Techie IT
Samayabaddha
शनिबार, २८ भदौ, २०८२

औषधीमा २०० प्रतिशतसम्म कर लगाउने ट्रम्पको तयारी


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकपछि अर्काे विभिन्न वस्तुमा ट्यारिफ लगाइरहेका छन् । यसपटक उनले सबैका लागि आवश्यक पर्ने वस्तु औषधीमा भारी कर लगाउने सोच बनाएका छन् ।

एपीको रिपोर्टअनुसार अमेरिकाले केही औषधीमा २०० प्रतिशतसम्म कर लगाउने तयारी गरिरहेको छ । ट्रम्प चाहन्छन् कि अटो र स्टिलजस्तै औषधीमा पनि कर लगाइयोस् । यदि यस्तो भयो भने यो दशकौंदेखि चलिरहेको नीतिविपरीत हुनेछ, जसअनुसार धेरै औषधी बिना कर अमेरिकामा भित्रिन्थे ।

विज्ञहरूका अनुसार यसले औषधीको मूल्य बढाउने मात्र होइन, आपूर्ति प्रणालीमै समस्या ल्याउन सक्छ । साथै औषधी अभाव हुने खतरा पनि बढ्नेछ ।

ट्रम्पले औषधीमा २०० प्रतिशत कर लगाउन सन् १९६२ को ट्रेड एक्सपान्सन एक्टको धारा २३२ को उल्लेख गरेका छन् । उनको भनाइमा कोरोना महामारीका बेला औषधी कमी र भण्डारणको समस्या देखिएको थियो । त्यसैले अब घरेलु उत्पादन बढाउनु जरुरी छ ।

हालै अमेरिका–युरोप व्यापार सम्झौतामा केही युरोपेली सामानमा १५ प्रतिशत कर लगाइएको छ, जसमा औषधी पनि पर्छ । प्रशासनले अन्य मुलुकबाट आउने औषधीमा अझ बढी कर लगाउने धम्की दिएको छ ।

यदि ट्रम्पले औषधीमा २०० प्रतिशत कर लगाए भने यसको प्रत्यक्ष असर अमेरिकामा औषधी खरिद गर्ने उपभोक्तामाथि पर्छ । आईएनजीका डिडरिक स्टाडिगले गत महिना भनेका थिए—सबैभन्दा ठूलो भार उपभोक्तामै पर्छ । उनीहरूले फार्मेसीबाट औषधी किन्दा प्रत्यक्ष र बीमा प्रिमियममार्फत अप्रत्यक्ष महँगो भुक्तान गर्नुपर्ने हुन्छ ।

विज्ञहरूका अनुसार कम आम्दानी भएका र वृद्ध बिरामीहरू सबैभन्दा बढी प्रभावित हुनेछन् । स्टाडिगको भनाइमा यदि २५ प्रतिशतमात्र कर लागे पनि अमेरिकामा औषधीको मूल्य १० देखि १४ प्रतिशतसम्म बढ्न सक्छ, किनभने स्टक सकिन जान्छ । यो निश्चित आम्दानीमा निर्भर हुने मानिसका लागि ठूलो रकम हुनेछ ।

अमेरिकामा प्रायः जेनेरिक औषधी बढी बिक्छन् । खुद्रा (रिटेल) र मेल–अर्डर फार्मेसीमा बिक्री हुने करिब ९२ प्रतिशत औषधी जेनेरिक हुन्छन् । जेनेरिक औषधी उत्पादन गर्ने कम्पनीहरूले थोरै नाफामा काम गर्ने भएकाले उनीहरूले बढी कर तिर्न सक्दैनन् । विश्लेषकहरूको भनाइमा कतिपय कम्पनीहरूले कर तिर्नुभन्दा अमेरिकी बजारै छोड्न सक्छन् ।

अमेरिकाले भारतविरुद्ध थप गरेको २५ प्रतिशत भन्सार कर अगस्ट २७ देखि लागु गरेको छ।

यस अघि नै अमेरिकाले भारतबाट आफ्नो देश आउने सामानमा २५ प्रतिशत कर लगाइसकेको थियो । अगस्टबाट २५ प्रतिशत कर थप गरेपछि अब कुल ५० प्रतिशत कर लाग्ने जनाएको हो।

भारतले रुसबाट कच्चा तेल खरिद गरेर युक्रेनविरुद्धको युद्धमा सहयोग पुर्‍याइरहेकाले ५० प्रतिशत कर लगाइएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

भारतले भने ट्रम्पको यो निर्णयलाई ‘अनुचित र तर्कहीन’ भनेको छ।

भारतविरुद्ध अमेरिकी करको शृंखला
अप्रिल २०२५ : राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा २६ प्रतिशत कर लगाउने घोषणा गरे तर पछि यो निर्णय ९० दिनका लागि स्थगन गरे।

जुलाई २०२५ : राष्ट्रपति ट्रम्पले अगस्ट १ देखि भारतीय सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरे।

अगस्ट २०२५ : यसपछि ट्रम्पले थप २५ प्रतिशत कर लगाउने घोषणा गरे र कुल करको दर ५० प्रतिशत भयो।

भारत जेनेरिक औषधीको ठूलो आपूर्तिकर्ता हो । अमेरिकी सरकारले भारतका औषधी कम्पनीलाई कर छुट दिएको छ किनभने भारतबाट आउने औषधी सस्तो हुन्छ । बसाव क्यापिटलका सह–संस्थापक सन्दीप पाण्डेका अनुसार अमेरिकामा आयात हुने औषधीमा भारतको हिस्सा करिब ६ प्रतिशत छ ।

अमेरिकी नीतिनिर्माताहरूलाई थाहा छ कि उनीहरूको प्रणाली भारतीय आपूर्तिमा निर्भर छ । केही वर्षअघि भारतको एउटा कारखानामा उत्पादन रोकिँदा अमेरिकामा किमोथेरापी औषधीको अभाव भएको थियो ।

अमेरिकाले विगत केही दशकदेखि औषधि आयातमा न्यून वा शून्य कर राख्दै आएको थियो । कारण स्पष्ट थियो—औषधि जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिने संवेदनशील विषय भएकाले यसको विश्वव्यापी आपूर्ति सहज बनाउनुपर्छ ।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीतिअनुसार अब त्यो नीतिमा ठूलो परिवर्तन देखिँदैछ । ट्रम्प बारम्बार भन्छन् अमेरिका विदेशी आपूर्तिमा अत्यधिक निर्भर हुन हुँदैन । विदेशी उत्पादनले घरेलु उद्योगलाई कमजोर बनाउँछ ।

चीन, युरोप वा भारतजस्ता मुलुकका सस्ता सामानले अमेरिकी रोजगारलाई क्षति पुर्याइरहेका छन् ।

यही तर्कमा उनले स्टिल, एल्युमिनियम र अटोमोबाइलमा २५ देखि १०० प्रतिशतसम्म ट्यारिफ लगाइसकेका छन् । अब भने औषधीलाई पनि त्यसै सूचीमा राख्ने तयारी गरिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट