मन्त्री घिसिङद्वारा क्षतिग्रस्त विपी राजमार्ग अवलोकन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गत साताको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको आज अवलोकन गरेका छन्।
मन्त्री घिसिङले मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोलीसँग विहान काभ्रेको नमोबद्ध नगरपालिका–६ स्थित चौकीडाँडा पुगेर रोशी खोलाको बाढीले कटान गरी क्षति पुर्याएको राजमार्गको विभिन्न खण्डको अवलोकन गरेका हुन्।
उनले अस्थायी सडक सञ्चालनका लागि छिटोभन्दा छिटो राजमार्ग सूचारु गर्ने गरी बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिए। मन्त्री घिसिङले सडक डिभिजन, नेपाली सेना, प्रहरी र स्थानीय तहसँग समन्वय गरी मानवसहित मेशिनरी प्रयोग गरेर प्राथमिकताका आधारमा मर्मत कार्य अघि बढाउन निर्देशन दिएका हुन्।
उनले गत साल असोजमा रोशी खोलाले बगाएको बिपी राजमार्ग हुँदै महाभारत गाउँपालिका जोड्ने थान्सिङ पुलको स्थानमा तत्काल बेलिब्रिज निर्माण गर्न पनि निर्देशन दिएका छन्।
मन्त्री घिसिङको राजमार्ग अवलोकनका क्रममा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका जनप्रतिनिधिले राजमार्ग सुचारु नहुँदा भोग्नुपरेको समस्याबारे अवगत गराउँदै विभागका कर्मचारीले आफूहरूसँग समन्वय गर्नुपर्ने माग राखेका थिए।
बाढीले कटान गर्दा उक्त राजमार्गको करिब चार किलोमिटर डाइभर्सन पूर्ण रूपमा क्षति पुगेको छ। राजमार्गको रोशी क्षेत्रमा गत सालको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रूपमा सडक सञ्चालन हुँदै आएको थियो।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया