट्रिकटन अलैंची उत्पादन हुने गरेको छ ।

अलैंची उत्पादनलाई अझ वृद्धि गर्न किसान आधुनिक प्रविधि अपनाउन थालेका छन् । सुकाउने प्रक्रियामा सुधार, राम्रो बीउको छनोट र जैविक मलको प्रयोगले उत्पादन वृद्धि हुने आशा गरिएको छ । कृषि ज्ञान केन्द्रले किसानलाई प्रविधि र जानकारीमा सहयोग गरिरहेको जनाएको छ ।

व्यवसायीहरुका अनुसार अलैंचीको मूल्यमा अहिले देखिएको वृद्धि सधैं यस्तै रहने ग्यारेन्टी छैन । बजारमा माग र आपूर्तिको सन्तुलनले आगामी महिनामा मूल्यमा उतारचढाव ल््याउन सक्छ । हालको मूल्य वृद्धिले भने किसानलाई ठूलो राहत प्रदान गरेको र भविष्यमा पनि मूल्य स्थिर रहेमा अलैंची उत्पादनमा थप प्रोत्साहन पाइनेछ ।

उत्पादन र निर्यातको संरचना ः चुनौती र सम्भावना

नेपालका ४२ जिल्लामा अलैँचीखेती हुने गरेको भए पनि उत्पादनमा मुख्य योगदान कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लाले पु¥याएका छन् । हाल कोशी प्रदेशमै मात्र सात हजार ५०० हेक्टरभन्दा बढी जमिनमा अलैँचीखेती भइरहेको छ । विगत आर्थिक वर्ष २०८१÷८२ मा काँकडभिट्टा भन्सार नाकाबाट मात्र सात अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैँची भारत निर्यात भएको तथ्याङ्क छ । नेपालमा उत्पादित कुल अलैँचीमध्ये ९० प्रतिशत भारत निर्यात हुन्छ, तर त्यहाँ पुगेर भारतीय व्यापारीहरूले ‘ब्रान्डिङ’ गरी अन्तर्राष्ट्रिय बजारमा पठाउँछन् । यस कारण नेपाली अलैँचीले प्रत्यक्ष रूपमा विश्व बजारमा आफ्नो पहिचान बनाउन सकेको छैन ।

मूल्य बढ्दा तत्काल किसान लाभान्वित भए पनि अन्तर्राष्ट्रिय स्तरमा ‘नेपाल ब्रान्ड’ बनाउने चुनौती अझै कायम छ । यदि सरकारले निर्यात नीतिलाई व्यवस्थित गर्दै नेपाली अलैँचीलाई प्रत्यक्ष अन्तर्राष्ट्रिय बजारमा पु¥याउने पहल ग¥यो भने यसलाई दीर्घकालीन रूपमा नेपालको प्रमुख निर्यातजन्य नगदे बालीका रूपमा स्थापित गर्न सकिन्छ । अहिलेको उच्च भाउ र किसानको उत्साहलाई सही दिशा दिन सकेमा अलैँची नेपालको ग्रामीण अर्थतन्त्रलाई सुदृढ गर्ने आधारशिला बन्न सक्नेछ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट