माओवादी केन्द्रमा नेतृत्व छाड्ने प्रचण्डको संकेत
	
				
			काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा नेतृत्व परिवर्तन हुने संकेत गरेका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीको आगामी महाधिवेशनसँगै आफूले नेतृत्व छोड्ने जानकारी दिए ।
प्रचण्डले भने, “नेतृत्व परिवर्तनबारे छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ ।”
उनका अनुसार नेतृत्व परिवर्तनबारे पार्टीभित्र नै निरन्तर बहस चलिरहेको छ र यही प्रक्रियाबाट निष्कर्षमा पुगिने छ । आगामी महाधिवेशनमा नेतृत्व परिवर्तनको विषय टुंगिने दाबी उनले गरे ।
गत भदौ २३ र २४ गते ‘जेन-जी’ पुस्ताले थालेको आन्दोलनपछि राजनीतिक दलका पुराना नेताहरूमाथि नेतृत्व छोड्नुपर्ने माग तीव्र बनेको छ । प्रधानमन्त्री भइसकेका र पटक–पटक पार्टीको नेतृत्व सम्हालेका नेताहरूले अब जिम्मेवारी नयाँ पुस्तालाई दिनुपर्ने आवाज उठिरहेको छ । माओवादी केन्द्रसहित अन्य दलहरूमा पनि यस्तो दबाब पार्टीभित्रैबाट बढ्दै गएको छ ।
बुधवारको स्थायी कमिटी बैठक आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न बसेको थियो । सो बैठकमा पार्टी संगठन, नीति र नेतृत्व परिवर्तनबारे पनि छलफल गरिएको नेताहरूले बताएका छन् ।
क्याटेगोरी : समाचार


				
				
				
				
				
				
















प्रतिक्रिया