Techie IT
Samayabaddha
शनिबार, २८ भदौ, २०८२

आन्दोलनपछि सहज बन्दै व्यापार व्यवसायः आन्दोलनपछि काठमाडौँ उपत्यकामा जनजीवन सामान्यतर्फ


काठमाडौँ । देशको राजनीतिक तथा सामाजिक परिदृश्य पछिल्ला केही दिनदेखि तनावपूर्ण बनेको थियो । विशेषगरी जेन जी पुस्ताले सञ्चालन गरेको आन्दोलनका कारण काठमाडौँ उपत्यकाभित्र रहेका बजार र व्यवसाय पूर्ण रूपमा बन्द भएका थिए । आन्दोलनले गर्दा दुई दिनसम्म सम्पूर्ण व्यापार व्यवसाय स्थिर अवस्थामा पुगेपछि उपत्यकावासी जनजीवन असहज भएको थियो । तर, नेपाली सेनाले जारी गरेको निषेधाज्ञा र कफ्र्युलाई खुकुलो बनाउँदै लगेसँगै बिहीबारदेखि उपत्यकाको बजार तथा व्यापार व्यवसाय क्रमशः सामान्यतर्फ फर्कन थालेको छ ।

काठमाडौं, ललितपुरर भक्तपुर जिल्लाहरुमा मिति २०८२ भाद्र २७ गते विहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा तथा २७ गते साँझ ७ बजेदेखि २८ गते बिहान ६ बजेसम्म कफ्र्यु जारी गरिएको छ । दैनिक जनजीवन सहज बनाउन उपभोग्य वस्तु व्यवस्थापनको लागि निषेधाज्ञा तथा कफ्र्यु आदेश खुकुलो गरिए पनि धेरै भिडभाड नगरी स–सानु समूहमा मात्र कार्य गर्न नेपाली सेनाले निर्देशन गरेको छ ।

निषेधाज्ञा र कफ्र्यु खुकुलो

नेपाली सेनाले मंगलबारदेखि आफ्नो हातमा सुरक्षाको जिम्मेवारी लिएको छ । सेनाले विज्ञप्ति जारी गर्दै नागरिकको दैनिक जीवनमा सहजता ल्याउन निषेधज्ञा र कफ्र्युलाई खुकुलो बनाउँदै लगेको छ । प्रारम्भमा यो समयावधि अत्यावश्यक कार्य र खाद्यान्न खरिदका लागि भनेर विहान र बेलुका २ घण्टाको लागि मात्र तोकिएको भए पनि व्यावहारिक रूपमा दिनभरि नै धेरै पसलहरू खुल्न थाले । यसले गर्दा बजारमा जनजीवन सामान्यतर्फ फर्कने संकेत देखियो ।

खाद्य तथा किराना पसलमा भीडभाड

अहिले नेपालीहरुको घर आँगनमा दशै नजिकिंदै आएको छ । हप्ता दिनपछि घटस्थापना शुरु हुँदैछ । खाद्य तथा किराना पसल बिहानैदेखि खुल्न थालेपछि उपत्यकावासी उपभोक्ताहरू अत्यावश्यक सामान किन्न बजारतर्फ दौडिने गरेको देखिन्छ । लामो समय बन्दको कारण उपभोक्तामा आत्तिने मनोविज्ञान सिर्जना भएको थियो । जसका कारण बिहानैदेखि किराना पसलमा भिडभाड देखियो । भात, दाल, नून, तेलदेखि लिएर नित्यप्रयोग्य वस्तु खरिद गर्ने ग्राहकको चाप निकै बढ्यो । मुख्य सडकमा रहेका ठूला पसलहरू अझै बन्द नै भए पनि भित्री गल्ली र बस्तीमा रहेका पसलहरूले सेवाप्रवाह गर्न थालेपछि सर्वसाधारणले केही सहजता महसुस गरे ।

नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्रमान वज्राचार्यका अनुसार उपभोक्ताले दैनिकी चलाउन आवश्यक खाद्यान्न पाउनैपर्ने भएकाले किराना पसल खोल्न बाध्य भएको हो । तोकिएको समयमा पसल खोल्न दिइएको भए पनि आफ्ना ग्राहकहरुको सुविधाको लागि दिनभरि कतिपय पसलहरू आंशिक रूपमा सञ्चालनमा आएको उनले जानकारी दिए ।

पेट्रोल पम्प र इन्धन आपूर्ति

आन्दोलनका कारण गत दुई दिनदेखि पेट्रोलियम पदार्थको आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको थियो । यसले निजी सवारीसाधनदेखि अत्यावश्यक सेवा सञ्चालनमा समेत कठिनाइ भएको थियो । तर बिहीबारदेखि सेना तथा प्रहरीले संचालन गर्दै आएको पेट्रोल पम्पसँगै निजी क्षेत्रका पेट्रोल पम्पहरु खुल्न थालेका छन् ।

तरकारी खपत सामान्य बन्दै

तरकारी आपूर्ति पनि क्रमशः सहज बन्दै गएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार बिहीबारदेखि सिन्धुली र नागढुङ्गामार्फत उपत्यकामा हरियो तरकारी भित्रिन थालेको छ । तर, बजार पूर्ण रूपमा नखुलेका कारण खपत भने कम भएको छ । उपभोक्ताले आवश्यक भन्दा बढी सामान एकैपटक खरिद नगरेको र होटेल, रेस्टुरेन्ट, क्यान्टिन जस्ता प्रमुख खपत क्षेत्र बन्द भएका कारण बिक्री घटेको उनले बताए ।

दुग्ध उद्योगमा असर

नेपाल डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालका अनुसार उपत्यकामा दैनिक पाँच लाख लिटर दूधको कारोबार हुने गरेको छ । तर, आन्दोलनका कारण विगत दुई दिनदेखि दुग्ध कारोबार करिब २० प्रतिशतले घटेको छ । होटल, रेस्टुरेन्ट, सरकारी तथा निजी कार्यालय बन्द हुँदा दुधको माग स्वाभाविक रूपमा घटेको हो ।

उनका अनुसार, डेरी उद्योगले अत्यावश्यक सेवामा दुग्ध ढुवानीलाई पनि समावेश गर्न आग्रह गरेपछि बिहीबारदेखि तोकिएको समयभित्र दूध ढुवानी सुरु भएको छ । यसले उत्पादन र आपूर्ति चक्रलाई केही हदसम्म सामान्य बनाउन सहयोग पुगेको छ ।

साना होटल तथा व्यवसाय

मुख्य बजार क्षेत्रमा रहेका ठूला पसल अझै बन्द भए पनि भित्री बस्तीमा रहेका साना चिया पसल, कफी सप, डेरी पसल र साना होटल–रेस्टुरेन्टले आंशिक रूपमा सेवा दिन थालेका छन् । यसले स्थानीय स्तरमा जनजीवन सहज बनाउन सहयोग गरेको छ ।

चिया पसल खुलेपछि मानिसहरू भेला भएर आन्दोलनको चर्चा गर्ने, समाचार सुन्ने र सामान्य सामाजिक गतिविधि गर्ने क्रम पनि सुरु भएको छ । यसले लामो समयको बन्दले सिर्जना गरेको मानसिक दबाब कम गर्न मद्दत गरेको छ ।

सार्वजनिक यातायात अझै ठप्प

यद्यपि बजार र पसलहरू आंशिक रूपमा सञ्चालनमा आइसके पनि सार्वजनिक यातायात भने अनिश्चितकालका लागि बन्द नै रहेका छन् । अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालनमा रहेकाले सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भइरहेको छ ।

निजी सवारीसाधन प्रयोग गर्न सक्ने उपभोक्तालाई केही सहज भए पनि, ज्यालादारी मजदुर, विद्यार्थी र दैनिकरूपमा यातायातमा भर पर्ने नागरिकलाई ठूलो असुविधा भएको छ । सार्वजनिक यातायात सञ्चालन नभएसम्म जनजीवन पूर्ण रूपमा सामान्य हुन नसक्ने सरोकारवालाहरूको भनाइ छ ।

आन्दोलन र यसको प्रभाव

जेन जी पुस्ताले सञ्चालन गरेको आन्दोलनको प्रभाव दुई दिनमै उपत्यकाको समग्र व्यापार–व्यवसायमा देखियो । होटल, रेस्टुरेन्ट, पसल, कार्यालय सबै बन्द हुँदा अर्थतन्त्रमा दैनिक रूपमा अर्बौंको घाटा बेहोर्नु परेको अनुमान गरिएको छ । साथै, दैनिक उपभोग्य वस्तु पाउन नसकेपछि सर्वसाधारण उपभोक्ता बढी प्रभावित भए ।

तर, सुरक्षा निकायले चालेको कदम र व्यापारीसँग भएको सहकार्यका कारण परिस्थिति क्रमशः सामान्यतर्फ फर्कन थालेको देखिएको छ ।

आन्दोलनका कारण लामो समय बन्द रहेको बजार क्रमशः खुल्न थालेपछि उपत्यकावासीले केही सहजता महसुस गरेका छन् । खाद्यान्न, तरकारी, पेट्रोलियम पदार्थ, दूध जस्ता अत्यावश्यक वस्तुहरू उपलब्ध हुन थालेपछि जनजीवन सामान्यतर्फ फर्कन थालेको हो ।

यद्यपि सार्वजनिक यातायात अझै सञ्चालनमा आइसकेको छैन । त्यसैले सर्वसाधारण नागरिकको दैनिकी अझै कठिनाइपूर्ण नै छ । पूर्ण रूपमा बजार र यातायात सञ्चालन नभएसम्म जनजीवन पूरै सामान्य अवस्थामा फर्कन नसक्ने देखिन्छ ।

तर, सुरुवात भइसकेको छ, जसले निकट भविष्यमा काठमाडौँ उपत्यकाको व्यापार व्यवसाय फेरि स्थायित्व र गतिशीलतामा फर्किने अपेक्षा जगाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट