Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

जेनजी आन्दोलनका एजेण्डा सही तर व्यवस्थापनमा कमजोरी !


सीता अधिकारी

जेनजी पुस्ताले भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन गरेको एक महिना पूरा भएको छ । जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । देशमा फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भएको छ । तर निर्वाचन हुन सक्छ भन्ने विश्वास पैदा भएको छैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनस्र्थापनाको मुद्दा लिएर आन्दोलनमा जाने हिजो सार्वजनिक घोषणा गरेका छन् । सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन नमान्ने ओलीले चेतावनी शैलीमा बताइसकेका छन् । यसले मुलुकले स्पष्ट रुपमा मुडभेडको संकेत गरेको छ ।

नेपालको इतिहासको कालखण्डमा भएका हरेक आन्दोलन र संघर्षहरु विशिष्ट प्रकृतिका रहेका छन् । राजनीतिक अधिकार, सामाजिक न्याय, समानता र परिवर्तनका हरेक चरणमा आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको छ । तर, विडम्बना के हो भने — हरेक आन्दोलनले परिवर्तनको सुरुवात त गर्छ, तर त्यसपछिको व्यवस्थापन असफल रहँदै आएको छ । यही परम्परा आजको जेन जेड (Gen Z) आन्दोलनसम्म आइपुग्दा पनि दोहोरिएको देखिन्छ । जेन जी युवाहरुले गरेको आन्दोलनको सही व्यवस्थापन हुन नसक्नु नै अहिलेको मुख्य चुनौती बन्दै गएको छ ।

राजनीतिक आन्दोलनमा सबैभन्दा पहिला नेता वा कमाण्डरको आवश्यकता पर्छ । आन्दोलन कुन दिशामा लैजाने भन्ने स्पष्ट धारणा दिने व्यक्ति नेता हो । त्यसपछि आन्दोलनका लागि स्पष्ट नीति र कार्ययोजना चाहिन्छ । जसले समाज र देशलाई भविष्यको बाटो देखाउँछ । यसैको आधारमा आन्दोलनमा जनताको समर्थन र विश्वास बढ्ने हो । त्यसैले नेता र नीति सही भयो भने मात्र आन्दोलनले स्पष्ट दिशा दिन सक्छ । अन्यथा राजनीति दिशाहीन हुन्छ ।

जनताले ००७ सालमा प्रजातन्त्रको निम्ति संघर्ष गरे, २०४६ सालमा वहुदलीय प्रजातन्त्रको निम्ति जनआन्दोलनको सृष्टि गरे, २०६२/६३ सालमा गणतन्त्रको निम्ति दोस्रो जनआन्दोलन गरे । यी सबै आन्दोलन नेताहरूको आह्वानले मात्र होइन, जनताले तिनलाई विश्वास गरेको कारणले सफल भए ।

जेनजी युवाहरुको भदौ २३ र २४ को विद्रोहले दुई दिनमै नेपालको जननिर्वाचित सरकारलाई ढलाएर शासन सत्तामा परिवर्तन ल्यायो । दुई दिनमै यति ठूलो संख्यामा कलिला युवाहरुले शहादत प्राप्त गरे । देशको अर्बौंको धनजनको क्षति भयो । तर आन्दोलन नेतृत्व विहिन हुँदा त्यसपछिको व्यवस्थापनमा अलमल, कमजोरी र आन्दोलनको औचित्यमाथि प्रश्न उठ्न थालेको छ ।

के जेनजी युवाहरुले यो संसद विघटन गरेर फेरि उस्तै प्रकृतिको प्रतिनिधि सभाको निर्वाचन चाहेका थिए ? कदापि थिएनन् । उनीहरुको आन्दोलन उठानका मुद्दा भनेको शासन प्रणालीमा सुधार थियो । त्यसको लागि प्रत्यक्ष कार्यकारीको निर्वाचन गर्नु थियो ।

उनीहरुको आन्दोलन भ्रष्टाचार र वेथितिका विरुद्ध थियो । उनीहरुको आन्दोलन शासनसत्ता संचालनमा देखिएको नातावाद, कृपावादको अन्त्यको लागि थियो । राज्यका सेवा वितरण प्रणालीमा सबै नेपालीहरुको समान अवसर र पहुँचको लागि थियो । देशको कर्मचारी तन्त्रलाई सुधार गर्नु थियो, देशमा रोजगारीका अवसरहरुको सिर्जनाको लागि थियो, नव युवाहरुको आवाजलाई सुन्ने खालको नागरिक सरकार युवाहरुले चाहेको थिए ।

तर यो अन्तरिम सरकारसँग जेनजी युवाहरुको मागलाई सम्बोधन गर्न सक्ने अधिकारै छैन । यो सरकारको मुख्य कार्यभार भनेको ६ महिनामा (फागुन २१ गतेभित्र) प्रतिनिधि सभाको निर्वाचन गराउनु रहेको छ जुन निर्वाचनका लागि यो आन्दोलन भएकै थिएन् ।

जेनजी युवाहरुको मागको संवोधनको लागि संविधान संशोधन आवश्यक थियो । संसद विघटन नगरी प्रधानमन्त्री नियुक्त हुँनै नदिने ‘अडान’ कुन उद्देश्यका लागि थियो त्यो उनैले जानुन् तर यो अपरिपक्व निर्णय थियो जुन तत्कालको स्थितिमा नगरी नहुने स्थिति बन्यो । भदौ २६ गते शितलनिवासमा भएको वार्तामा दलका नेताहरुलाई पनि बोलाएर जेनजी युवाहरुको मागलाई संबोधन गर्ने बाटो खोज्न सकिन्थ्यो । संविधान संशोधनपछि मात्र प्रतिनिधि सभा विघटन गरी निर्वाचनमा गएको भए युवाहरुको आन्दोलनले सार्थकता पाउने थियो र आन्दोलनको औचित्य पनि सावित हुन सक्थ्यो ।

हरेक आन्दोलनले जनताको आशा जगायो । तर आन्दोलनपछि व्यवस्थापनलाई संस्थागत गर्न, सुधारका नीतिहरूलाई व्यवहारमा उतार्न र नेतृत्वलाई जवाफदेही बनाउन सफल हुन सकिएको छैन । परिवर्तनका माग पूरा नभएपछि जनतामा फेरि निराशा फैलिन्छ, जसले अर्काे आन्दोलनको बीउ रोप्छ । यसरी नेपालमा आन्दोलनको चक्र कहिल्यै टुट्दैन, तर स्थायित्व र प्रणालीगत सुधार भने स्थापित हुन सक्दैन । आन्दोलनका नारा र आदर्श व्यवहारमा परिणत नहुनु नै विगतका आन्दोलनहरूको साझा समस्या हो ।

आजको जेन जी युवाहरुको आन्दोलनले गणतान्त्रिक शासन व्यवस्थामा तथा प्रणालीमा सुधार हुन नसकेको असन्तुष्टिपूर्ण अवस्थाको प्रतिविम्बलाई देखाउँछ । जेन जी युवाहरुले संविधान र गणतन्त्र नरुचाएर प्रतिगमनतिर फर्कन खोजेका हुँदै होइनन् । सुदृढ लोकतन्त्र नै अहिलेको आन्दोलनको माग हो ।

डिजिटल पुस्ता भनिने यी युवाहरू परिवर्तनप्रति सचेत छन्, सामाजिक मिडियामार्फत विचार व्यक्त गर्न निडर छन्, र पुरानो राजनीतिक सोचप्रति प्रश्न उठाइरहेका छन् । तर जेन जी आन्दोलनपछि संगठनको अभाव, दीर्घकालीन रणनीति र कार्ययोजना नहुँदा र जेन जीका युवाहरु विभाजित र अपरिपक्व देखिँदा आन्दोलनपछिको व्यवस्थापनमा अलमल र कमजोरीहरु देखिन पुगेको छ । नयाँ सरकार सरकार गठन हुँदा आन्दोलनकारीबाट एक जना पनि प्रतिनिधि पठाउन नसक्नुले नेतत्व विहिन र दिशाविहिन आन्दोलनको वास्तविकतालाई दर्शाउँछ ।

आन्दोलनको बेला सडकबाट ‘नेतृत्व गर्न आउँ बालेन’ भनेर युवाहरुले काठमाडौंका मेयर बालेनलाई बोलाएका थिए । तर त्यति बेला उनी सडकमा देखा परेनन् । बरु अहिलेका प्रधानमन्त्री सुशिला कार्की सडकमा पुगेर आन्दोलनप्रति ऐक्वबद्धता जनाउन पुगिन । सडकमा देखा नपरेका बालेन सरकार गठनमा निर्णायक कसरी बन्न पुगे ? संसद विघटन र सेनासँगमात्र वार्ता गर्ने तुरुप फालेर उनी पर्दा पछाडिबाट हिरो कसरी बन्न पुगे ? युवाहरुले सोंच्न आवश्यक छ । बालेनका अपरिपक्व यी मागहरु पुरा गराउँँदा जेन जी युवाहरुको आन्दोलनको सही ढंगले व्यवस्थापन हुन सकेन । अहिले मुलुक अस्थिर मुडभेडको भूमरीमा फसेको छ । कलिला युवाहरुले सडकमा छातिमा गोली थापेर बगाएको रगत कतै खेर जाने त होइन भन्ने संशय पैदा भएको छ ।

युवाहरूको उत्साह र क्रान्तिकारी सोंच सकारात्मक छ, तर आन्दोलनले मात्र देश बदलिँदैन भन्ने कुरा प्रष्ट हुन जरुरी छ । संस्थागत सुधार, नीति–निर्माणमा निरन्तर दबाब, पारदर्शिता र जवाफदेहीता स्थापना नगरेसम्म आन्दोलनहरू केवल अस्थायी विस्फोटजस्ता मात्र बन्न पुग्छन् । विगतका अनुभवले देखाएको छ कि आन्दोलन सफल बनाउनभन्दा कठिन काम आन्दोलनपछि बनेको व्यवस्थापनलाई सही बाटोमा लैजानु हो ।

नेपालको इतिहासले सन्देश दिन्छ — परिवर्तनको सुरुवात सडकबाट हुन सक्छ, तर त्यसलाई टिकाउन संस्थागत अनुशासन, विचारको निरन्तरता र नेतृत्वको जवाफदेहीता आवश्यक हुन्छ । यदि जेन जेड युवाले विगतका गल्तीबाट पाठ सिक्दै आन्दोलनलाई दीर्घकालीन राजनीतिक चेतनामा रूपान्तरण गर्न सके मात्र विगतका आन्दोलनभन्दा फरक र सार्थक साबित हुनेछ ।

यसरी हेर्दा, नेपालमा आन्दोलनपछिको व्यवस्थापन असफल हुने परम्परा तोड्दै देशलाई संवैधानिक बाटोबाट जेनजीका मागहरु कसरी पुरा गर्न सकिन्छ त्यसप्रति सबै गम्भीर बनौं । यो नै जेन जी युवाहरुको सबैभन्दा ठूलो जिम्मेवारी बनेको छ । नत्र इतिहास फेरि दोहोरिनेछ, र परिवर्तन सधैं अधुरो नै रहनेछ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट