Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

डा. रामेश्वर खनालको अडानले देखाएको राजनीतिक नैतिकता


सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्नुअघि डा. रामेश्वर खनालले गरेको घोषणाले हाम्रो जस्तो देशमा राजनीतिक नेतृत्वको नैतिकता र सार्वजनिक खर्च व्यवस्थापनको दिशामा एउटा सन्देश हो । निजी सुरक्षा, सरकारी गाडी र अतिरिक्त सुविधा नलिने उनको निर्णय, राज्य पदसँगै आउने ‘विशेषाधिकारको मानसिकता’मा प्रहार जस्तो देखिन्छ ।

नेपालमा राजनीतिक नेतृत्वसँगै प्रायः सेवा–सुविधा, पद–प्रतिष्ठा र विशेषाधिकारको प्रतिस्पर्धा हुन्छ । मन्त्री, सांसददेखि स्थानीय तहका जनप्रतिनिधिसम्मले आफूलाई जनसेवकभन्दा ‘विशेष वर्ग’को हैसियतमा देखाउने प्रवृत्ति बलियो छ । यो सन्दर्भमा डा. खनालको अडान अपवादको रूपमा आएको हो । यसले देखाउँछ, राज्यको पदधारण गर्नु भनेको व्यक्तिगत सुविधाभन्दा बढी जिम्मेवारी हो ।

खनालको अघिल्ला भूमिकाहरू पनि यही सोचसँग मेल खान्छन् । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा उनले सरकारी सुविधा लिएका थिएनन् । सरकारी खर्च कटौतीबारे सुझाव दिने समितिको नेतृत्वमा रहँदा उनले मितव्ययिता र पारदर्शिताको नीति सिफारिस गरेका थिए । यसले उनलाई इमानदार र निष्ठावान् प्रशासकको छवि दिलाएको छ ।

यो अडानले मुख्यतः दुइटा सन्देश दिएको छ, पहिलो, राजनीतिक नेतृत्वमा पद प्रतिष्ठाभन्दा जनविश्वास र उदाहरणीयता बढी महत्त्वपूर्ण हुन्छ भन्ने । जब मन्त्री वा जनप्रतिनिधिले सुविधाको लोभ नगरी सार्वजनिक सेवा दिन्छन् तब समाजमा ‘राजनीतिक पद जिम्मेवारीको ठाउँ हो, सुविधा भोगको होइन’ भन्ने विश्वास बढ्छ ।

दोस्रो, राज्यको खर्चमा मितव्ययिता र सार्वजनिक वित्तको विवेकपूर्ण प्रयोग गर्न नेतृत्व आफैं उदाहरण बन्ने हो भने मात्र प्रणालीगत सुधार सम्भव हुन्छ ।

यस्तो अभ्यास विकसित लोकतन्त्रमा ठुलो होइन । उदाहरणका लागि स्क्यान्डिनेभियाली देशहरूमा मन्त्री र सांसदहरू सार्वजनिक यातायातमै हिँड्ने र सामान्य बासस्थानमा बस्ने गर्छन् । त्यहाँ यो नैतिक संस्कृति छ । नेपालमा भने अझै पनि पद पाउने बित्तिकै सेवा–सुविधा बढाउने होड छ ।

खनालको अडानले यो संस्कृतिमा उदाहरणाीय भएको छ । यद्यपि यो व्यक्तिगत पहल हो । यदि यसलाई संस्थागत अभ्यासमा रूपान्तरण गरियो भने सरकारी खर्च व्यवस्थापनमा ठूलो परिवर्तन आउन सक्छ । जस्तै– सुरक्षा, गाडी र भत्तामा राज्यको अर्बौँ खर्च घट्न सक्नेछ ।

तर, चुनौती पनि छन् । नेपालको राजनीतिक प्रणालीमा यस्तो आत्मानुशासन सामान्य प्रथा बन्न सकेको छैन । दलगत दबाब, ब्युरोक्रेसी र स्खलित संस्कृतिका कारण व्यक्तिगत अडान लामो समय टिकाउन गाह्रो हुन्छ । यदि सरकार र दलहरूले नै नियम बनाएर सबै पदाधिकारीलाई समान मापदण्डमा राखे भने मात्र यसलाई दिगो बनाउन सकिन्छ ।

समग्रमा डा. खनालको अडान एक किसिमको केही सुधार हो । यसले तत्कालीन सरकारलाई नैतिक रूपमा बलियो बनाउँछ र जनतामा सकारात्मक सन्देश दिन्छ । तर, यो अडान व्यक्तिगत भन्दा संस्थागत अभ्यासमा नबदलिँदासम्म दीर्घकालीन असर सीमित रहन्छ । त्यसैले यो कदमलाई सम्मान गर्ने मात्र होइन, यसबाट सिकेर नेतृत्वको नैतिकताको नयाँ मापदण्ड बनाउन दल र राज्य दुवै जिम्मेवार बन्नुपर्नेछ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट