पालमुनि शपथ, पछाडि भग्नावशेष

काठमाडौं । मन्त्रीहरुको शपथ पालमुनि र पछाडि रहेको भग्नावशेष भौतिक अवस्थाको तस्वीर मात्र होइन, अतीतको असफलता, निराशा र अविश्वासको पनि प्रतीक हो । यतिखेर देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था यस्तै भग्नावशेषमा उभिएको छ, चुनौतीहरू असंख्य छन्, जनताको अपेक्षा असीमित छन् ।
राष्ट्रले अब क्षति बेहोर्न सक्दैन भन्ने चेतावनी जनताले धेरैपटक सुनाएका छन् । भ्रष्टाचार, स्वार्थ, दलीय भागबन्डा र नीतिगत अस्थिरताले देशलाई थाकाइरहेको छ । यस अवस्थामा, “राजनीति धन्दा होइन, सेवा हो” भन्ने चेतना बोकेको जमातको प्रवेश अपरिहार्य छ । यही जमातले मात्र सार्वजनिक पदलाई व्यक्तिगत लाभको स्रोत होइन, राष्ट्र र जनताको जिम्मेवारीको केन्द्रबिन्दु बनाउन सक्छ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल जस्ता व्यक्ति त्यही चेतनाको संकेत हुन् । उनले आफ्नो जीवन र पेशागत छविबाट नै ‘इमानदारी’, ‘व्यावसायिकता’ र ‘नैतिक अनुशासन’को उदाहरण प्रस्तुत गरेका छन् । अब उनका लागि वास्तविक परीक्षा भनेको पदमा पुगेपछि पनि त्यही आदर्शलाई निरन्तरता दिनु हो । शपथले नैतिक बन्धन सिर्जना गर्छ तर त्यो शब्दमा मात्रै सीमित रह्यो भने अर्थहीन हुन्छ ।
देशको प्रशासनिक र राजनीतिक सन्तुलन यतिखेर नाजुक छ । सुधारका लागि दुवै हातले काम गर्ने नेतृत्व र नीतिगत स्पष्टता आवश्यक छ । यदि कार्की र खनालले आफ्नो आदर्शको बाटो विचलित नभई अघि बढ्न सके भने उनीहरुले एउटा सन्देश दिन सक्छन्, स्वच्छ छविको नेतृत्व भएमा प्रणाली परिवर्तन गर्न सकिन्छ ।
तर, बाटो सहज भने छैन । स्वार्थ समूह, भ्रष्ट संरचना र दलीय दबाबबीच आदर्शलाई जोगाउनु गाह्रो हुन्छ । यहीँ नेता र पदाधिकारीको वास्तविक पहिचान खुल्छ । यस कारण, सुशीला कार्की, रामेश्वर खनालहरुलाई जनताले ताली बजाउने भन्दा पनि निरन्तर अनुगमन र सुझाव दिनु पर्नेछ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया