Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

ओलीको चेतावनी : ‘नक्कली आयोग स्वीकार्य छैन, प्रतिवेदन मानिँदैन’


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई “नक्कली आयोग” भनेर टिप्पणी गरेका छन् । उनले यस्तो आयोग एमालेका लागि अस्वीकार्य रहेको स्पष्ट बताएका छन् ।

जेनजीहरुले तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्रीलाई गिरफ्तार गर्न दबाब बढाइरहेको बेला सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमाथि ओली ढंगले प्रस्तुत भएका छन् । एमालेका अध्यक्ष समेत रहेका ओलीले सुशीला कार्कीको सरकार नेपालीको नभएको पनि बताएका छन् ।

भक्तपुरको गुण्डुमा बिहीबार आयोजित एमाले जिल्ला कमिटीको कार्यक्रममा बोल्दै ओलीले उक्त आयोगलाई “राजनीतिक नाटक” भनेका थिए । उनका शब्दमा, “सम्पत्ति छानबिन गर्ने रे, दश पटक गर्नुस्, हामी डराउँदैनौं । तर यस्तो ड्रामा मन्जुर छैन ।”

ओलीले जोड दिए, “यस्ता नाटक र प्रपञ्च एमालेलाई स्वीकार्य छैनन् । यस्तो आयोगको प्रतिवेदनलाई पनि हामी मान्दैनौं ।” उनले एमाले चिचिपट खेल्न होइन, देशको विकास र समृद्धिको मार्गचित्र लिएर आएको पार्टी भएको बताए ।

उनका अनुसार, “प्रधानमन्त्री बन्नका लागि संसद् भंग गर्ने सर्त राखिएको थियो, जुन लोकतन्त्र र संविधानको मर्मविपरीत हो ।” उनले थपे, “संविधानले प्रधानन्यायाधीश वा न्यायाधीशलाई प्रधानमन्त्री बन्न अनुमति दिएको छैन । तर अहिले प्रधानमन्त्री र मन्त्री दुवै अदालतका पदाधिकारी भएका व्यक्ति छन्, यो संवैधानिक उल्लंघन हो ।”

ओलीले चेतावनी दिंदै भने, “गृहमन्त्रीलाई म चिन्दिनँ, तर उहाँले राजनीतिलाई ख्यालठट्टा नठान्नुपर्छ ।”

‘सरकार चुनाव गराउन होइन, प्रतिशोधमा लागेको छ’

ओलीले राष्ट्रपतिले सरकारलाई चुनाव गराउने म्याण्डेट दिइसकेको भए पनि सरकार त्यस दिशामा अघि नबढेको आरोप लगाए । उनले भने, “रातिराति बैठक गरेर नेतालाई पक्राउ गर्ने, पासपोर्ट रोक्का गर्ने, उपत्यका छाड्न नपाउने आदेश दिने काम यो सरकारले गरेको छ । तर, हामी डराउँदैनौं, हामी भाग्ने होइनौं ।”

त्यस्तै उनले रमेश लेखकसहित आफूमाथि गरिएको गिरफ्तारी प्रयासलाई “सडक तमासा” भनेका छन् । ‘हिंसालाई क्षमा गर्न सकिँदैन’

ओलीले भदौ घटनाका क्रममा बालबालिकालाई अगाडि सारेर आगो लगाउने, पेट्रोल छ्याप्ने र तोडफोड गर्नेहरूलाई सरकारले कारबाही नगरे पनि त्यस्तो कृत्य क्षम्य नहुने चेतावनी दिए ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापनाका लागि नेपाली जनताले आन्दोलनको आँधी–तुफान सिर्जना गर्नुपर्ने बताएका छन् । ओलीले अहिलेको संसद् विघटन असंवैधानिक, गैरकानुनी र अलोकतान्त्रिक भएको दाबी गर्दै यसको पुनर्बहालीका लागि अब प्रतीक्षा होइन, प्रतिवादको समय आएको बताए।

उनले देशमा संविधान, संसद् र लोकतन्त्र मेट्न खोज्ने प्रयासलाई कसै पनि सहन नहुने भन्दै जनतालाई सतर्क रहन आग्रह गरे। ’हामी संविधान मासिन, संसद् मासिन दिन्नौँ,’ उनले भने, ’देशको रक्षा गर्न नागरिक स्वयं तयार हुनुपर्छ।’

ओलीले देशमा बढ्दो भ्रष्टाचार, अव्यवस्था र असुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै एमालेले सुशासन र भ्रष्टाचारविरुद्धको साझा अभियान निरन्तर चलाउने बताए। ’म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न,’ उनले दोहोर्‍याए, ’देशमा सुशासन कायम गर्न अब युवाले अगुवाइ गर्नुपर्छ।’

उनले जेनजी आन्दोलनका केही मागहरूलाई उचित ठहर गर्दै भदौ २३ र २४ गतेका हिंसात्मक घटना योजनाबद्ध रूपमा गराइएको आरोप लगाए। ’गोलीकाण्ड, आगजनी र तोडफोड देश अस्थिर बनाउने षड्यन्त्र थियो,’ ओलीले भने।

उनका अनुसार, “जनेजी नामका बालबालिकालाई प्रयोग गरेर हिंसात्मक गतिविधि गराइयो, तर सरकारले मौनता साध्यो । यस्तो अपराध क्षमा गर्न सकिँदैन।”

अन्त्यमा ओलीले भने, “एमाले राष्ट्रको स्थायित्व, विकास र लोकतन्त्रको पक्षमा अडिएको पार्टी हो । हामी कुनै डर वा धम्कीबाट पछि हट्दैनौं।”


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट