Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

दलहरुले जेनजी आन्दोलनको सन्देशलाई नबुझे परिस्थिति अझै घातक बन्ने दलभित्रका युवाहरुको आवाज


काठमाडौं । विभिन्न राजनीतिक दलभित्रका जेनजी युवाहरुले दलहरुलाई जेनजी आन्दोलनको सन्देशलाई नबुझे वा नसुने परिस्थिति अझै घातक बन्ने बताएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीमा आवद्ध २८ जना युवाले जेन जी आन्दोलनको मर्म र भावनालाई आत्मसात् गर्दै पार्टी आन्दोलन पुनर्गठनका लागि मार्ग प्रशस्त गर्न नेतृत्वालाई आग्रह गरेका छन् ।

मंगलबार सामूहिक विज्ञप्ति निकाल्दै उनीहरूले जेन–जी आन्दोलनको रापतापले पार्टी राजनीतिमा नेतृत्वको हस्तान्तरण–पुस्तान्तरण सहज होस् भन्ने चाहेको र यो भावना नसुने, नबुझे परिणाम अझ बढी घातक हुने पनि उनीहरूले बताएका छन्।

नेकपा एमालेकी युवा नेता उषकिरण तिम्सेना, अरबिन्द सिंह समेतको अगुवाईमा निकालिएको विज्ञप्तिमा राजनीतिलाई भ्रष्टाचार मुक्त गर्ने मागका साथ जे जीले आयोजना गरेको शान्तिपूर्ण र गरिमापूर्ण आन्दोलनमाथि सरकारले गरेको कायरतापूर्ण आक्रमण र नरसंहारको निन्दा गरिएको छ ।

२८ जना युवाहरुले निकालेको विज्ञप्तिमा जीवन आहुति दिने युवाहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

उनीहरुले यो परिस्थिति अचानक आएको होइन भन्दै विज्ञिप्तीमा भनेका छन् “राजनीतिमा संस्थागत भएको भ्रष्टाचारका विरुद्ध राजनीतिक पार्टीका कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम तथा देशभित्र र बाहिर रहेका नेपालीहरुबाट आवाज उठिरहेका थिए । राज्य र राजनीतिको जिम्मेवारीमा रहेकाहरुले ती आवाज नसुनेपछि कहीँ न कहीँबाट विद्रोह हुनु अनिवार्यजस्तै भएको थियो । जेन जीले नेपाली समाजको ज्वलन्त मागलाई लिएर सडकमा गएपछि त्यसले सबै नेपालीको समर्थन पायो । पार्टी र राज्य कब्जामा लिएपछि जेगरे पनि हुन्छ भन्ने राजनीतिक सम्भ्रान्तहरुलाई यस आन्दोलनले घुँडा टेकाएको छ । लामो समयदेखि राजनीतिक पार्टीहरुको सुधारका लागि सक्रियतापूर्वक लागिरहेका हामीहरुलाई यसले गहिरोसँग प्रभावित पारेको छ । त्यसैले जेन् जीको आन्दोलनलाई हाम्रो उच्च सम्मान छ ।”

“जेन जी आन्दोलनको सन्देश स्पष्ट छ ः नेपालीहरु राजनीति, प्रशासन र न्यायपालिकासमेत भ्रष्टाचार मुक्त, पारदर्शी र परिणाममुखी भएको देख्न चाहान्छन्, त्यसका लागि राजनीतिक दलहरु जिम्मेवार बनून् भन्ने चाहान्छन्, राजनीतिमा नेतृत्वको हस्तान्तरण–पुस्तान्तरण सहज तथा स्वाभाविक होस् भन्ने चाहान्छन् । तर मुख्य राजनीतिक दलका नेताहरुले अझै पनि उक्त सन्देश नसुनेझैँ गरेका छन् । विभिन्न बाहाना गरेर फेरि पनि नेतृत्वमा रहने छलछाम गर्दैछन् ।” विज्ञप्तीमा भनिएको छ । उनीहरुले आन्दोलनको सन्देशलाई नसुन्नु वा नबुझ्नु अझ घातक हुने र यस्तो बाहानाबाजीले मुलुकलाई अझै ठूला दुर्घटनातर्फ धकेल्ने भन्दै दलहरुलाई सचेत गराएका छन् ।

उनीहरुले नवयुवाको यस आन्दोलनमा घुसपैठ गरेर अनावश्यक आगजनी, तोडफोड र लूटपाट गर्नेहरुलाई स्वयं जेन जीका जिम्मेवार प्रतिनिधिहरुले निन्दा गरेका भन्दै जसरी पनि राजनीतिक दलको नेतृत्व कब्जा गरिहने र पालैपालो सरकार चलाउने मुख्य नेताहरुको बहिर्गमन हुनुपर्छ भन्ने माग वास्तविक जेन जीहरुको रहेको स्मरण गराएका छन् ।

साथै विज्ञप्तिमा भनिएको छ “उनीहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको र नयाँ निर्वाचनका लागि बनेको वर्तमान सरकारलाई सहयोग गर्नुपर्ने बताइरहेका छन् । संविधानलाई असफल बनाउने र मुलुकलाई फेरि भूराजनीतिक दबाब र अस्थिरतातर्फ धकेल्ने कुनै पनि गतिविधिले यस आन्दोलनलाई बदनाम र असफल बनाउँछ भन्ने कुरामा उनीहरु सचेत देखिन्छन् । प्रगतिशील, लोकतान्त्रिक, समावेशी, न्यायपूर्ण र विकसित नेपालका लागि हाम्रा अग्रजहरुले करिब नौ दशकसम्म गरेको सङ्घर्षकै पछिल्लो प्रतिनिधि
पुस्ताका रुपमा आफुलाई उभ्याएका छन् । उनीहरुको यस्तो सुझबुझ र जिम्मेवारी बोधलाई हामी उच्च प्रशंसा गर्दछौँ र ऐक्यबद्धता प्रकट गर्दछौँ ।”

विज्ञप्तीमा अब नेपालका सामू दुई वटा बाटो भएको औल्याउँदै एउटा बाटोः राजनीतिक दलहरुमा पुनर्गठन, जनतामा आशा र विश्वासको सिर्जना, ती दलहरुको लोकतान्त्रिक सहकार्य, नयाँ निर्वाचन भएको बताइएको छ भने अर्काे बाटो ः दलहरुमा अलमल,
पुरानै नेताहरुको निरन्तरता, समाजमा अन्योल, निराशा र आक्रोश बढाउने शक्तिहरुको बोलबाला, बाहिरी शक्तिहरुको चलखेल र अस्थिरताको दुश्चक्र रहेको उल्लेख गरिएको छ ।

दलहरुका युवाहरुले राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन दलहरुको पुनर्गठन आजको मुख्य शर्त भएको पनि बताएका छन् । लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरुलाई बिदा नगरिकन दलहरुको पुनर्गठन हुनै नसक्ने ती नेताहरुको ठहर छ । त्यसैले, आआफ्ना दलहरुलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाई नगर्न सबै राजनीतिक दलका दोश्रो÷तेश्रो तहका नेताहरु र ती पार्टीका जिम्मेवार सदस्यहरुलाई उनीहरुले आह्वान गरेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट