गाजा सिटी अधिनमा लिन इजरायलको भिषण वमबारी, गाजाबाट भाग्दैछन् नागरिक

काठमाडौं । इजरेली सेनाले पूरै गाजा सिटी अधीनमा लिन भिषण आक्रमणमा उत्रिएको छ । इजरेली सेनाले गाजाको बाहिरी भेगमाथि नियन्त्रण कायम गरिसकिएको दाबि गरेको छ ।
हाल खटिएका सैनिकहरूलाई फिर्ता पठाएर आक्रमणका लागि सेप्टेम्बरको शुरूतिर करिब ६० हजार जगेडा सैनिकहरूलाई बोलाउन लागिएको छ ।
इजरेलका धेरै साझेदारहरूले उसको सो योजनाको निन्दा गरेका छन् । फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले त्यसले दुवैतरिका मानिसहरूलाई विध्वंसतर्फ डोर्याउने र पूरै क्षेत्रलाई एउटा स्थायी युद्धचक्रमा धकेल्ने जोखिम रहेको चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले थप विस्थापन र आक्रमणमा तीव्रताले गाजाको २१ लाख जनसंख्याका लागि ‘पहिल्यैदेखि भयावह रहेको अवस्था झन् बिग्रिने जोखिम निम्त्याउने जनाएको छ ।
गाजामा सैनिक गतिविधिलाई तेज पारिएमा प्यालेस्टिनी नागरिक र बन्धकहरू दुवै पक्षका लागि भयावह अवस्था हुने आईसीआरसीले चेतावनी दिएको छ ।
हमाससँग युद्धविरामबारे अप्रत्यक्ष वार्ताहरू गत महिना विफल भएपछि बेन्जमिन नेतन्याहू सरकारले हमला तीव्र पार्ने र सिङ्गो गाजालाई अधीनमा लिने मनशाय घोषणा गरेको थियो ।
बुधवार टेलिभिजनमार्फत् जानकारी गराउँदै इजरेली डिफेन्स फोर्सेस आईडीएफका प्रवक्ता ब्रिगेडिअर जेनरल ईफी डेफ्रिनले २२ महिनाको लडाइँबाट हमास ‘क्षतविक्षत र घाइते’ भएको बताए ।
कतार र इजिप्टका मध्यस्थकर्ताहरूले युद्धविराम गराउने प्रयत्न गरिरहेका छन् र ६० दिने युद्धविराम गर्ने अनि आधा जति बन्धकहरूलाई रिहा गर्ने प्रस्ताव प्रस्तुत गरेका छन्, जुन प्रस्तावलाई हमासले सोमवार स्वीकार गरिसकेको थियो ।
इजरेलले कुनै औपचारिक प्रस्ताव अगाडि सारेको छैन । तर उसले सबै ५० जना बन्धकहरूको रिहाइमा मङ्गलवार जोड दिँदै आंशिक सम्झौता स्वीकार नहुने बतायो ।
त्योसँगै हमाससँग प्रस्तावित ६० दिने नयाँ युद्धविराम प्रस्ताव इजरेलले स्वीकार गर्नेमा आशङ्का उत्पन्न भएको छ ।
कतार र इजिप्टले अगाडि सारेका प्रस्तावअनुसार हमासले बाँकी रहेका ५० जना इजरेली बन्धकहरूमध्ये आधा जतिलाई साठी दिने युद्धविरामको अवधिमा दुई चरणमा रिहा गर्ने उल्लेख छ ।
यसअघि अमेरिकी दूत स्टीभ विट्कफले ६० दिने युद्धविरामको पहिलो र सातौँ दिनमा हमासले १० जना जीवित बन्धक रिहा गर्ने र १८ जना मृतका शव हस्तान्तरण गर्ने र त्यसको बदलामा इजरेलमा सजाय काटिरहेका १२५ प्यालेस्टिनी, गाजाबाट बन्धक बनाइएका १,१११ जना र १८० जनाको शव हस्तान्तरण गर्ने प्रस्ताव गरेका थिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया