आज दशैंको चौथो दिनः देवीभवानी कुष्माण्डा माताको पूजा हुँदै
	
				
			आज नेपालीहरूको महान पर्व बडा दशैंको चौथो दिन हो । यस अवसरमा आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरूमा देवीभवानी कुष्माण्डा माताको पूजा, आराधना गरिँदैछ ।
कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा लिइन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डादेवीमा रहेको मान्यता छ ।
यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्पलगायतका प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख भएको पाइन्छ । देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छिन् ।
देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् ग्रन्थमा उल्लेख छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।
उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।
क्याटेगोरी : समाचार


				
				
				
				
				
				
















प्रतिक्रिया